मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
टेकराज थामी काठमाडाैं
२o८२ भदौ १२ बिहीबार o६:२४:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ऐनको मुद्दामा पनि झल्कियो सत्ताको अनुहार

Read Time : > 5 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार o६:२४:oo
  • एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध गत वर्ष परेको बलात्कारको जाहेरीमाथि प्रहरीले अनुसन्धान नै गरेन, उच्च अदालतले अनुसन्धान गर्न आदेश दिँदासमेत सरकारी वकिल कार्यालयले तामेलीमा राखिदियो, अहिले साइबर अपराधको जाहेरीमा पनि तीन घण्टामै ससम्मान घर पठायो

सामाजिक सञ्जालबाट पटक–पटक चरित्रहत्या गरेको भन्दै पीडित महिलाले उजुरी दिएपछि अदालतबाट पक्राउ पुर्जी जारी भए पनि एमाले केन्द्रीय सदस्य ऐन महरले सत्ताको आशीर्वादमा हिरासत बस्नबाट उन्मुक्ति पाएका छन् । पक्राउ छल्न बुधबार दिउँसो आफैँ भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरो पुगेका महरलाई म्याद थप प्रक्रियाका लागि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको थियो । तर, सरकारी वकिलले म्याद थपका लागि जिल्ला अदालत नै नलगी हाजिरी जमानीमा छाड्ने निर्णय गरेर महरलाई तीन घण्टामै ससम्मान घर पठाएको छ । महरलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले नै अनुमति दिएको थियो । यसबाहेक पनि उनीविरुद्ध बलात्कारको अर्को जाहेरी पनि प्रहरीमा छ ।

महरविरुद्ध बलात्कारको जाहेरीसमेत दिएकी उनै महिलालाई भने उल्टै महर, उनकी श्रीमती सनुजा श्रेष्ठ र आफन्तको उजुरीका आधारमा प्रहरीले तीनपटकसम्म पक्राउ गरेर ५० दिन हिरासतमा राखिसकेको छ । तर, पीडित महिलाले नेता महर र उनकी श्रीमती श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता गर्न नै ठुलो संघर्ष गर्नुपर्‍यो । उनका अनुसार १२ असारमै जाहेरी लिएर ब्युरो कार्यालय पुगेकी थिइन् । तर, सत्ता र शक्तिको दबाबमा ब्युरोले जाहेरी दर्ता नै गरेन । त्यसपछि पनि दुई दिन बिराएर धाउँदासमेत दर्ता नभएपछि हुलाकमार्फत जाहेरी पठाएकी थिइन् । उक्त जाहेरी ३ भदौमा दर्ता भएको थियो ।

पीडित महिलाले सत्ता र शक्तिको आडमा न्याय पाउन गाह्रो भएको गुनासो गरिन् । ‘महर मात्रै होइन, उनकी श्रीमती र आफन्तले समेत मेरो फोटो राखेर तथानाम लेखे । तथानाम गाली गरे । डिप फेक भिडियो बनाए । सामाजिक सञ्जालमा हाले,’ उनले भनिन्, ‘पटक–पटक चरित्रहत्या भएपछि म जाहेरी लिएर साइबर ब्युरो पुगेँ, तर प्रहरीले जाहेरी दर्ता नै गर्न मानेन । केही सिप नलागेपछि हुलाकबाट पठाएको जाहेरी बल्ल दर्ता भयो । अदालतबाट पक्राउ पुर्जी पनि जारी भएपछि केही आशा पलाएको थियो । तर, सरकारी वकिलको कार्यालयले उनलाई तीन घण्टामै हाजिरी जमानीमा छाडेको घटनाले मर्माहत बनाएको छ । सत्ता र शक्तिको आडमा पीडितले न्याय पाउन गाह्रो हुने अनुभूति भएको छ ।

त्यसो त अदालतबाट पक्राउ अनुमति लिए पनि साइबर ब्युरोले उनलाई पक्राउ गरेन । ‘आफैँ कार्यालयमा उपस्थित हुनू’ भनेर सहज बनाइदियो । महर श्रीमतीसहित दिउँसो ब्युरो कार्यालय पुगेका थिए ।

सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि महरदम्पतीलाई छाडिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए । ‘महरदम्पती दिउँसो ब्युरोमा हाजिर हुन आउनुभएको थियो । बयानपछि उहाँहरूलाई सरकारी वकिल कार्यालय लगियो । वकिल कार्यालयले हाजिरी जमानीमा छाड्ने निर्णय गरेको निर्देशन ब्युरोमा आएपछि छाडिएको हो ।’ 

सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले अनुसन्धान गर्न म्याद थप गर्नुपर्ने कारण नदेखिएपछि महरलाई हाजिर जमानीमा छाड्ने निर्णय भएको बताए । उनले भने, ‘साइबर कसुर गरेको भन्दै उहाँ (महर)विरुद्ध उजुरी परेको थियो ।

प्रहरीले पक्राउ गरेर हामीकहाँ उपस्थित गरायो । घटना विवरण हेर्दा थप अनुसन्धानका लागि म्याद माग गर्नुपर्नेजस्तो देखिएन, अनि हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो,’ उनले भने ।

नेता महरले भने आफूमाथि भ्रम फैलाएर चरित्रहत्या गरिएको दाबी गरेका छन् । बुधबार साँझ श्रीमतीसहित फेसबुक लाइभमा आएर उनले साना विषयलाई अत्यन्त ठुलो बनाएर प्रचारप्रसार गरिएको बताएका छन् । ‘हामी दुवैजना (श्रीमतीसहित) ८–९ महिनाअघि फेसबुक लाइभमा बसेर जे कुरा भनेका थियौँ, त्यसैलाई लिएर चरित्रहत्या भयो भनियो । तर, म फेरि भन्न चाहन्छु उक्त लाइभमा असाध्यै मर्यादित शब्दहरू, कसैको चरित्रहत्या नगरी हाम्रो विषयमा उठेका प्रश्नहरूको जवाफ दिएको हो,’ उनले भने, ‘त्यो विषयमा साइबर ब्युरोमा उजुरी दर्ता भएको र त्यसै विषयमा बुझ्नका लागि फोन आएपछि हामीहरू गएका हौँ ।’

कसैप्रति लक्षित केही नबोल्दा पनि साइबर क्राइमको मुद्दा लगाउन खोजिएको उनको भनाइ छ । राजनीतिक मान्छे भएकै कारणले न्याय नपाउने भन्ने नहुने पनि उनले बताए । उनले साइबर क्राइमको परिभाषाकै पुनव्याख्या आवश्यक रहेको पनि बताए ।

पीडित महिलाको आर्तनाद– ममाथि राज्यले नै अन्याय गर्‍यो
घटना २ जेठ ०८० को हो । ऐन महरले मलाई अनामनगरस्थित कार्यालयमा बोलाएपछि कार्यकर्ताको हैसियतमा म गएँ । कार्यालयमै ममाथि जबर्जस्ती भयो । म प्रहरीमा जाहेरी दिने तयारीमा लागेको थाहा पाएपछि उसले ‘आफू एचआइभी संक्रमित भएको’ भन्दै मानसिक टर्चर र धम्की मात्रै दिएन, मोबाइल लुटेर प्रमाणहरू पनि नष्ट गरिदियो । अनेक प्रयासबिच हुलाकमार्फत दिएको जाहेरी २५ वैशाख ०८१ मा काठमाडौं प्रहरी परिसरमा दर्ता भयो । तर, प्रहरीले घटनाको अनुसन्धान नै गरेन । अनुसन्धान रोक्न सरकारी वकिलको कार्यालयले जाहेरी नै तामेलीमा राखिदियो । त्यसविरुद्ध उच्च अदालत पाटन पुगेँ । उच्चले घटनाको अनुसन्धान गर्न प्रहरीलाई आदेश दियो । न्याय पाउने आशामा थिएँ । तर, फेरि सरकारी वकिल कार्यालयले तामेलीमै राख्ने निर्णय गर्‍यो । राज्यशक्तिको बलमा उल्टै महरदम्पतीले मविरुद्ध पाँचवटा जाहेरी प्रहरीमा दर्ता गराए । तीनवटा जाहेरीमा मलाई पक्राउ गरेर ५० दिन हिरासतमा राखिसकेको छ । दुई जाहेरी अझै विचाराधीन छन् । ममाथि मुद्दामाथि मुद्दा लगाएर अत्याचार गरेका छन्, जबकि पीडित म हुँ । मविरुद्ध टर्चर सकिएको छैन । सामाजिक सञ्जालमार्फत मेरो चरित्रहत्या गर्ने क्रम जारी छ । मेरो जाहेरी बल्लतल्ल दर्ता भए पनि सत्ताको आडमा उसले उन्मुक्ति पाएको छ । मलाई राज्यले नै अन्याय गर्‍यो ।

पीडित महिलाले न्याय खोज्दा बारबार सत्ताशक्तिको दुरुपयोग

महरदम्पतीको जाहेरीमा उल्टै ५० दिन हिरासतमा राखिइन् पीडित महिला 

सामाजिक सञ्जालबाट पटक–पटक चरित्रहत्या गरेको जाहेरीमा एमाले नेता ऐन महर र उनकी श्रीमती सनुजाले सत्ता र शक्तिको आडमा हिरासत बसाइबाट उन्मुक्ति पाए । तर, महरदम्पती र उनका आफन्तले महिलाविरुद्ध दिएका यस्तै जाहेरीमा भने शक्तिकै आडमा उनलाई ५० दिन हिरासतमा राखिएको थियो । महिलाविरुद्ध प्रहरीमा फरक–फरक मितिमा पाँच जाहेरी दर्ता गराएका थिए । जसमध्ये एउटा आपराधिक लाभ कसुरसँग सम्बन्धित छ भने बाँकी चार साइबर अपराध कसुरसँग सम्बन्धित छन् । महरले साइबर ब्युरोमा एउटा र जिल्ला प्रहरी पसिरसमा आपराधिक लाभसम्बन्धी अर्को उजुरी दर्ता गरेका छन् । साइबर अपराध कसुरमा २ वैशाख ०८१ मा पक्राउ गरेर उनलाई १८ दिन हिरासतमा राखिएको थियो । त्यस्तै, आपराधिक लाभको कसुरमा ५ मंसिर ०८१ मा पक्राउ गरेर २५ दिन हिरासतमा राखिएको थियो । महरकी श्रीमती श्रेष्ठले साइबर अपराधमै दिएको अर्को जाहेरीपछि ८ माघ ०८१ मा पक्राउ परेकी उनलाई सात दिन हिरासतमा राखिएको थियो । सत्ता र शक्तिको अन्याय खेपिरहेकी ती महिलाका अनुसार साइबर ब्युरोमा अझै दुई जाहेरी विचाराधीन छन् । दुवै महरका सहयोगीले दर्ता गराएका हुन् । ‘महरदम्पतीले मविरुद्ध तीनवटा जाहेरी दर्ता गरेर नपुगेर सहयोगीको नाममा थप दुई जाहेरी दर्ता गराएका छन् । ५० दिन मलाई हिरासतमा राखियो । ममाथि मुद्दामाथि मुद्दा लगाएर हत्याचार गरेका छन्, जबकि पीडित म हुँ,’ उनले गुनासो गरिन् । 

तर, महरविरुद्धको बलात्कारको जाहेरीमा समेत प्रहरीले अनुसन्धान नै गरेन, उच्चको आदेशपछि पनि सरकारी वकिलले उजुरी तामेलीमा राखिदियो
एमाले नेता महरविरुद्ध चरित्रहत्याको जाहेरी दिएकी महिलाले यसअघि २५ वैशाख ०८१ मा उनीबाटै आफू बलात्कृत भएको जाहेरी दिएकी थिइन् । तर, यस्तो जघन्य अपराधको जाहेरीमा समेत प्रहरीले अनुसन्धान नै गरेन । सरकारी वकिलको कार्यालयले त जाहेरी नै तामेलीमा राखिदियो । पीडित महिलाका अनुसार महरबाट उनी २ जेठ ०८० मा बलात्कृत भएकी थिइन् । अनामनगरस्थित कार्यालयमा बोलाएर बलात्कार गरेको उनको आरोप छ । त्यतिवेलै प्रहरीमा जाहेरी दिने तयारी गरेको सूचना पाएपछि महरले ‘आफू एचआइभी संक्रमित भएको’ भन्दै मानसिक टर्चरसँगै धम्की दिएको उनले बताइन् । यसबिच जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी लिएर जाँदा दर्ता गर्न नमानेको उनको गुनासो छ । आफू न्यायिक प्रक्रियामा लागेको थाहा पाएपछि २४ असोज ०८० मा महरले मोबाइल लुटेर प्रमाणहरू नष्ट गरेको बताइन् ।

अनेक प्रयासबिच पीडितले हुलाकमार्फत दिएको जाहेरी २५ वैशाख ०८१ मा काठमाडौं प्रहरी परिसरमा दर्ता भयो । तर, प्रहरीले घटनाको अनुसन्धान नै गरेन । अनुसन्धान रोक्न सरकारी वकिलको कार्यालयले जाहेरी नै तामेलीमा राखिदियो । त्यसविरुद्ध पीडित उच्च अदालत पाटन पुगिन् । उच्चले ९ माघ ०८१ मा घटनाको अनुसन्धान गर्न प्रहरीलाई आदेश दियो । तर, फेरि सरकारी वकिल कार्यालयले ३१ वैशाखमा जाहेरी तामेलीमा राख्ने निर्णय गर्‍यो । ‘प्राप्त प्रमाण सर्सर्ती अध्ययन गर्दा मुद्दा चलाउनका लागि आवश्यक प्रमाण फेला नपरेकाले उहाँको जाहेरी हामीकहाँ तामेलीमा छ,’ काठमाडौं सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले भने । तर, अदालतको आदेशसमेत कार्यान्वयन नभएपछि पीडित महिला मर्माहत छिन् । ‘म ऐन महरबाट बलात्कृत भएँ । सोही कारण मैले मानसिक टर्चर खेपेँ । धम्की सहेँ । मेरो परिवार बिग्रियो । बल्लतल्ल जाहेरी दर्ता भयो । तर, घटनाको अनुसन्धान भएन,’ उनले भनिन्, ‘म उच्च अदालत पाटन गएँ । उच्चले घटनाको अनुसन्धान गर्न आदेश दियो । तर, त्यो पनि कार्यान्वयन भएन ।’

सामाजिक सञ्जालमा गालीगलौज गरेको कसुरमा आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गरेका नजिर

- सामाजिक सञ्जालमा गालीगलौज तथा चरित्रहत्याको कसुरमा आरोपीलाई हिरासतमै राखी अनुसन्धान गरिएका नजिर छन् । ३ भदौमा मकवानपुरको मनहरी गाउँपालिका– ३ का ३९ वर्षीय मंगलसिंह प्रजाविरुद्ध एक महिलाले चरित्रहत्या कसुरमा उजुरी गरेकी थिइन् । ब्युरोले उनलाई तत्काल पक्राउ गर्‍यो । बयान लिएर म्याद थपका लागि सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडौं लिएर गयो । उनीविरुद्ध दुई दिनको म्याद थप भएको थियो ।

- ८ असारमा भारत बिहार बेतिया सुनलपट्टीका २० वर्षीय अम्मरनाथ कुमारविरुद्ध चरित्रहत्या गरेको कसुरमा जाहेरी पर्‍यो । ब्युरोको टोलीले उनलाई तुरुन्तै पक्राउ गर्‍यो । अनुसन्धानका लागि भन्दै उनीविरुद्ध पाँच दिनको म्याद थप भयो । उनलाई प्रहरीले धादिङको धुनीबेँसीबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

- १९ असारमा ललितपुर गोदावरी नगरपालिका– १४, बाँडेगाउँका ३३ वर्षीय गुञ्जन राईविरुद्ध ब्युरोमा जाहेरी परेको थियो । सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको अभियोग उनीमाथि थियो । प्रहरीले उनलाई तुरुन्तै पक्राउ गर्‍यो । हिरासतमा राखिएका उनीविरुद्ध अदालतबाट तीन दिनको म्याद थप भएको थियो ।

- बुधबार मात्रै रास्वपा केन्द्रीय सदस्य डा. अरनिको पाण्डेलाई पनि यस्तै कसुरमा साइबर ब्युरोले थप अनुसन्धानका लागि हिरासतमा लिएको छ । उनीविरुद्ध बिहीबार अनुसन्धानका लागि म्याद थप गर्ने तयारी छ । 

तर, बलात्कारको आरोपसमेत लाग्दै आएका एमाले नेता ऐन महरलाई उनै पीडितले चरित्रहत्या गरेको जाहेरी दिएकोमा अदालतको पक्राउ पुर्जीका आधारमा प्रहरीमा उपस्थित भए पनि सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा घर फर्किन छुट दिएको छ । महर र पाण्डे दुवैको कसुरमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ नै प्रयोग गरिएको छ ।