
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छिन् । संघीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा भएको गडबडीको नैतिक जिम्मेवारी लिँदै रामहरि खतिवडाले राजीनामा दिएपछि न्यौपाने सभापति बनेकी हुन् । बुधबार बसेको समिति बैठकमा ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लले न्यौपानेलाई सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
सभापति निर्वाचित भएसँगै न्यौपानेले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शपथलगत्तै न्यौपानेले बुधबारै पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै न्यौपानेले सबैको सहयोग र समन्वयमा विधेयकहरू सहमतिमा अगाडि बढाउने प्रतिबद्धता जनाइन् । उनले चालू अधिवेशनमा विधेयकहरू टुंग्याउन सक्दो प्रयास गर्ने बताइन् ।