मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३१ शनिबार
  • Saturday, 16 August, 2025
२o८२ श्रावण ३१ शनिबार १३:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डिप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ, १३ आयोजना हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ३१ शनिबार १३:३२:oo

भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । आज भरतपुर–२३ आलमघाटमा आयोजित एक कार्यक्रममा समितिलाई आयोजना हस्तान्तरण गरिएको हो । ती आयोजनामार्फत करिब तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको जनाइएको छ ।

वैकल्पिक सिँचाइ अभाव भएका क्षेत्रमा सेवा पुगोस् भन्ने उद्देश्यले आयोजना निर्माण गरिएको भूमिगत जल सिँचाइ आयोजना चितवनका कार्यालय प्रमुख विश्वबन्धु केसीले बताए । उनका अनुसार हस्तान्तरण भएका आयोजना नर्मदेश्वर र मनकामना (भरतपुर–१५), रुखेनी (भरतपुर–१८), सङ्गम, सम्झौता र जुनतारा (भरतपुर–२१), पटिहानी पर्सा (भरतपुर–२२), ठाडोखोला, केरुङ, साँङ्गे र फाल्गुनी (भरतपुर–२३), भगौली (भरतपुर–२५) र झ्याउरेटाँडी (भरतपुर–२७) रहेका छन् ।

आयोजनामा करिब रु सात करोड ३२ लाख ७९ हजार ४४५ खर्च भएको छ । साथै कुल १९ हजार पाँच सय ३१ मिटर पाइपलाइन जडान गरिएको छ । यसले भरतपुरका खडेरीग्रस्त क्षेत्रमा डिप बोरिङमार्फत पानी आपूर्ति भई उत्पादनशील जमिन विस्तार गरेको छ ।

उपभोक्ता किसानले परियोजनाबाट खडेरी समयमा बाली लगाउन सहज भएको अनुभव बताएका छन् । पटिहानी पर्साका सेवाग्राही यमप्रसाद लामिछानेले आयोजना निर्माणले सिँचाइ समस्या समाधान भएको बताए । त्यस्तै, भरतपुर–१५ नर्मदेश्वर आयोजनाका मनिभद्र कँडेलले खडेरी जमिनमा पानी पुगेपछि किसान खुसी भएको उल्लेख गरे । फाल्गुनी र केरुङ्गा आयोजनाका सेवाग्राही अनिता वाइवा र कमलाकुमारी विश्वकर्माले भूमिगत जलस्रोतमार्फत अब खेतबारीमा सिँचाइको सुविधाले सहज भएको बताए। 

त्यस अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरका पश्चिमी क्षेत्रमा सिँचाइ अभावले जमिन बाँझो हुने समस्या समाधान भएको बताइन् । उनले नारायणी लिफ्ट, खगेरी सिँचाइलगायतसँगै डिप बोरिङले थप सहजता ल्याएको उल्लेख गर्दै किसानलाई आवश्यक सहयोगमा महानगर सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरिन् ।