मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३१ शनिबार
  • Saturday, 16 August, 2025
पवन बराइली काठमाडाैं
२o८२ श्रावण ३१ शनिबार o९:४७:oo
Read Time : > 4 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

देशमा बिचौलिया ‘ओपन सेक्रेट’जस्तो भइसकेको छ

Read Time : > 4 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ३१ शनिबार o९:४७:oo

गाईजात्रा एउटा सांस्कृतिक पर्व हो । तर, यो पर्वलाई कलाकारहरूले समसामयिक राजनीतिक व्यंग्य प्रहार गर्ने अवसरको रूपमा समेत मनाउँदै आएका छन् । यसै सन्दर्भमा अघिल्ला वर्षहरूजस्तै हास्यकलाकार मनोज गजुरेललगायतको टिमले प्रस्तुत गरेको प्रहसन यतिवेला आममानिसले निकै रुचाएका छन् । हँसाउँदै तितोसत्य प्रस्तुत गर्ने कलाकार गजुरेलको यसपटकको विषय छ– बेडरुममा बिचौलिया । पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक पार्टीका नेता, कार्यकर्ता र बुद्धिजीवीमाझ प्रस्तुत गरिएको प्रहसनमा प्रधानमन्त्रीलाई बिचौलियाले काखमा राखेर खेलाएको छ । प्रतीकात्मक रूपमा बिचौलियाको बेडमा एकजना प्रधानमन्त्री आराम गरिरहे पनि सबै प्रधानमन्त्रीहरूलाई कलाकारले व्यंग्य गरेका छन् । लोकतन्त्रको अवरोध नै बिचौलियातन्त्र मानिन्छ । जनता र सरकारको बिचमा पारदर्शी सम्बन्ध स्थापित हुनुपर्नेमा स्वार्थ समूह सल्बलाएपछि आमनागरिकले सास्ती खेपेका छन् । प्रहसनको क्रिएटर र प्रिजेन्टर दुवै भूमिकामा रहेका कलाकार गजुरेल भन्छन्, ‘यसपटक हामीले जनताले भोगिरहेका गम्भीर विषयमा कमेडी बनाएका हौँ ।’ प्रहसनको सेरोफेरोमा रही पवन बराइलीले गजुरेलसँग गरेको संवाद : 

‘बेडरुममा बिचौलिया’ प्रहसनका क्रममा मनोज गजुरेल 

यसपटकको गाईजात्रा प्रस्तुतिमा तपार्ईंले देश बिचौलियाले चलाइरहेको देखाउनुभएको छ । देशको अवस्था साँच्चिकै यस्तै छ त ?
कलाकर्मीले समाज, जनता र मिडियाले अनुसन्धान गरेका, अनुभव गरिरहेका विषयलाई नै कमेडी बनाउने हो । जुन विषयको हामीले सूचना पाउँछौँ, तीनै हाम्रो कन्टेन्टका स्रोत हुन् । भर्खरै मात्र ७२ जना सहसचिवहरूलाई सरकारले सरुवा गरेको समाचार आएको छ । त्यसमा व्यापारिक प्रतिष्ठान र स्वार्थ समूहले दबाब दिएको भन्ने सुनिएको छ । यो कतिको सत्य हो ? थाहा छैन । यसको भित्री कुरा राजनीतिकर्मी, मिडियाकर्मी र त्यस विषयसँग सम्बन्धित विज्ञहरूले जान्ने कुरा भयो । यसपटक हामीले जनताले उठाएका, जनताले भोगिरहेका गम्भीर विषयमा कमेडी बनाएका हौँ । अहिले हाम्रो देशमा बिचौलिया सबैभन्दा धेरै चर्चित विषय बनेको हो । जनतामा देश नै बिचौलियाले चलाएको भन्ने बुझाइ छ । बिचौलियाको कारणले जनताले दु:ख पाइरहेका छन् । देशमा बिचौलियाको पहुँच जहाँतहीँ छ । बिचौलियाहरू देशका सानाठुला निर्णय गर्न सक्ने हैसियत राख्छन् भन्ने कुरा ‘ओपनसेक्रेट’जस्तो भइसकेको छ । त्यसकारण गाईजात्रामा यो विषयलाई कमेडीको माध्यमबाट प्रस्तुत गरेका हौँ ।

तपाईंले प्रहसनमा देशको प्रधानमन्त्रीलाई बच्चा देखाएर बिचौलियाको काखमा नांगै सुतिरहेको देखाउनुभएको छ । यो अलि बढी भयोजस्तो लाग्दैन ?
यो प्रस्तुतिमा अहिलेका प्रधानमन्त्री मात्रै होइन । हिजो, आज र भोलि सधैँ आइरहनेहरूको कथा हो । यसमा हामीले कुनै व्यक्तिलक्षित गरेका छैनौँ । प्रस्तुतिमा कुनै समयको प्रधामन्त्रीभन्दा पनि हाम्रो ‘पावर सेन्टर’लाई बिचौलियाले कसरी नचाइरहेका छन् भन्ने कुरालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्न खोजेका हौँ । यसमा कुनै व्यक्ति वा कुनै अमुक प्रधानमन्त्रीलाई मात्रै लक्षित गरेको होइन । 

प्रस्तुतिपछि दर्शकबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
हामीबाट जनताले सधैँ स्तरीय विषयको व्यंग्य खोजिरहनुहुन्छ । हामीले यसपटक सामान्य नेताको क्यारिकेचरभन्दा माथि उठेर प्रस्तुति दिएका छौँ । यसपटक देशको मूल समस्यालाई व्यंग्यको विषय बनाउन खोजेका हौँ । जनताले पनि यस्तै विषयको अपेक्षा गरेका छन् । हामीले पनि त्यस्तै कन्टेन्ट खोजिरहेका हुन्छौँ । प्रस्तुतिपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ । अहिले उठान गरेको विषय एकदमै मन पराउनुभएको छ । अहिले ठाडै रोस्ट गर्ने, हाँस्ने, हसाउने समय छ । यस्तो वेलामा पनि तपाईंहरूले गम्भीर विषय प्रस्तुत गर्नुभयो भनिरहेका छन् । उठाउनैपर्ने विषय तपाईंहरूले उठाउनुभयो भनिरहेका छन् । 

यसपटकको गाईजात्रामा बिचौलियाबारे नै प्रस्तुति दिने भनेर योजना कसरी बन्यो ?
विषयको अध्ययन गर्ने क्रममा कुन पात्रलाई कसरी व्यंग्य गर्ने भनेर टिममा छलफल गर्‍यौँ । हामीले व्यंग्यमा क्यारिकेचर मात्रै होइन, अहिलेसम्म गाईजात्रामा हामीले देशविदेशका जीवित र मृतक अधिकांश पात्रको नक्कल गरिसक्यौँ । मदन भण्डारी हत्या, पूर्वराजा वीरेन्द्र परिवारको हत्याको रहस्यजस्ता विषयको नक्कल गरिसक्यौँ । तर, यसपटक अलि भिन्न गर्ने सोच बनायौँ । अध्ययन गर्ने क्रममा एउटा बिचौलिया भन्ने समचार भेट्यौँ । टिमबाट मलाई बिचौलिया बन्नुपर्छ भन्ने प्रस्ताव आयो । यो विषयले मलाई क्लिक पनि गर्‍यो । त्यसपछि यसपटकलाई बिचौलिया विषय रोज्यौँ । कुनै व्यक्तिलक्षित गरेर उठाइएको विषय होइन । देशको हरेक ठाउँमा बिचौलिया प्रवृत्ति छ । तरकारी उत्पादन गर्ने किसान, बेच्ने व्यापारी, खाने उपभोक्ता सबै बिचौलियाको फन्दामा पर्छन् । देशको तल्लो तहदेखि माथिल्लो तहसम्म बिचौलियाको बिगबिगी छ भन्ने समस्यालाई विषय बनाएका हौँ ।

तपाईंहरूले प्रतीकात्मक रूपमा हास्यव्यंग्यमार्फत प्रस्तुति पस्किन्छौँ भने पनि पात्रहरू सीधै चिनिन्छन् । यसरी सीधै व्यंग्य गर्दा व्यक्तिको मानहानी गरेजस्तो लाग्दैन ? 
हामी प्रतीकात्मक रूपमा प्रस्तुति दिइरहेका हुन्छौँ । हामीले कुनै व्यक्तिको नाम भनेका छैनौँ । हामी प्रस्तुति दिँदा संवेदशील हुन्छौँ । कसैको व्यक्तिगत गोपनीयता, व्यक्तिगत मानमर्दनलाई असर पर्ने कुरामा ख्याल गर्छौँ । गाईजात्रामा जे पनि भन्न पाइन्छ भन्ने चलन पनि छ । तर, कुनै व्यक्तिलाई सीधै नाम तोक्नु हुँदैन । हामीले प्रतीकात्मक रूपमा प्रवृत्तिलाई भन्न खोजेका हुन्छौँ । जनताले प्रस्ट बुझ्नुभएको छ । कतिपय दर्शकले ‘तपाईंले राष्ट्रियस्तरको बिचौलियाको रोल त निभाउनुभयो, तर तिनलाई पनि घुमाउने अन्तर्राष्ट्रिय पात्रको रोल पनि घुसाएको भए अझ न्याय हुन्थ्यो’ भन्ने प्रतिक्रिया दिनुभयो । 

प्रस्तुतिपछि उहाँहरू (ओली, देउवा, प्रचण्ड, आरजुलगायत)को प्रतिक्रिया कस्तो पाउनुभयो ?
यसपटक हामीले जसको नक्कल गर्‍यौँ, उहाँहरूलाई पनि निमन्त्रणा गरेका थियौँ । जसको व्यंग्य गर्छाैँ, उहाँहरूसम्म सीधै पुगोस् भनेर निमन्त्रणा गरेका थियौँ । तर, उहाँहरू आउनुभएन । सायद, उहाँहरूले डिजिटल प्लाटफर्ममार्फत हेर्नुभयो होला । उहाँहरूले कुनै प्रतिक्रिया जनाउनु भएको छैन । यसपटक प्रस्तुति हेर्न राजनीतिक दलका शीर्ष नेताहरू आउनुभएन । पूर्वप्रधानमन्त्रीहरूसहित अन्य नेताहरू आउनुभएको थियो । उहाँहरू मजैले हाँस्नुभयो । हामी अहिले गणतन्त्रमा छौँ । हामीले देशको उच्च पद राष्ट्रपतिलाई मानेका छौँ । तर, व्यंग्यमा त्यहाँसम्म पुगेको छैनौँ । व्यंग्यको प्रस्तुति प्रधामन्त्रीको तहसम्म मात्रै पुगेको छ । हामीले व्यंग्य देशको संविधान र सांस्कृतिक परम्पराको हितविपरीत गरेका छैनौँ ।

राजनीतिक नेताहरूलाई सीधै तिखो व्यंग्य गर्दा मनमा कतै डर हुन्छ कि हुन्न ? 
हामीले सत्य बोल्न सक्नुपर्छ । हामीले प्रस्तुतिमा फलानो बिचौलिया हो, फलानो भ्रष्ट हो भनेर घोषणा गर्दैनौँ । यो प्रस्तुत गर्ने कला मात्र हो । कलाको प्रस्तुतिलाई लिएर हामीमाथि भौतिक आक्रमण र धम्की आउँछ भन्ने लाग्दैन । हिजो ज्ञानेन्द्रको शासनकालमा उनको नक्कल गर्दा पनि त्यस्तो डर भएन । व्यंग्यलाई सहज रूपमै लिनुपर्छ । हामीबाट पनि कतिपय कुरा चिप्लिन सक्छ । त्यसलाई उहाँहरूले सकारात्मक रूपमा लिनुपर्छ । कतिपय प्रतिक्रियालाई हामीले सहज रूपमा सुन्नुपर्छ । प्रधानमन्त्रीलाई यो रूपमा प्रस्तुत गर्दा न्यायसंगत भएन कि भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । हामी जिम्मेवार कलाकार हुनुपर्छ । कतिपय कुरामा हामीले सुधार्ने मौका पाउनुपर्छ । कुन व्यंग्य हो र कुन गाली हो भन्ने छुट्याउनुपर्छ । यसरी बुझियो भने कलाक्षेत्र मौलाउँछ । राजनीतिक क्षेत्र पनि सङ्लिँदै जान्छ भन्ने लाग्छ ।

तपाईंले धेरै जनाको क्यारिकेचर गरिसक्नुभएको छ । आफैँलाई घत परेको क्यारिकेचर कुन लाग्छ ?
समय क्रमअनुसार फरक–फरक प्रस्तुति गरेको छु । पूर्वराजा ज्ञानेन्द्रको नक्कल गरेँ । त्यो वेला मुलुक बेग्लै कालखण्डमा थियो । त्यो समयको त्यस्तो नक्कलको बेग्दै महत्व थियो । माओवादी अध्यक्ष प्रचण्डको पनि नक्कल गरेको छु । मैले खासगरी प्रचण्ड र ज्ञानेन्द्रको गेटअपसहितको क्यारिकेचर गर्न थालेको हुँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गरेँ, जसलाई निकै रुचाइयो । अमेरिकन मिडियाले विश्वभरका १८ जना ट्रम्प क्यारिकेचरमध्ये मलाई पनि राखेको थियो । भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको क्यारिकेचर गरेँ । यसलाई पनि सबैले मन पराए । भारतीय मिडियाहरूले व्यंग्यको चर्चा गरे । 

बिचौलियाको रूप रंग बानी कस्तो हुन्छ ? तपाईंले जुन गेटअपमा देखाउनुभयो, के बिचौलिया त्यस्तै हुन्छ होला?
बिचौलियाहरू सार्वजनिक रूपमा देखिँदैनन् । उनीहरू विभिन्न रूपमा प्रवेश गर्छन् । कहिले सहजकर्ता, कहिले मध्यस्थकर्ता, कहिले विषयविज्ञका रूपमा प्रवेश गर्छन् । हामीले बिचौलियालाई सिम्बोलिक रूपमा प्रस्तुत गरेका छौँ । कुनै व्यक्तिलक्षित गरेर हामीले देखाएका छैनौँ । 

कमेडियनहरूले राजनीतिमाथि व्यंग्य गर्दै प्रश्न उठाइरहने, तर देशमा बेथिति जस्ताको तस्तै हुने । के देश सुध्रिएला ?
हामीसँग आशा गर्नुको विकल्प छैन । निराशाका बिच पनि आशाका किरण छर्नु सर्जकको दायित्व हो । बाँकी परिस्थिति र समयले निर्धारण गर्ला । समयभन्दा शक्तिशाली अरू केही हुँदैन । हामी सर्जकको धर्म अँध्यारोमा पनि ज्योति देखाउनु हो । हामीले कलामार्फत सम्भावना छ भन्ने हो । हामीले आफ्नो धर्म निर्वाह गरिरहेका छौँ ।