मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३१ शनिबार
  • Saturday, 16 August, 2025
पवन बराइली काठमाडाैं
२o८२ श्रावण ३१ शनिबार ११:३५:oo
Read Time : > 7 मिनेट
फिचर प्रिन्ट संस्करण

संसारका अग्ला १४ हिमाल चढ्दा...

Read Time : > 7 मिनेट
पवन बराइली, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ३१ शनिबार ११:३५:oo

विश्वका १४ हिमाल पटक–पटक आरोहण गरेका कीर्तिमानी आरोही हुन्, सानु शेर्पा । उनले सगरमाथा मात्र नौपटक आरोहण गरेका छन् । मनास्लु ६ पटक, लोत्से, अन्नपूर्ण, कञ्चनजंगा, केटु, नांगा पर्वत, गासरब्रुम १ र गासरब्रुम २ हिमाल तीनपटक आरोहण गरेका छन् । सिसापाङ्मा र मकालु दुई–दुईपटक चढिसकेका कीर्तिमानी आरोही सानुले हिमाल चढ्दाका अनुभव पवन बराइलीलाई यसरी सुनाए : 

विद्यालयको नाम मात्रै सुनेँ, आँगन कहिल्यै टेक्न पाइनँ । मेरा लागि भेडा–चौंरी गोठ, खोल्सा र जंगल पाठशाला बने । दिनभर जंगलतिर भेडा लखेट्नु र साँझ गोठमा फर्किनु मेरो दैनिकी बन्यो । गोठमा पेटभरि खाना पाइँदैनथ्यो । चामलको भात वर्षमा तीनपटक मात्रै खान पाइन्थ्यो । यसरी नै संखुवासभाको मकालु गाउँपालिका–१ मा मेरो बाल्यकाल बित्यो ।

गाउँमा हिमाल चढेर आउनेहरूको रवाफ बेग्लै हुन्थ्यो । उनीहरू गाउँमा भरियालाई भारी बोकाएर गाउँ फर्किन्थे । खसी काटेर घरमा भोज लगाउँथे । मेरो घरमा भने नुन–चामल हुँदैनथ्यो । गाउँमा काम गरेको पैसाले खान पनि नपुग्दा गाउँमा बस्न मन लागेन । मजदुरी गरेर सातजनाको परिवार धान्न गाह्रो भयो । काठमाडौंमा भारी बोक्न आउने सोच बनाएँ । मसँग काठमाडौं आउने खर्च पनि थिएन । गाउँमा श्रीमतीलाई एक हजार ऋण खोज्न लगाएँ । त्यसपछि काठमाडौं छिर्ने सोच बनाएँ ।

सन् २००५ को कुरा हो । त्यसवेला संखुवासभाबाट गाडी चढ्न धनकुटा झर्नुपर्थ्यो । गाउँमा सडक पुगेको थिएन । गाउँबाट काठमाडौं आउँदा खुट्टामा जुत्ता थिएन । त्यतिवेलासम्म मैले जीवनमा कहिल्यै जुत्ता–चप्पल लगाउन पाएको थिइनँ । म धनकुटासम्म खाली खुट्टै आइपुगेँ । त्यसवेला खुट्टाहरू चिराचिरा परेर रगत निस्किएको थियो । बसको टिकट काटेर उब्रिएको पैसाले एकजोर हात्तीछाप चप्पल किनेर लगाएँ । अनि, काठमाडौंको रात्रिबस चढेँ ।

काठमाडौंमा ट्रेकिङ कम्पनीहरू खोज्दै हिँडेँ । सन् २००६ मा एउटा ट्रेकिङ कम्पनीले भरियाको रूपमा लैजाने भयो । विदेशीको भारी बोकेर च्योयु हिमालतर्फ लागेँ । विदेशी टोलीसहित म पहिलोपटक आठहजार मिटरभन्दा अग्लो च्यो यु चढ्ने मौका पाएँ ।

हिमालमा जीवन र मृत्युबिचको अदृश्य रेखा हुनेरैछ । जहाँ लड्दै, जुझ्दै अघि बढ्नुपर्छ । कहिले उनीहरूकै काखमा न्यानो अनुभव गर्न पनि पाइन्छ । प्रत्येक हिमालका फरक–फरक अनुभव गर्न पाइन्छ । हिमाल चढ्दाका फरक–फरक अनुभव छन् । झन्डै २० वर्षसम्म मैले हिमालमा डोरी र हिउँ बन्चरो बोकेँ । आरोहीका खानेकुराको भारी, अक्सिजन बोकेर हिउँमा हिँडेँ । उनीहरूलाई शिखरमा पुग्न सहयोग गरेँ ।

मकालु हिमाल

१. सगरमाथा चढ्दा आरोहीले हेपे
मैले अहिलसम्म नौपटक सगरमाथा चढिसकेको छु । हिउँको संसार, खतरनाक खोंच र हिमपहिरोको डरले चुनौतीसँगै रोमाञ्चक बनाउँछ । हुन त सगरमाथाको बाटो कहिल्यै सजिलो हुँदैन । विशेषगरी ‘डेथ जोन’मा पुग्दा शरीर गलिसकेको हुन्छ । अक्सिजनको मात्रा कम, चिसो हावा र हरेक पाइलामा ज्यानको जोखिम हुन्छ ।

सन् २००७ को स्प्रिङ सिजनमा पहिलोपटक भारी बोकेर जाने मौका मिल्यो । त्यसवेला मसँग एकजना कोरियन आरोही थिए । उनका दुवै हात थिएनन् । उनको अक्सिजन र खानेकुराका सबै भारी मैले बोक्नुपर्थ्यो । कतिपय ठाउँमा काँधमा उनलाई बोक्दै भर्‍याङमा उकाल्थेँ । उसको डोरी समात्ने हात थिएनन् । सबै काम मैले गरिदिनुपर्थ्यो । काम गरेको चित्त बुझेन भने उल्टै गाली गर्थे । एकपटक मलाई उनले ‘ए कुकुरको बच्चा छिटो बोक्’ भन्दै झपारे ।

बाटोमा ट्राफिक जाम हुन्थ्यो । अंग्रेजी बोल्न सक्दिनथेँ । तर, अरूले बोलेको बुझ्थेँ । उनले मलाई नराम्रो शब्द प्रयोग गर्दै गाली गरे । मलाई गाली गर्दा रिस उठ्यो तर, खपेर बसेँ । गालीले मन बिजाउँथ्यो । हामी भरियाको जिन्दगी यस्तै रहेछ भन्ने लाग्यो, आफँैलाई धिक्कारेँ ।

कति शेर्पाहरूलाई कोरियनले कुटेका पनि छन् रे ! मलाई पनि कुटाइ खाइन्छ कि भन्ने डर भयो । ‘कुकुरको छाउरा’ भनेको कहिल्यै बिर्सन सक्दिनँ ।

सगरमाथाको बाटो सजिलो छैन, जहाँ मृत्यसँग जुध्दै अघि बढ्नुपर्छ । पाइला–पाइलामा मृत्यु छ । कतिवेला हिम पहिरो आउने हो थाहा हुँदैन । सगरमाथा आरोहण गर्दा कतिको ज्यान जोगाएको छु । कतिलाई चाहेर पनि बचाउन सकिनँ । त्यहाँ सबैजना हतारमा हुन्छन् । सबैजना शिखरमा पुग्न हिँडेका हुन्छन् । तर, कतिपय शिखर नपुग्दै बाटोमै अस्ताउँछन् । कोही फर्किंदा बाटोमै बिलाउँछन् । तर, मलाई सगरमाथाले कहिल्यै निराश बनाएको छैन । सगरमाथाले मलाई धैर्यता, समर्पण र विनम्रता सिकायो । शारीरिकभन्दा पनि मानसिक बल सिकायो । मलाई सगरमाथा घरजस्तै लाग्छ ।

२. मनास्लुमा झन्डै मरेँ 
मनास्लु ६ पटक आरोहण गरेँ । पहिलोपटक मनास्लु जाँदा भारी हिमपात र हावाहुरी चलेको थियो । त्यतिवेला मलाई डेंगु लागेको रहेछ । बाटोमा अलि गाह्रो भएपछि मात्रै थाहा पाएँ । मौसम बिग्रिएर पाँच–६ दिन बेसक्याम्पमै बस्नुपर्‍यो । क्याम्प–१ गएपछि सञ्चो भयो । त्यसपछि चढ्ने आँट आयो । त्यतिवेला क्याम्प–२ मा एक सयभन्दा धेरै मान्छे अड्किएर बसेका रहेछन् । उनीहरू चढ्ने आँट गरेका थिएनन् । मसँग एकजना चाइनिज थिए । सबैजना मौसमले साथ नदिएपछि माथि उक्लिन डराइरहेका थिए । मौसमले निरन्तर चुनौती दियो । तर, मेरा आँखा सधैँ शिखरतिर हुन्थे । त्यसवेला मसहित ६ जनाको टिमले समिटमा जाने निर्णय गर्‍यौँ । मौसम प्रतिकूल थियो, प्रतिकूल मौसमका बाबजुद आरोहण गरियो । प्रकृतिको शक्तिसँग जुधेर आरोहण गरेँ । प्रकृतिसँग आफ्नो क्षमताको परीक्षामा उत्रिएको जस्तो लाग्थ्यो । फेरि त्यही वेला दोस्रोपटक पनि आरोहण गरेँ । त्यसवेला मनास्लुमा ठुलो दुर्घटना भयो । धेरै मान्छे घाइते भए । त्यो अविस्मरणीय क्षण थियो, मेरा लागि । मनास्लु मेरा लागि आरोहण थिएन, आफूलाई परीक्षण पनि गर्नु थियो ।

मनास्लुमा हिउँपहिरो निकै जान्छ । समथर ठाउँ पनि छन् । तर, मनास्लुको एउटा घटना कहिल्यै बिर्सन सक्दिनँ । मेरो अगाडि एकजना विदेशी क्लाइम्बर बेपत्ता भइन् । उनीहरू श्रीमान्–श्रीमती स्की खेल्न गएका रहेछन् । चुचुरोमा पुगेर फर्किंदा श्रीमतीचाहिँ चिप्लेर हिउँमै हराइन् । त्यो दृश्यले मन चिसो बनायो । अधिकांशले यो हिमाल चढ्न गाह्रो हुन्छ भनेको सुन्छु । तर, मलाई सजिलो लाग्छ ।

३. धौलागिरिमा आरोहीले यहीँ मर्छु भने
सन् २००७ मा पहिलोपटक धौलागिरि आरोहण गरेँ । त्यसवेला मौसम खराब भयो । त्यसैले एक हप्तासम्म क्याम्प १ मा बस्नुपर्‍यो । धेरै हिउँ पर्‍यो । त्यसवेला मसँग एकजना चाइनिज आरोही थिए । मैले भनेँ, ‘मौसम खराब भयो, चढ्न सकिँदैन होला ।’ तर, उसले भन्यो, ‘नचढी फर्किनुहुँदैन । यसपटक हिमाल चढ्न सकिएन भने हामी दुवैजना यहीँ मर्नुपर्छ ।’ मलाई बेस्सरी डर लाग्यो । मेरो घरमा परिवार छ । कस्तो मान्छे रहेछ भन्ने लाग्यो ? त्यतिवेला म बेस्सरी रोएँ ।

धेरै मान्छे नसकेर फर्किएका थिए । त्यसवेला राति एक्लैले आरोहणका लागि बाटो बनाएँ । यो हिमालमा अन्य हिमालमा भन्दा हिउँ धेरै पर्छ । सबै मान्छे बेसक्याम्पबाट माथि जान पनि नसक्ने, तल झर्न पनि नसक्ने भएर बसेका थिए । हावाहुरी चल्यो, हिउँ पर्‍यो, मौसम खराब थियो । अन्तत: रातभरि बाटो बनाएर धौलागिरि आरोहण गर्‍यौँ । यो हिमाल चढ्दा मैले दु:ख पाएँ । तर, कहिल्यै दु:ख पाएँ भन्ने ठानिनँ । सानैदेखि दु:ख खेपिसकेको थिएँ । हिमालको दु:ख मलाई सामान्य नै लाग्यो ।

४. मकालुमा  नौजना बचाएँ
त्यो हिमालका कतिपय ठाउँ निकै जोखिमपूर्ण छन् । सन् २०१९ पहिलोपटक विदेशी आरोहीसहित गएको थिएँ । त्यसवेला निकै ठुलो दुर्घटना भयो । कतिपयको लडेर मृत्यु भयो, कतिपयको राति सुतेका वेला मृत्यु भयो । मौसम खराब भएर बाटोमै दुई–तीनजनाको लडेर मृत्यु भयो । धेरैको हिउँले अंगभंग बनायो । त्यतिवेला नौजना बेपत्ता भएको खबर आयो । म क्याम्प ४ मा नै थिएँ । आरोहीहरूका लागि बाटो बनाइरहेको थिएँ । ती नौजना कहाँ गए होला भन्ने भयो मलाई । मैले क्याम्प ४ मा हरेक टेन्टमा छिर्दै हेरेँ । ती नौजना एउटै टेन्टमा बसेका रहेछन् । उनीहरूको बोल्न सक्ने अवस्था थिएन । सबैले उनीहरू मरिसके भन्ने सोचेका थिए । मैले उनीहरूलाई बिस्तारै उठाएँ । अरू साथीहरूलाई खबर गरेँ । बेसक्याम्पतिर झारेँ । मौसम खुल्दै गयो । उनीहरू बोल्न थाले । त्यसवेला अलि ढिलो गरेको भए नौजना मर्ने थिए । त्यो क्षण अहिले पनि सम्झन्छु ।

५. चीनको सिसापाङमा भिरमै झुन्डिएर सुतेँ
यो हिमाल चीनमा पर्छ । निकै टेक्निकल हिमाल पनि मानिन्छ । मलाई धेरै साथीले यो हिमाल नजानू भन्थे । यो हिमाल चढ्न निकै कठिन थियो । क्याम्प १ मा सानो बस्ने ठाउँ छ । क्याम्प १ भन्दा माथि समथर ठाउँ छैन । भिरमै झुन्डिएर सुत्नुपर्छ । भिरलाई खोपेर खुट्टा टेक्ने ठाउँ बनाएर सुत्नुपर्छ । त्यो हिमाल चढ्न आफँैले बाटो बनाएर चढेँ । दोस्रोपटक पनि त्यसरी आरोहण गरेँ । निकै गाह्रो छ । मौसमले साथ दियो भने सजिलो हुन्छ । फर्किएर आउन निकै गाह्रो हुन्छ । खुट्टा पनि पूरै टेक्न मिल्दैन । मसहित अहिलेसम्म चारजना नेपालीले आरोहण गरेका छौँ । विदेशी चढ्नै सक्दैनन् । तीनजनाले रातभरि बाटो बनाएका थियौँ । त्यतिवेला विदेशीहरू थिए । झुन्डिएर हिउँलाई पानी बनाएर पिउनुपर्छ । बेसक्याम्पबाट लगेको पानीले पुग्दैन । तल झरेर लैजान सम्भव छैन ।

६. अन्नपूर्ण निकै खतरनाक लाग्यो 
अन्नपूर्ण तीनपटक आरोहण गरेँ । धेरैले अन्नपूर्ण चढ्ने होइन, यो हिमाल चढ्न जोखिम छ भनेको सुन्थेँ । संसारकै खतरनाक हिमालमध्ये एक भनेको सुनेको थिएँ । यो हिमाल क्याम्प २ र क्याम्प ३ बिचमा निकै जोखिम छ । यात्रामा साँच्चै ज्यान जोखिममा राखेर गर्नुपर्छ । आइसको टुक्रा झर्‍यो भने टाउकोमै लाग्छ । यहाँ अप्रत्याशित खतरा आइपर्छ । अचानक हिमपहिरो झर्छ । आरोहरण गरेर फर्किंदा बाँचियो भन्ने लाग्छ । खतराको पर्वाह नगरी ती आरोहीलाई उद्धार गरेँ । त्यहाँ डराउनुहुँदैन । कहिले अघि बढ्ने, कहिले पछि हट्ने गर्नुपर्छ । मौसम कठोर भयो भने कसैको केही लाग्दैन ।

७. ल्होत्से विनाअक्सिजन चढेँ
ल्होत्से सगरमाथाको बाटो हुँदै जानुपर्छ । पहिलोपटक सन् २००८ मा आरोहण गरेँ । त्यसवेला नौजनाको टिम थियो । त्यसवेला मसँगै गएको विदेशी चुचुेरो पुग्न लाग्दा खुस्किएर तल झर्‍यो । उसको अक्सिजन गुल्टेर गयो । धन्न मैले डोरीमा समातेर जोगाएँ । मेरो अक्सिजन उसलाई दिएँ । म अक्सिजनविनै टुप्पोमा पुगेँ । खतरा जितेर टुप्पोमा पुग्दाको आनन्दै बेग्लै हुन्छ ।

८. चोयुबाट पहिलोपटक आरोहण थालेँ
चोयु हिमाल पहिलोपटक भारी बोकेर गएको थिएँ । सन् २००६ को कुरा हो । त्यसवेला १९ जना कोरियन आरोही थिए । त्यसवेला मलाई निकै डर लागेको थियो । कोरियनले शेर्पाहरूलाई कुटेर मार्छ भन्ने हल्ला सुनेको थिएँ । मैले उनीहरूको भारी बोकेको थिएँ । तर, बेसक्याम्प पुग्दा उनीहरूलाई गाह्रो भयो । उनीहरू बिरामी हुन थाले । १३–१४ घण्टा लगाएर हिँडेर बेसक्याम्प पुगियो । तीनवटा टिममा विभाजन गरेर आरोहण गर्ने योजना बन्यो । यसअघि म ठुलो हिमाल गएको थिइनँ । तर, त्यसवेला दुई टिम बिरामी भएर फर्किए । मैले चाहिँ चढेर फर्किने सोच बनाएँ । त्यसवेला १९ जनामा दुईजनाले मात्रै आरोहण गर्‍यौँ । अरू बिरामी भएर आरोहण गर्न सकेनन् । मलाई यो हिमाल चढ्न गाह्रो लागेन ।

९. कञ्चनजंगा अप्ठ्यारो लागेन
कञ्चनजंगा तीनपटक आरोहण गरेँ । त्यहाँ पनि सजिलो छैन । तर, आत्मबलले सजिलो बनाउँछ । यो हिमाल टेक्निकल लाग्दैन । समथर ठाउँ धेरै छन् । दूरीका हिसाबले क्याम्प २ र ३ बाटो निकै लामो छ । अनुभवीहरूविना चढ्न सकिँदैन । मौसम राम्रो भयो भने सहजै चढ्न सकिन्छ । मैले आफैँ बाटो बनाएर पनि चढेको छु । डोरी फिक्स नगर्दासम्म गाह्रो छैन । हामी गइरहने भएकाले खासै अप्ठ्यारो छैन । 

१०. पाकिस्तानको नांगा पर्वतमा तालिबानको डर लाग्यो
सन् २०१३ मा नांगा पर्वतको बेसक्याम्पमा तालिबानले मान्छे मारेको थियो । त्यो सुन्दा मलाई डर लागेको थियो । सन् २०१६ मा पहिलोपटक यो हिमाल गएँ । त्यतिवेला नसुतेर नै रात काटेको छु । टेन्टभित्र जुत्ता लगाएर बसेँ । गोली पड्केको आवाज मात्रै आउँथ्यो । टेन्टको ‘जिफर’ पनि बाहिरको मात्रै लगाउँथँे । कतिवेला उठेर भाग्नुपर्ने हो भन्ने त्रास मनमा हुन्थ्यो । त्यसवेला घरपरिवार सम्झेर असाध्यै रोएँ । यो हिमाल अहिलेसम्म चारपटक आरोहण गरेँ । यो हिमालको चुचुरोमा पुगेर बेसक्याम्प फर्किनु सामान्य लाग्यो । तर, बेसक्याम्पबाट बाँचेर घर फर्किनु निकै चुनौती लाग्यो । बेसक्याम्पसम्म त्यहाँका बालबच्चा आउने रहेछन् । त्यहाँका मान्छे सजिलै आउँदा रहेछन् । उनीहरूलाई केही भन्न पनि नमिल्ने । भाषा पनि नबुझिने । चुचुरोमा पुगेपछि हरियाली देखिन्छ । नांगा पर्वत पाकिस्तानको अप्ठ्यारो हिमालमध्ये एक हो ।

११. पाकिस्तानको केटु चढ्दा साथीको लास भेटेँ
यो संसारको दोस्रो अग्लो हिमाल हो । यो सबैभन्दा चुनौतीपूर्ण छ । यो हिमाल तीनपटक चढेँ । बाटो सजिलो छैन । सानो गल्तीले ज्यान जान सक्छ । मैले चढिरहँदा एकजना विदेशी आरोही चिप्लिएर तल झरे । उनी बाँचेनन् । निकै दु:ख लाग्यो । बाटोमा तीनजना मान्छे हराए । अलि माथि उनीहरूको लास भेटियो । उनीहरू चिनेकै साथी थिए । म मरेँ भने यस्तै होला भन्ने सोचेँ । दोस्रोपटक जाँदा पनि बाटोमा निकै दु:ख पाएँ । बाटो बनाउने जिम्मा मेरो थियो । त्यसवेला हामी १८ जना नेपाली थियौँ । त्यसको नेतृत्व मैले गरेको थिएँ ।

१२. पाकिस्तानको गासरब्रुम १ मा डोरी छिनेर आरोही पल्टिए
यो हिमाल पस्कितानमा पर्छ । गासरब्रुम १ र गासरब्रुम २ को बाटो एउटै हो । क्याम्प १ बाट बाटो अलग हुन्छ । यो हिमाल २००१ मा जाँदा निकै डर लागेको थियो । त्यसवेला एकजना मान्छे चिप्लिएर लडे । उनको मेरो आँखाअगाडि मृत्यु भयो । उनी डोरी छिनेर पल्टिए । उनको मृत्युपछि मलाई डर लाग्यो । अरूको देशमा आइएको छ । मरियो भने परिवारले लास पनि देख्न पाउँदैनन् होला भन्ने लाग्यो । त्यही वेला चारजना मान्छे बेपत्ता भए । टुप्पोमा पुगेर फर्किंदा बाटोमा उनीहरूको लास देखियो । पछिल्लोपटक चढ्दा पनि ती लास त्यहीँ थिए, निकालेकै छैन ।

१३. पाकिस्तानको गासरब्रुम २ बाट चीनको हिमाल देखेँ
यो हिमाल पनि पास्कितानमै पर्छ । यो हिमाल अन्यको तुलनामा अलि सजिलो छ । मलाई पहिलो र दोस्रोपटक सजिलो लाग्यो । क्याम्प २ नजिकबाट ५०० मिटर डोरी झुन्डिएर जानुपर्छ । यो हिमाल तीनपटक चढेँ । यसको चुचुरोबाट चीनका साना पिकहरू देखिन्छन् ।

१४. ब्रड पिकमा बाटो भुल्ने डर हुन्छ 
मैले सन् २०१४ मा पहिलोपटक ब्रड पिक चढेँ । समयका हिसाबले सबैभन्दा छिटो आरोहण गरेको हिमाल हो यो । एक हप्तामै आरोहण गरिसकेको थिएँ । कतिपयले पास्कितानको यो नै सबैभन्दा सजिलो हिमाल मान्छन् । तर, मलाई सबैभन्दा गाह्रो लाग्यो । यो हिमाल आरोहण गर्न निकै चुनौती छ । कतिपय आरोहण नै नगरी फर्किन्छन् । धेरै मान्छे क्याम्प–३ बाटै फर्किन्छन् । यो हिमालमा बाटो भुल्ने डर हुन्छ । सबैभन्दा ठुलो चुनौती चुचुरो पुग्ने बाटो पत्ता लगाउन सकिँदैन । हिउँको ढिस्को भत्किने डर धेरै हुन्छ ।