
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसिँचाइमन्त्री उमेशकुमार यादवले अधुरो सडक निर्माणको माग गर्दै सोमबार पैदल यात्रा निकालेका छन्।
राजविराजदेखि छिन्नमस्ता सखडा बजार हुँदै न्योर बोर्डरसम्म निर्माण भइरहेको सडक समयमा सडक निर्माणको लागि स्थानीयलाई लिएर उनले दबाब दिन पैदल यात्रा निकालेका हुन । सखडाबाट बिष्णुपुरसम्म पैदल यात्रा गरेपछि उनले यो सुरुवात मात्र रहेको बताए।
सडकमा जताततै खाल्डोले दैनिक आवतजावत गर्ने यात्रुलाई समस्या हुने गरेपनि सरकारको ध्यान नगएकछि पैदल यात्रा निकालिएको यादवले बताए। उनले यसले सरकारले ध्यान नदिए शिघ्र प्रधानमन्त्री र मुख्यमन्त्रीलाई यहाँबाट संकलित हस्ताक्षर पठाउने बताए।
पुर्वमन्त्री यादवले यस सडकबाट पटकपटक नेता जनप्रतिनिधि जाने गरेपनि यसलाई पुरा गर्न ध्यान नदिनु दुखद रहेको बताए। सडक डिभिजन कार्यालय लहानले ०७९ असार २३ गते साह इन्जिनियरिङ प्रालिसँग २५ करोड ८८ लाख दुई हजार रुपैयाँमा दुई वर्षको म्याद राखेर ठेक्का सम्झौता गरेको थियो।
राजविराज–छिन्नमस्ता–न्योर बोर्डर सम्झौताअनुसार उक्त निर्माण कम्पनीले ०८१ असार ३० गतेसम्म यो सडक निर्माण पूरा गरिसक्नुपर्ने थियो। तर, हालसम्म ३० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयको तथ्यांक छ।
दसैँमा नेपाल र भारत दुवैतर्फबाट छिन्नमस्ता जोड्ने सडकमा भक्तजनको चाप बढ्ने गर्छ। सडक नबन्दा तीर्थालुहरू आउने क्रममा समेत प्रभाव पर्न सक्ने र उनीहरूलाई समस्या हुने देखिएको छ। दसैँको १० दिन यहाँ लाखौँको संख्यामा तीर्थालुहको भिड हुने गर्छ।