मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:५५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पहिलो महिनामा वैदेशिक लगानी प्रतिबद्धता १६३%ले वृद्धि

साउनमा २४ अर्ब १० करोड ४९ लाखबराबरको प्रतिबद्धता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५५:oo

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो महिना साउनमा २४ अर्ब १० करोड ४९ लाखबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभिन्न एक सय २७ परियोजनामा सोबराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकले देखाएको हो ।

गत आवको साउन महिनामा ९० परियोजनामा नौ अर्ब १५ करोड २५ लाखबराबरको लगानी प्रतिबद्धता आएको थियो । त्यसको तुलनामा चालू आवको साउनमा वैदेशिक लगानी प्रतिबद्धता १६३ प्रतिशतले बढेको तथ्यांक छ । अटोमेटिक प्रणालीबाट ८१ परियोजनामा ७३ करोड सात लाख ४५ हजार रुपैयाँ र स्वीकृति प्रणालीबाट ४६ आयोजनामा २३ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । साउनमा एक सय २५ साना र दुई ठुला परियोजनामा लगानी प्रतिबद्धता आएको तथ्यांकमा उल्लेख छ । 

तथ्यांकअनुसार रकमका आधारमा कृषि क्षेत्रमा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता आएको देखिन्छ । कृषि क्षेत्रका तीन परियोजनामा २० अर्ब चार करोड ५५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ, जुन कुल लगानी प्रतिबद्धताको ८३ प्रतिशत हो । 

यस्तै, पर्यटन क्षेत्रका ४१ परियोजनामा तीन अर्ब दुई करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ, जुन कुल लगानी प्रतिबद्धताको १३ प्रतिशत हो । परियोजना संख्याका आधारमा सूचना प्रविधिमा पनि उच्च आकर्षण देखिएको छ । सूचना प्रविधिका ७१ परियोजनामा ३६ करोड ५२ लाख ४५ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै, उत्पादनमूलक क्षेत्रका तीन परियोजनामा १५ करोड ५० लाख रुपैयाँ, ऊर्जाका एक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ र सेवा क्षेत्रका आठ परियोजनामा ३३ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । 

साउनमा प्रतिबद्धता जनाएअनुसार लगानी आउँदा आठ हजार दुई सय ६८ जनाले रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ । समीक्षा महिनामा सेयर खरिद–बिक्री र सेयर सब्स्क्रिप्सनबापत आठ परियोजनामा एक अर्ब ९९ करोड ९० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यसैगरी पाँचवटा प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता भएको विभागको भनाइ छ ।

पहिलो महिना झन्डै तीन अर्ब लाभांश बाहिरियो 
चालू आवको पहिलो महिनामै लाभांशबापत दुई अर्ब ९० करोड ७७ लाख ८९ हजार रुपैयाँ बाहिरिएको छ । गत आवको साउनमा ६ करोड ४० लाख रुपैयाँ मात्रै लाभांश बाहिरिएको थियो । विदेशी लगानीकर्ताले गत आवको कारोबारको लेखा परीक्षण गरेर लाभांश लैजान समय लाग्छ । सम्भवत: यो लाभांश अघिल्लो आवको भएको विभागका कर्मचारीहरू बताउँछन् ।

समीक्षा महिनामा रोयल्टीमार्फत नेपाली रुपैयाँमा १८ करोड ४० लाख र भारुमा १९ लाख १७ हजार बाहिरिएको छ । यस्तै, सेवा शुल्कबापत नेपाली रुपैयाँमा नौ करोड एक लाख १४ हजार, डलरमा २० हजार चार सय, भारुमा ४४ लााख ९० हजार र युरोमा १२ हजार बाहिरिएको विभागको तथ्यांकमा उल्लेख छ ।