मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
मुख्य समाचार प्रिन्ट संस्करण

मानव तस्करीमा प्रत्यक्ष संलग्न कोशीका तत्कालीन मन्त्री तथा एमाले नेतालाई सत्ताको बलमा दिइएको थियो उन्मुक्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:३९:oo

जापानमा मानव तस्करी तथा सरकारी कागजात किर्ते गरेको अभियोगमा पक्राउ परेका कोशीका तत्कालीन कानुनमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारीलाई सत्ता र शक्तिको आडमा उन्मुक्ति दिइएको थियो । जबकि प्रहरीले मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो ।

अधिकारीविरुद्ध मुद्दा नै नचलाउने निर्णय गरेर जोगाइएकोमा उनीसँगै जापान जाने प्रलोभनमा साढे ३१ लाख गुमाएका तीन युवाले भने अहिलेसम्म मुद्दा झेलिरहेका छन् । सत्तारूढ एमालेका प्रदेश सांसद अधिकारीलाई प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उन्मुक्ति दिँदा उनीसँगै जापान पठाइएका पीडितसहित ११ विरुद्ध भने १० मंसिरमा मुद्दा चलाइएको थियो ।

प्रारम्भिक अनुसन्धानमै मानव तस्करीमा अधिकारीको भूमिका देखिएपछि गत २५ कात्तिकमा विराटनगरस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरेको थियो । तीन साता लामो अनुसन्धानपछि प्रहरीले उनीसहित १२ जनाविरुद्ध नै मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन दिएको थियो । तर, सरकारी वकिल कार्यालयले अनुसन्धानमा सघाएजस्ता विषयलाई आधार बनाएर मुद्दा नचलाउने निर्णय गरेको थियो । महान्यायाधिवक्ता कार्यालयकै निर्देशनमा सांसद अधिकारीलाई जोगाइएको थियो ।

प्रहरी अनुसन्धानमा भने उनले मानवतस्करीमा सघाएको पर्याप्त आधार देखिएका थिए । प्रहरी अनुसन्धानमा मन्त्री अधिकारी र बिचौलिया महेश पाण्डेबिच पटक–पटक टेलिफोन संवाद भएको देखिएको थियो । घटना संगठित प्रकृतिको भए पनि प्रहरीले त्यसतर्फ भने अनुसन्धान गरेको थिएन ।

जापान जाने प्रलोभनमा खोटाङ कोपिलासगढी गाउँपालिका– ४ का ४१ वर्षीय जनक राईले १० लाख, रसुवा कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटाले ११ लाख ५५ हजार र खोटाङ ऐँसेलुखर्क गाउँपालिका– २ का ३६ वर्षीय दावा शेर्पाले १० लाख गरी कुल ३१ लाख ५५ हजार रुपैयाँ गुमाएका थिए । घटनामा संलग्न महेश पाण्डे, दिवकारबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई, जुगल रिजालसहितको टोलीले जनक, कञ्चन र दावालाई मन्त्री अधिकारीसँगै जापान छिराउने योजना बनाएको थियो । योजनाअनुसार तीनै युवालाई मन्त्री अधिकारीसँग गत ११ कात्तिकमा जापान पठाइएको थियो । तर, जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले अधिकारीसहित सबैलाई फिर्ता गरिदिएपछि योजना असफल भएको हो । फिर्ता भएलगत्तै तीनै युवालाई प्रहरीले गत १४ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनीहरूविरुद्धको लिखत किर्ते कसुर मुद्दा जिल्ला अदालतमा विचाराधीन छ ।

मोरङका गोपाल भनिने योगराज गौतमसँग मन्त्री अधिकारीको ११ पटक फोन भएको खुलेको थियो । योगराजले उनलाई १२ पटक फोन गरेको देखिएको छ । त्यस्तै, घटनाका मुख्य बिचौलिया पाण्डेलाई योगराजले १८ पटक तथा पाण्डेले योगराजलाई २१ पटक फोन गरेको खुलेको छ । पाण्डेसहितको टोलीले राई, देवकोटा र शेर्पालाई जापानमा हुने ‘इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर, २०२४’ कार्यक्रममा सहभागी गराउने भनेका थिए । त्यसपछि उतै लुक्न भनेका थिए । सोही प्रयोजनमा उनीहरूले रकम बुझाएका थिए । उनीहरूलाई लैजान सहज होस् भनेर टोलीमा मन्त्रीलाई समेत राखिएको थियो । मन्त्रीलाई सेमत बिदाइ गर्न ११ कात्तिकमा बिचौलिया पाण्डेसहित जुगल रिजाल, विष्णु भट्टराई र दिवाकर भट्टराई विमानस्थल नै पुगेको समेत अनुसन्धानमा खुलेको थियो ।