Skip This
विपिन अपहरणमा परेको ठाउँमा जे देखियो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २४ शनिबार
  • Saturday, 09 August, 2025
पर्शुराम काफ्ले जेरुसेलम (इजरायल)
२o८२ श्रावण २४ शनिबार o७:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विपिन अपहरणमा परेको ठाउँमा जे देखियो

परिवार सोमबार आउँदै, सांसदसहितको टोली इजरायलमा, परराष्ट्रमन्त्री राणालाई भ्रमणको निम्तो

Read Time : > 1 मिनेट
पर्शुराम काफ्ले, जेरुसेलम (इजरायल)
नयाँ पत्रिका
२o८२ श्रावण २४ शनिबार o७:१२:oo

यही सेफहाउसबाट विपिन अपहरणमा परेका थिए

२३ असोज ०८० (७ अक्टोबर २०२३)मा हमास समूहको अपहरणपछि प्यालेस्टाइनको गाजामा बन्धक बनाइएको विश्वास गरिएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई इजरायल सरकारले सोमबार ल्याउने भएको छ । विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी दश दिनका लागि इजरायल सरकारको व्यवस्थापनमा आउन लागेका छन् । उनीहरू आउनुपूर्व कञ्चनपुरका सांसद तारा लामा तामाङसहितको टोली शुक्रबार बिहान इजरायलको जेरुसेलम आइपुगेको छ । 

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिनका परिवार इजरायल सरकारको निमन्त्रणामा सोमबार आउन लागेको जानकारी दिएका छन् । दश दिन इजरायल रहँदा उनीहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायत उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ । उनीहरूलाई इजरायल सरकारले विपिन अपहरणमा परेको गाजापट्टीछेउको आलुमिम क्षेत्रमा पनि लैजाने भएको छ । 

राजदूत पण्डितले नयाँ पत्रिकासँग भने, ‘सोमबार उहाँहरू इजरायल आउँदै हुनुहुन्छ । पीडितका परिवारका रूपमा उहाँहरूलाई इजरायल सरकारले निमन्त्रणा दिएर बोलाउनु स्वाभाविक हो ।’ इजरायल सरकारले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई औपचारिक भ्रमणको निमन्त्रणा दिएको छ । तर, जोशीको अवस्था यकिन नभएसम्म र गाजापट्टीमा युद्धको अवस्था रहेसम्म भ्रमण नहुने नेपालका तर्फबाट कूटनीतिक जवाफ दिइएको छ । नेपाली राजदूत पण्डितले भने, ‘मन्त्रीजीलाई निमन्त्रणा आएको छ । तर, तत्काल उहाँको भ्रमण हुने सम्भावना नहोला ।’

२३ असोज ०८० मा हमास समूहको हमलामा १० नेपालीले ज्यान गुमाएका थिए भने विपिनलाई आलुमिम किबुज (कम्युन)बाट अपहरण गरेर एक हजार आठ सय मिटर दक्षिणतिर हमास नियन्त्रित गाजापट्टी लगेका थिए । उनी अझै हमास समूहको कब्जामा रहेको इजरायली अधिकारीहरूको विश्वास छ । तर, अपहरणपछिको अवस्थाबारे इजरायल सरकारले जानकारी पाउन नसकेको विदेश मन्त्रालयका अधिकारीहरूले बताएका छन् । 

अपहरणस्थलमा यस्तो देखियो ...
हमासको आतंककारी हमलामा १० नेपालीले ज्यान गुमाएको र विपिन अपहरणमा परेको दक्षिणी इजरायलको आलुमिममा बुधबार पुग्दा चकमन्न थियो । घरहरू उजाड र सुनसान थिए । एउटा गाई फारम थियो र त्यस दिन घाइतेहरूलाई अस्पताल लिएर गएका एम्बुलेन्सचालक थिए । एम्बुलेन्सचालक खायामले घाइते नेपालीलाई अस्पताल लगेका थिए । खायामले भने, ‘१० जना इमानदार नेपाली भाइहरू मारिए । हामीले बचाउन सकेनौँ । यसमा साहै्र दु:खी छौँ । विपिन भाइलाई हामीले हिरो मानेका छौँ, जसले ग्रिनेट फालेर साथीहरूलाई बचाउन खोजे, तर आफैँ अपहरणमा परे ।’ 

विपिनलाई त्यही दिन गाजाको अस्पतालमा लगिएको भिडियोबाहेक जोशीको अवस्थाबारे कोही जानकार छैनन् । नेपाली राजदूत धनप्रसाद पण्डितले सुनाए, ‘विपिनको अवस्थाबारे इजरायलको डिफेन्स फोर्सलगायत कसैलाई ज्ञात छैन । हमासले पनि भनेको छैन । केबल आशा मात्रै बाँकी छ ।’ दुई वर्षअघि हमासको आक्रमणमा १२ सय मानिस मारिएका थिए । सीमावर्ती आलुमिम र निर ओज क्षेत्रका बस्ती खाली छन् । मानिस खाली भएका घरमा, चोकमा मारिएका र बेपत्ता भएका मानिसको तस्बिर मात्रै भेटिन्छन् । 

स्थानीय इफ्ताख कोहेनले भने, ‘यहाँ कस्तो राम्रो सहयोगी परिवेश थियो । एकै दिनमा सबै उजाड भयो ।’ निर ओजमा बस्दै आएका र आक्रमणपछि बाहिर सरेका खोटाङका विजय राईले अझै त्यहाँ बस्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘हामी मुस्किलले बच्यौँ । त्यस दिनयता मैले कृषि कर्म गरेको छैन । म सम्हालिनै सकेको छैन ।’