
बुधबार र बिहीबार अविरल परिरहेको वर्षाले तातोपानी नाका जाेड्ने सीमावर्ती काेदारी र लिपिङ क्षेत्र पहिराेले ढाकेकाे छ ।
लिपिङबाट तातोपानी आउने बाटाे पनि बन्द भएको स्थानीयले जानकारी दिए ।
काेदारीकाे ईकाे क्षेत्रमा झण्डै सय मिटर लामाे सडक पहिराेले पुरेकाे छ । काेदारी सडकमाथिकाे भूभाग बगेर आइरहेकोले नयाँ ट्रयाक बनाउन पनि कठिन हुने अवस्था सिर्जना भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य स्याउ व्यापारी शारदाप्रसाद पराजुलीले बताए । अलपत्र कन्टेनर रेखदेखका लागि सीमामा रहेका पराजुली सुरक्षित स्थान खाेजेर गाउँ पुगेका छन् ।
मितेरीपुलदेखि तातोपानीसम्म करिब चार किलोमिटर सडक जाेखिमपूर्ण भएकोले किनारमा बस्ने अवस्था नरहेको उनले बताए । दुई दिन भयो लगातार वर्षा भएको । यहाँ पानीले जमिन गलेकाे, भासिएकाे र मानिस आवतजावत गर्ने गाेरेटाेसम्म नभएकोले सीमावासी दुःखी बनेका छन्, उनले भने ।
साउनकाे दाेस्राे सातादेखि बन्द काेदारी सडक झन्झन् जीर्ण बन्दै गएको उनले प्रष्ट्याए । दसैंका सामान राजधानी ल्याउने कुनै उपाय नभएकाे उनले बताए । वर्षाले काेदारी र लिपिङमा करिब ५० घर पहिराेकाे जाेखिममा छन् । व्यापारी , व्यवसायी , कन्टेनर चालक र भरियाहरु जाेखिम माेलेरै नाकामा बसिरहेका छन् । वर्षा हुन्जेल तातोपानी नाका सञ्चालन सम्भव छैन । मानसरोवर पुगेर फर्केका भारतीय तीर्थयात्री नाकामा अलपत्र परेका छन्।