मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 16 August, 2025
टेकराज थामी काठमाडाैं
Invalid date format o६:५९:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नौ वर्षमा निकालिए ४२२० विदेशी

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:५९:oo

३३७६ विदेशी नागरिक ‘ओभर स्टे’ र ८४४ जाली राहदानी, अभद्र व्यवहार, विदेशी मुद्रा अपचलन, लागुऔषध, मानव बेचबिखन, ठगीलगायत गम्भीर अपराधमा संलग्नलाई नेपालबाट निकाला

  • अध्यागमनको तथ्यांकअनुसार नेपालमा पछिल्लो समय १२ लाख विदेशी नागरिक पर्यटक भिसामा भित्रिएका छन्, जसमध्ये चार सयजनाभन्दा धेरैको गतिविधि शंकास्पद
  • त्यस्तै, बिजनेस भिसामा नेपाल बसेका विदेशीको संख्या करिब चार हजार छ । त्यसमध्ये ५०%को गतिविधि शंकास्पद देखिएको विभागको भनाइ 

पछिल्ला नौ वर्षमा भिसाविपरीतका गतिविधिमा संलग्न करिब साढे चार हजार विदेशीलाई नेपालले देशनिकाला गरेको छ । अध्यागमन विभागका अनुसार चार हजार २२० विदेशीलाई निकाला गरिएको हो । अपराधको प्रकृति हेरेर विभागले विदेशीलाई ५० हजार रुपैयाँ जरिवाना लगाउनेदेखि देशनिकालासम्म गर्न सक्छ।

विभागको तथ्यांकअनुसार देशनिकालामा पर्ने सबैभन्दा धेरै चिनियाँ, बंगलादेशी र पाकिस्तानी नागरिक छन् । यस अवधिमा एक हजार १२० (२६.५३ प्रतिशत) चिनियाँलाई देशनिकाला गरिएको छ । त्यस्तै, एक हजार ६२ (२५.१७ प्रतिशत) बंगलादेशी र २८७ (६.८० प्रतिशत) पाकिस्तानी नागरिकलाई देशनिकाला गरिएको छ । त्यसबाहेक एक हजार ७५१ (४१.४९ प्रतिशत) जना अन्य विभिन्न मुलुकका नागरिक छन् । 

भिसाविपरीत ओभर स्टे गर्ने र अपराधमा संलग्न हुने विदेशीको संख्या बढ्दो क्रममै रहेको विभागको तथ्यांकले देखाउँछ । चालू वर्ष सन् २०२५ को जुलाईसम्मको सात महिनामा मात्रै यस्ता १२५ विदेशीलाई देशनिकाला गरिएको छ । यसरी देशनिकाला गरिएका विदेशी सन् २०२४ मा ४९७, सन् २०२३ मा ४५८, सन् २०२२ मा ५७१ र सन् २०२१ मा ३१२ थिए । त्यस्तै, सन् २०२० मा ३३४, सन् २०१९ मा ६७६, सन् २०१८ मा ६८३ र सन् २०१७ मा ५६४ विदेशी देशनिकालामा परेका थिए ।

सन् ०२५ को जनवरीदेखि जुलाईसम्मको अवधिमा ३७ बंगलादेशी नागरिकलाई देशनिकाला गरिएको छ । त्यस्तै, ३० चिनियाँ, १० पाकिस्तानी र ९ अमेरिकी नागरिक पनि निकालामा परेका छन् । उज्वेकिस्तानी, फ्रान्सेली र रसियन चार–चारजना, ब्रिटिस नागरिक तीन र जर्मनी, इन्डोनेसिया, इजरायल र क्यानडाका दुई–दुईजनालाई देशनिकाला गरिएको छ । बाँकी १७ जना अन्य मुलुकका छन् ।

विभागले ओभर स्टे, लागुऔषध, विदेशी मुद्रा अपचलन, संगठित अपराध, नक्कली राहदानी, यौन दुर्व्यवहार, ठगी, अपहरणलगायत अपराधमा देशनिकाला गर्छ, जसमध्ये धेरै ओभर स्ेटका कारण देशनिकालामा पर्ने गरेको तथ्यांकले देखाउँछ ।

विभागका अनुसार विशेषगरी पर्यटन र बिजनेस भिसामा नेपाल बस्ने विदेशी नागरिकको गतिविधि शंकास्पद देखिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा १२ लाख विदेशी नागरिक पर्यटक भिसामा भित्रिएका छन् । जसमध्ये चार सयजनाभन्दा धेरैको गतिविधि शंकास्पद देखिएको अध्यागमनको भनाइ छ ।

त्यस्तै, बिजनेस भिसा लिएर नेपाल बसेका विदेशीको संख्या करिब चार हजार छ । त्यसमध्ये ५० प्रतिशत अर्थात् झन्डै दुई हजारको गतिविधि शंकास्पद देखिएको विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले लामो अवधिदेखि पर्यटन र बिजनेस भिसामा नेपाल बस्ने विदेशीविरुद्ध कारबाही प्रक्रिया अघि बढेको बताए ।

‘पर्यटन भिसाको उद्देश्य घुमघाम हो । तर, यहाँ सोही भिसा प्रयोग गरी व्यवसाय गरेर बसेको भेटियो । कानुनले त्यसो गर्न अनुमति दिँदैन । त्यस्तै, बिजनेस भिसा लिने, तर लगानी नभित्र्याउने विदेशी नागरिक पनि धेरै भेटिए । फेरि उनीहरूले नै पटक–पटक भिसा रिन्यु गरेका छन् । यस्तो कार्य शंकास्पद हो,’ उनले भने, ‘त्यसैले उनीहरूविरुद्ध कारबाही प्रक्रिया कडा तुल्याइएको हो ।’

विभागका अनुसार भिसाको उद्देश्यविपरीत बसोबास गर्ने विदेशी नागरिक निगरानीमा रहेको र उनीहरूको गतिविधि छानबिन भइरहेको छ । कारबाहीका लागि विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलगायत निकायसँग छलफल गरिसकेको छ । विभागले यी निकायको सहयोगमा कारबाही प्रक्रिया अगाडि बढाउनेछ ।

महानिर्देशक तिवारीले भने, ‘प्रयोजनविपरीत बसोबास गर्ने विदेशी नागरिकको तथ्यांक हामीसँग छ । उनीहरूको गतिविधि निगरानी भइरहेको छ । अब कारबाहीलाई तीव्र तुल्याइन्छ । यसका लागि प्रहरीका विभिन्न युनिटसँग छलफल भइसकेको छ । उनीहरूकै सहयोगमा कारबाहीलाई तीव्रता दिनेछौँ ।’

अध्यागमन नियमावली, २०५१ को नियम २० (१)मा पर्यटन भिसा लिएर नेपाल बस्ने विदेशी नागरिक वा परिवारका सदस्यलाई पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न बन्देज गरिएको छ । उक्त नियममा भनिएको छ, ‘नियमावलीबमोजिम पर्यटक र परिवारको सदस्यको हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउनेछैन । नियमावलीबमोजिम भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यका निमित्त भिसा प्राप्त गरेको हो, सोबाहेक अन्य काम गर्न पाइनेछैन ।’

सोही नियमावलीको नियम २८ मा भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न विदेशी नागरिकको भिसा विभागले जुनसुकै वेला रद्द गर्न सक्नेछ । नियम २८ (झ)मा भनिएको छ, ‘जुन उद्देश्यका लागि भिसा प्रदान गरिएको हो, सोअनुरूपको कार्य नगरी अन्य कामकुरा गरेमा वा जुन प्रयोजनका लागि भिसा लिएको हो, सो समयअगावै त्यस्तो प्रयोजन समाप्त भएमा अध्यागमनले त्यस्ता विदेशी नागरिकको भिसा रद्द गर्न सक्नेछ । विशेषगरी भिजिट र बिजनेस भिसामा नेपाल बस्ने विदेशी नागरिकको गतिविधि अध्ययन गरी शंकास्पददेखि कारबाही प्रकिया अघि बढाउनेछ ।’

कारबाही गर्नुअघि अध्यागमन अधिकृतले घटनामा संलग्न विदेशी नागरिकमाथि अनुसन्धान गर्छ । अनुसन्धान प्रतिवेदन अध्यागमन महानिर्देशकसमक्ष पेस गरिन्छ । सोही आधारमा कसुरदार देखिए महानिर्देशकले त्यस्ता नागरिकलाई देशनिकालासम्म गर्न सक्नेछ । अध्यागमन ऐन, २०४९ को दफा ९ (१) मा भनिएको छ, ‘ऐनबमोजिम अध्यागमन अधिकृतले कुनै विदेशीको हकमा अपराधको तहकिकात पूरा गरी महानिर्देशकसमक्ष प्रतिवेदन पेस गरेपछि सो प्रतिवेदनको आधारमा महानिर्देशकले तोकिएबमोजिम नियमित गर्नुपर्ने कुराहरूको हकमा नियमित गरी त्यस्तो विदेशीलाई सरकारको स्वीकृति लिई अवधि तोकी वा नतोकी पुन: नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्न सक्नेछ ।’

विभागले गत बिहीबार मात्रै भिसा दुरुपयोग गरी बसोबास गर्ने फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ । उनी सन् २०१४ देखि विभिन्न भिसामा नेपाल बस्दै आएकी थिइन् । उनले लैनचौरमा टेरा साम्पा नामको बेकरी हाउस चलाउँदै आएकी थिइन् । भिजिट, बिजनेस र विद्यार्थी भिसामा नेपाल बस्दै आएकी उनी ११ वर्षमा १५ पटक नेपाल आउने जाने गरेको देखिएको छ । त्यसकारण उनी अध्यागमनको निगरानीमा थिइन् ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्म देशनिकाला गरिएका विदेशी नागरिक 

भिसाविपरीत ओभर स्टे गर्ने र अपराधमा संलग्न हुने विदेशीको संख्या बढ्दो क्रममै रहेको अध्यागमन विभागको तथ्यांकले देखाउँछ । सन् २०२५ को जुलाईसम्मको सात महिनामा मात्रै यस्ता १२५ विदेशीलाई देशनिकाला गरिएको छ । उनीहरूमध्ये १०८ जना ‘ओभर स्टे’ कसुरमा र १७ जना गम्भीर अपराधमा संलग्न थिए । विभागका अनुसार लागुऔषध कारोबारमा ६, विदेशी मुद्रा अपचलनमा चार तथा मानव बेचबिखन र भन्सार चोरीमा संलग्न दुई–दुईजना छन् । त्यस्तै, राजनीतिक विरोध, बहुविवाह र अभद्र दुर्व्यवहार गर्ने एक–एकजना पनि देशनिकालामा परेका छन् । विभागका प्रवक्ता टीकाराम ढकालले भिसाको उद्देश्यविपरीत नेपालभित्र बस्ने विदेशी नागरिकलाई महानिर्देशकले देशनिकाला गर्ने बताए । उनले भने, ‘भिसाको उद्देश्यविपरीत मुलुकका विभिन्न ठाउँमा विदेशी नागरिक रहेको सूचना छ । उनीहरूविरुद्ध अध्ययन भइरहेको छ । कानुनविपरीत देखिए कसुदारलाई ५० हजार जरिवाना र देशनिकालासम्म हुनेछ ।’

कुन वर्ष कति विदेशी निकालिए ?

देशनिकाला गरिएका विदेशी सन् २०२४ मा ४९७, सन् २०२३ मा ४५८, सन् २०२२ मा ५७१ र सन् २०२१ मा ३१२ थिए । त्यस्तै, सन् २०२० मा ३३४, सन् २०१९ मा ६७६, सन् २०१८ मा ६८३ र सन् २०१७ मा ५६४ विदेशी देशनिकालामा परेका थिए ।

रामचन्द्र तिवारी महानिर्देशक, अध्यागमन विभाग
पर्यटन भिसाको उद्देश्य घुमघाम हो । तर, यहाँ सोही भिसा प्रयोग गरी व्यवसाय गरेर बसेको भेटियो । कानुनले त्यसो गर्न अनुमति दिँदैन । त्यस्तै, बिजनेस भिसा लिने, तर लगानी नभित्र्याउने विदेशी नागरिक पनि धेरै भेटिए । फेरि उनीहरूले नै पटक–पटक भिसा रिन्यु गरेका छन् । यस्तो कार्य शंकास्पद हो । प्रयोजनविपरीत बसोबास गर्ने विदेशी नागरिकको तथ्यांक हामीसँग छ । उनीहरूको गतिविधि निगरानी भइरहेको छ । अब कारबाहीलाई तीव्र तुल्याइन्छ । यसका लागि प्रहरीका विभिन्न युनिटसँग छलफल भइसकेको छ । उनीहरूकै सहयोगमा कारबाहीलाई तीव्रता दिनेछौँ ।