Skip This
राष्ट्रिय परिचयपत्र बनाउन चुलाचुलीवासीलाई सास्ती, इलाका प्रशासन कार्यालय दमकमा भिड
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
तस्बिर क्याप्सन : इलाका प्रशासन कार्यालय दमकको राष्ट्रिय परिचयपत्र बनाउने ठाउँमा नागरिकको भीड । तस्बिर : नयाँ पत्रिका । 
२o८२ श्रावण २६ सोमबार १६:५६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय परिचयपत्र बनाउन चुलाचुलीवासीलाई सास्ती, इलाका प्रशासन कार्यालय दमकमा भिड

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार १६:५६:oo

इलामको पश्चिम–दक्षिणी गाउँपालिका चुलाचुली क्षेत्रमा इलाका प्रशासन नहुँदा नागरिकले सास्ती व्यहोर्नु परेको छ ।प्रशासनको सामान्य काम हुँदा पनि झापा हुँदै इलाम सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । जसका लागि आर्थिक भार र समयसमेत लाग्ने गरेको छ ।

पछिल्लो समय सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि यसको मारमा चुलाचुलीबासी परेका हुन् । सामाजिक सुरक्षा भत्ताका लागि भत्ता कार्ड बनाउन तथा नवीकरण गर्नका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र आवश्यक पर्छ ।

अहिले सामाजिक सुरक्षा भत्ताका लागि धमाधम नवीकरण भइरहेको छ । यसका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र चाहिने भएपछि सामाजिक सुरक्षा भत्ता पाउने वृद्धवृद्धा, अपांगता भएका व्यक्ति तथा एक महिलाले सास्ती व्यहोर्नुपरेको हो । 

चुलाचुलीबासीलाई सदरमुकाम पुग्न धेरै समय लाग्ने र यातायात खर्च पनि धेरै हुने भएपछि अहिले उनीहरू झापाको दमकमा रहेको इलाका प्रशासन कार्यालय, दमकमा पुगेर राष्ट्रिय परिचय पत्र बनाइरहेका छन् ।

इलाका प्रशासन कार्यालयले पनि इलामको चुलाचुली, माङसेबुङलगायतका स्थानीयको राष्ट्रिय परिचयपत्र बनाइदिरहेको छ । यद्यपि इलाका प्रशासन कार्यालय दमकमा अहिले थेग्नै मुस्किल हुने गरी भिडभाड बढिरहेको छ ।

इलाका प्रशासन कार्यालय दमकका प्रमुख विश्वराज नेपालले पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको भीड बढेको बताए । उनका अनुसार दैनिक करिब दुई सय जना राष्ट्रिय परिचयपत्र बनाउन तथा लिनका लागि आउने गरेका छन् । त्यसमा पनि अधिकांश इलामको चुलाचुली, माङसेबुङ क्षेत्रका रहेको उनले बताए । ‘अहिले राष्ट्रिय परिचयपत्रका कारण इलाका प्रशासन कार्यालय दमकमा अत्यधिक भीड छ । अधिकांश चुलाचुलीबाट आएका छन् ।

राष्ट्रिय परिचयपत्रमा तीन जना कर्मचारी हुनुहुन्छ । उहाँहरूको भरमा हामीले काम गरिरहेका छन् । बेलुका अबेरसम्म बसेर पनि नागरिकलाई सेवा दिइरहेका छौँ,’ उनले भने, ‘मैले चुलाचुली गाउँपालिकाको अध्यक्षज्यूसँग पनि कुरा गरेको छु। गाउँपालिकामै राष्ट्रिय परिचयपत्रका लागि स्टेसन राख्न सके त्यहाँबाट नै नागरिकलाई सेवा दिन सकिन्थ्यो ।’

इलाका प्रशासन कार्यालय दमकमा भीडभाड धेरै हुँदा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्न जाँदा तीन दिनसम्म पालो पर्खनुपरकेको चुलाचुली–५ का स्थानीय विष्णुकुमार विश्वकर्माले बताए । ‘इलाम जिल्ला जान धेरै टाडा छ । दमक नजिकै छ । तर, यहाँ धेरै भीड हुँदा काम सक्न नै मुस्किल छ,’ उनले भने, ‘राष्ट्रिय परिचयपत्र बिना भत्ता नवीकरण नहुने भएपछि बनाउन गएको मेरो तीन दिन लाग्यो ।’

इलामको पश्चिमदक्षिणी क्षेत्रका लागि चुलाचुलीमा इलाका प्रशासन कार्यालय ल्याउने भनेर हरेक निर्वाचनमा मुद्दा उठ्ने गरेको छ । खासगरी ०८१ सालमा इलाम–२ मा भएको निर्वाचनमा अधिकांश उम्मेदवारले इलाका प्रशासन कार्यालय ल्याउने चुनावी एजेन्डा बनाएका थिए । तर, निर्वाचन सकिएपछि यो मुद्दा सेलायो । ‘भोट माग्न आउने नेताहरूले तपाईंहरूको सहजताका लागि हामी इलाका प्रशासन, मालपोत ल्याउँछौँ भन्छन् । तर, चुनाव सकिएपछि बिर्सन्छन्,’ विष्णुकुमार भन्छन्, ‘यहाँका लागि इलाका प्रशासन जरुरी छ ।

इलाम जानका लागि समय लाग्छ । खर्च पनि धेरै हुन्छ ।’ पछिल्लो समय सामाजिक सुरक्षा भत्ता अनिवार्य भएपछि चुलाचुलीबासीले सास्ती व्यहोर्नुपरेको चुलाचुली गाउँपालिका उपाध्यक्ष दिलकुमारी लिम्बू बताउँछिन् । ‘अहिले हाम्रा नागरिकले साह्रै धेरै झन्झट व्यहोर्नुपरेको छ ।

 इलाम सदरमुकाम जाँदा झापाबाट नै घुमेर जानुपर्छ । दिन माया मारेर जानुपर्छ । धेरै जसो अपांगता भएका नागरिक इलाम जान सक्ने अवस्थामा छैनन् । वृद्धवृद्धा गाडी चढ्न सक्दैनन् । वान्ता हुन्छ । औषधी खाने वृद्धवृद्धा छन् । केही विपन्नताका कारण खर्च गरेर इलाम सदरमुकामसम्म जान सक्ने अवस्था छैन ।  धेरै जसो यही कारण राष्ट्रिय परिचयपत्र बनाएका छैनन् ।

अब भत्ता कार्ड नवीकरण नहुँदा पनि समस्या आउने देखिन्छ,’ उनले भनिन्,‘अहिले दमकसँग समन्वय गरेर बनाइदिन भनेका छौँ । तर, भिडभाडले समस्या छ । जिल्ला प्रशासनसँग सन्वय गर्न खोजिरहेका छौँ । तर, भइरहेको छैन । हामीले यहाँ इलाका प्रशासनका लागि धेरै पहल गर्‍याैं । तर, संघीय सरकारले बेवास्ता गर्‍याे ।’ चुलाचुलीकै विकट भनेर चिनिने चुलाचुली–६ साकफाराका नागरिकलाई झन धेरै सास्ती भएको उनले बताइन् । त्यहाँका नागरिकलाई इलाका प्रशासन कार्यालय दमक आउन एक दिन र इलाम सदरमुकाममा काम सकेर फर्कन तीन दिन लाग्ने उपाध्यक्ष लिम्बू बताउँछिन् ।