
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रसूति गृहले नेपालको मातृशिशु स्वास्थ्य सुधारमा खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गरेका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले अस्पतालले सुरु गरेको ‘नियोनेटल स्क्रिनिङ’, ‘ह्युमन मिल्क बैंक र पुनः सञ्चालनमा ल्याइएको आईभीएफ सेवा जस्ता नवीनतम कार्यहरू राष्ट्रिय स्वास्थ्य प्रणालीकै लागि अनुकरणीय भएको बताए ।
उनले भविष्यमा अस्पताललाई ११ बेड थप गरेर पाँच सय बेड बनाइने र काठमाडौंका दुई नगरपालिकामा ‘२५–२५ शय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको जानकारी दिए ।
‘प्रसूति गृह केवल एक अस्पताल होइन, यो लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो । यसको ६६ वर्षको यात्रा नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी हो,’ मन्त्री पौडेलले भने, ‘सरकारले हालै ल्याएको निःसन्तान उपचार मापदण्डको सफल कार्यान्वयनमा यस अस्पतालको पुनःस्थापित आईभीएफ सेवाले नेतृत्वदायी भूमिका खेल्नेछ । अस्पतालले सुरु गरेको नियोनेटल स्क्रिनिङ, मिल्क बैंक जस्ता कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु ।’
कार्यक्रममा अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले अस्पतालको पछिल्लो प्रगतिबारे जानकारी गराएका थिए ।
‘अस्पतालले पछिल्लो समय सेवामा उल्लेख्य विस्तार गरेको छ । स्त्रीरोग सम्बन्धी दुरबिन प्रविधिबाट हुने शल्यक्रिया, गर्भवतीका लागि मानसिक स्वास्थ्य ओपीडी र फेटल तथा मेटर्नल इको सेवाले रिफरल दर घटाएको छ,’ उनले भने ।
अस्पतालले लैङ्गिक हिंसापीडितका लागि एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी), दुर्गमका महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई उद्धारपछिको उपचार र गरिब तथा विपन्नका लागि सामाजिक सुरक्षा इकाईमार्फत् निःशुल्क उपचारजस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई पनि प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको अस्पतालले जनाएको छ ।
समारोहमा अस्पतालले विगत एक वर्षमा हासिल गरेका उपलब्धि, सेवा विस्तारका योजना र मातृशिशु स्वास्थ्यमा पुर्याएकाे योगदानको विस्तृत समीक्षा प्रस्तुत गरिएको थियो ।
२०१६ सालमा ४० शय्याबाट सुरु भएको अस्पतालले शनिबारदेखि ४८९ शय्या सञ्चालन गरेको छ । वार्षिकोत्सव समारोहमा अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार सफल प्रसूति गराइएको र बहिरङ्ग विभागबाट दुई लाख ३३ हजारभन्दा बढीले सेवा लिएको जानकारी दिइएको छ ।