Skip This
धार्मिक अनुष्ठानको बदलिँदो अनुहार
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
सञ्जीव कार्की
२o८२ श्रावण २२ बिहीबार o९:२३:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

धार्मिक अनुष्ठानको बदलिँदो अनुहार

Read Time : > 4 मिनेट
सञ्जीव कार्की
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार o९:२३:oo
  • धार्मिक अनुष्ठानले वर्गीय न्याय, लैंगिक समानता, दलित मुक्ति, श्रमको सम्मान, पर्यावरणीय चेतनाजस्ता मूल्यलाई आत्मसात् गर्न सक्नुपर्छ 

कुनै समय धर्म विशुद्ध आस्था आत्मचिन्तन र सेवाभावको पर्याय थियो । धर्मको मूल उद्देश्य हो आत्मशुद्धि, सत्यको खोज र सामाजिक सुसंस्कारको विकास । आजको युगमा धर्म नामको यो पवित्र भावना व्यापार, प्रचार र रमाइलोको बजारमा बिक्री हुने वस्तुमा परिणत हुँदै छ । आजका धार्मिक अनुष्ठान, धर्मकथा, प्रवचन र पूजाआजाजस्ता विधि व्यापारिक कार्यक्रम, भिड तान्ने साधन र युट्युबको ‘भ्युज’ बटुल्ने सामग्रीमा बदलिएका छन् । नेपाल र भारतका अनेक उदाहरणले यसलाई पुष्टि पनि गर्छन् । धर्म अब टेलिभिजन, स्टेज सो, पाण्डाल र पर्सनल ब्रान्डिङको माध्यम बनेको छ, जहाँ कथा होइन, नाटकीय प्रस्तुति बिक्छ । धर्मकथाका नाममा बढ्दो मनोरञ्जन, व्यापारिक उद्योग र प्रयोजन धर्मको प्रकृतिविरुद्ध छ । धार्मिक अनुष्ठानलाई ‘आधुनिक सर्कस’ बनाउने अहिलेको अभ्यासले धार्मिक चेतनाको पतन गराइरहेको छ ।

धर्म केवल आस्था र आध्यात्मिकताको विषय रहेन, यो विशाल व्यापारिक नाफा सुनिश्चित भएको उद्योग, रमाइलो सञ्जाल र राजनीतिक अस्त्र बन्न पुगेको छ । नेपाल र भारतमा खासगरी धार्मिक प्रवचन, कथावाचन र धार्मिक अनुष्ठान एउटा मनोरञ्जनात्मक सोमा रूपान्तरण हुँदै छन्, जहाँ धर्मको गाम्भीर्यभन्दा बढी ‘रामरमाइलो’लाई प्राथमिकतामा राखेको पाइन्छ । पछिल्लो समयमा अधिकांश धर्मका धार्मिक क्रियाकलापमा यस्तै अवस्था देखिन्छ । धार्मिक र आध्यात्मिक चेतना प्रवद्र्धनको सट्टा अर्थोपार्जनको विधि बढी बनाइएको छ । यो प्रवृत्तिले केवल धर्मको मूल उद्देश्यमा मात्र क्षति पुर्‍याइरहेको छैन, धार्मिक आस्थामाथि नै गहिरो चोट पुर्‍याउने सम्भावनासमेत रहेको छ । सामाजिक चेतनामा पनि भ्रम र विकृति निम्त्याइरहेको छ । धर्ममार्फत समाज परिवर्तनको चेतना जागृत गरेर समाजलाई न्यायिक नैतिक र नियामक बनाउनुपर्नेमा अन्धविश्वासी, अज्ञानी र अवैज्ञानिक बाटोमा रहिरहन उत्प्रेरित गरेको पाइन्छ ।

धर्मकथा कि स्टेज सो : भारतमा सन्त, कथावाचक र धर्मगुरुहरूका नाममा विशाल मञ्चहरू सजाइन्छन् । भव्य पण्डाल, स्टेज लाइट, फुलको वर्षा, हाई–डेफिनिसन स्क्रिन र साउन्ड इफेक्टसका साथमा प्रस्तुत गरिने कथा, प्रवचन वा आरती अब धार्मिक कर्म होइन, एक किसिमको मनोरञ्जनात्मक कार्यक्रमजस्तै बनेको छ । नेपालमा पनि यही ट्रेन्ड छिर्दै छ । पशुपति क्षेत्र, चन्द्रागिरि वा मधेशका सहरमा हुने कथावाचन कार्यक्रममा कथावाचकलाई स्टारझैँ व्यवहार गरिन्छ । सम्भाषणभन्दा बढी उनीहरूको पहिरन, प्रस्तुति शैली र हाउभाउमा ‘स्टारडम’ हाबी देखिन्छ । यसले सामाजिक विकृतिको बढोत्तरी गर्ने खतरा रहन्छ ।

धर्मका नाममा व्यापार : धर्म सामाजिक सेवा भाव र सामाजिक रचनात्मक कार्यका लागि हुनुपर्छ । जुनसुकै धर्मको उद्देश्य पनि यही हो । तर, आजभोलि धर्मको व्यापार गर्न थालिएको छ । स्वाभाविक आस्थामाथि अस्वाभाविक लिपपोत गरी आकर्षण थप्ने गरिन्छ, जुन सरासर गलत छ ।  धार्मिक प्रवचनजस्ता कार्यक्रममा कथावाचकलाई दिने दक्षिणा लाखौँमा हुन्छ, कथासुनुवा ‘भक्तजन’बाट यज्ञदान, महादान, श्रीफल, जाज्ज्वल्यमान सिंहासनका नाममा पैसा उठाइन्छ । आयोजकले टिकट, सिट आरक्षण, प्रायोजक र चन्दा उठाएर लाखौँ–करोडौँ संकलन गर्छन् । तर, यसको पारदर्शिता हुँदैन । अपारदर्शी हुनु र अनावश्यक फजुल खर्च गरेर भक्तजन बटुल्नु अनि मनोवैज्ञानिक थ्रेट र प्रेसर बढाएर दानका नाममा असुली गर्नुले विशुद्ध धार्मिक दान र उपहारको ओज घटाएको छ । दानको भौतिक मूल्य बढाए पनि त्यसको सर्वस्वीकार्यता र सामाजिक मूल्यमा गिरावट आएको छ । हुनेले दान दिनु र दान कल्याणकारी कर्ममा विश्वसनीय ढंगले खर्चिनु सामान्य विषय हो । तर, हिजोआज जे र जुन किसिमको धन्दा चलेको छ, त्यो निश्चय नै अवाञ्छित छ । धार्मिक कथा र प्रवचन भव्य कार्यक्रम बनेपछि त्यसमा व्यापारीकरण अनिवार्यझैँ भएको छ । कथा आयोजक र कथावाचकबिच हुने ‘प्याकेज डिल’ले आध्यात्मिकता होइन, प्रबन्धन र प्रचारलाई केन्द्रमा राख्छ ।

धर्मको मर्यादामा विचलन : धर्मको मूल सन्देश आत्मशुद्धि, आचरण सुधार र मानवताका लागि जीवनयापन गर्नु हो । तर, जब प्रवचन स्टेज सो बन्छ, त्यसले व्यक्तिको ‘आन्तरिक अनुशासन’भन्दा ‘बाह्य प्रदर्शन’मा जोड दिन थाल्छ । वरणमा भन्दा आवरणमा धर्म देखिन थाल्छ । अहिलेको प्रवृत्तिमा कथावाचकले राजनीतिक दल, जातीय भावना वा व्यक्तिगत ब्रान्डिङमा ध्यान केन्द्रित गर्न थालेका छन् । यसले धार्मिक वाचनलाई ‘ट्रिगर’ र ‘ट्रेन्डिङ’ बनाउने उद्देश्यले प्रयोग गरिन्छ, न कि मानिसलाई आध्यात्मिक रूपमा उकास्ने उद्देश्यले, तसर्थ यो प्रवृत्तिमाथि बहसको खाँचो छ ।

केही आलोचित उदाहरण : भारतमा भव्य कथावाचक ‘स्वामी’हरू आसाराम बापु, राम रहिम, नित्यानन्दजस्ता व्यक्तिले धार्मिक प्रचारका नाममा हजारौँ करोडको सम्पत्ति जोड्न सफल भए । तर, पछि यौन दुव्र्यवहार र आपराधिक अभियोगमा कारागार पुगे ।

भारतमा ‘कथावाचक’हरू स्टारझैँ प्रस्तुत हुन्छन् । केही चर्चित नामहरू, पं. प्रदीप मिश्रा, जया किशोरी, देवकीनन्दन ठाकुर, धीरेन्द्र शास्त्री (बागेश्वर धाम) आदि कथावाचकका कथा कार्यक्रममा १० देखि ५० लाख दर्शकसम्म भेला गरिन्छ । राम रहिम (डेरा सच्चा सौदा) ले धर्मका नाममा अर्बौं कमाइ गरे, टेलिभिजन च्यानल, फिल्म बनाए । आशाराम बापुले ‘सत्सङ’, कथा, ध्यान शिविरका नाममा हजारौँ करोडको सम्पत्ति संकलन गरे, अहिले जेलमा छन् । बागेश्वर धाम (धीरेन्द्र शास्त्री) चमत्कारका नाममा प्रचारित कथा र दरबार शैलीको कार्यक्रमको टिकट, चन्दा र दक्षिणाबाट करोडौँ संकलन गर्छन् । यिनको प्रवृत्तिमाथि पनि प्रश्न उठिरहेकै हुन्छ ।

कथावाचनको प्रतिस्पर्धा : नेपालका केही कथावाचक गाउँदेखि राजधानीसम्म कथा सुनाउँदै हिँड्छन् । पछिल्ला दिनमा युट्युबमा भ्युज बढाउने होडले धार्मिक कथालाई नाटकीय बनाउँदै लगिएको छ । केही कथावाचक प्रवचन कार्यक्रममा ‘हँसाउने’, ‘रुवाउने’ शृंखलाबद्ध भावनात्मक अभिनय गर्छन् । जसले धर्मभन्दा मनोरञ्जनमा श्रोताको मन बहकिन्छ र अनेक दुर्घटनासमेत निम्तिने खतरा रहन्छ । कथावाचकहरू प्रत्येक गाउँ, सहर, विदेशसम्म कथा सुनाएर लाखौा कमाउँछन् । ‘श्रद्धा’का नाममा सुनचाँदीको सिंहासन, मोटर गाडी, मोबाइल, महँगा गहना उपहार दिने प्रवृत्ति पनि बढेको छ । ‘दर्शनदाता’हरूलाई कथा सकिएपछि कथावाचकका खुट्टा छुने र प्रसादस्वरूप पैसा, कपडा चढाउने गरिन्छ । जसले ‘गुरु संस्कृति’लाई झनै भौतिक बनाउँदै छ ।

धार्मिक चेतनाको संकीर्णीकरण : धर्मको नाममा हुने व्यवसायीकरणले अन्धविश्वास फैलाउँछ । सामाजिक समानता र वैज्ञानिक सोचमा बाधा पुर्‍याउँछ । जनता र राज्यबिचको उत्तरदायित्वको भावना कमजोर पार्छ । धर्मको नाममा वर्गीय, जातीय र लैंगिक विभाजनलाई उचाल्छ ।

धार्मिक मर्यादाको उल्लंघन : धर्मले ज्ञान, विवेक, सहिष्णुता र आत्मअनुशासन सिकाउने हो । तर, अहिलेका प्रवचनमा सामाजिक तथा नैतिक रूपमा अस्वीकार्य टिप्पणीसमेत यदाकदा सुनिन्छन् । कथावाचनमा रुवाउने, चिच्याउने, बेहाल बनाउने अभिनय देखाइन्छ । जुन वास्तविक धार्मिक अनुभूति होइन, भावनात्मक शोषण हो । केही कथावाचक प्रवचनकै बिचमा व्यक्तिलाई उठाएर ‘चमत्कार’ देखाउने नाटकसमेत गर्छन् । धर्मकथाले विज्ञान, तर्क, विवेक, न्यायजस्ता मूल्यको विरोध गर्छ भने त्यो आध्यात्मिक होइन, प्रतिगामी अभ्यास हो । धर्मले अब गरिबको दु:ख कम गर्नुको सट्टा धनीको आरती गर्ने काम गर्न थालेको छ ।

उपेक्षा गरिएका विषय : धार्मिक कथामा दलन, जातीय छुवाछुत र विभेद, नारी उत्पीडन, छाउ, बोक्सी दहेज, श्रमिक जीवन, जनताको संघर्ष, आधुनिक शिक्षा, वैज्ञानिक चेतनाजस्ता यथार्थ विषयबारे चर्चा कम गरिन्छन् ।  चर्चा गरे पनि राहत दिन होइन, आहत गराउन गरिन्छ । धर्मले समाज सुधार्न सक्छ, तर जब धर्म नै थिएटर बन्छ, त्यसको प्रभाव भने ‘रिभर्स गियर’मा जाने पक्कापक्की हुन्छ । कथावाचकको भजनमा आज दलित मुद्दा, वर्ग संघर्ष, महिला समानता, श्रम सम्मान, वातावरण संरक्षणजस्ता प्रश्न गुमनाम छन् ।

अन्त्यमा : धर्मलाई आत्मपरीक्षण गरौँ । धर्मको मूल उद्देश्य सम्झौँ । सत्यको खोज, जीवनको अनुशासन र समाज सुधारको मूल भावनालाई पुनस्र्थापित गर्न हामी सबैले भूमिका निर्वाह गर्न जरुरी छ ।

वैकल्पिक दृष्टिकोणसहित धर्मलाई पुन: मर्यादित बनाउन जरुरी छ । त्यसका लागि कथावाचनलाई नाटक र प्रदर्शन होइन, संवाद र दर्शन बनाउनुपर्छ । कथावाचकले भव्यताको होइन, विषयवस्तु र सन्देशको गाम्भीर्यमा ध्यान दिनुपर्छ । धार्मिक कार्यक्रम आर्थिक पारदर्शिता, सार्वजनिक प्रतिवेदन र उद्देश्यगत मूल्यांकनका साथ सञ्चालन हुनुपर्छ । धार्मिक अनुष्ठानले वर्गीय न्याय, लैंगिक समानता, दलित मुक्ति, श्रमको सम्मान, पर्यावरणीय चेतनाजस्ता मूल्यलाई आत्मसात् गर्नुपर्छ । धर्म क्षणिक रमाइलोका लागि होइन, आत्मगहनता र समाज सेवाका लागि हो । धार्मिक कथावाचन भनेको केवल सात दिनको कार्यक्रम होइन । त्यो आमअनुयायीको जीवनपथ हो । कथावाचकको भूमिका आध्यात्मिक शिक्षकको हुनुपर्छ, ‘सेलिब्रेटी’को होइन । धर्मलाई ‘मार्केट’को सामान बनाउन नदिन चेतनशील नागरिकको भूमिका अत्यन्तै जरुरी छ । श्रोताले पनि अब चेतना राख्नुपर्छ । श्रोताले कथा सुन्दा प्रश्न गर्नुपर्छ र कथावाचकले प्रश्नकर्ताको जिज्ञासा शान्त पार्नु पनि पर्छ ।

यो कथाले मेरो जीवनमा कस्तो परिवर्तन ल्याउँछ ? यो कार्यक्रम धर्मका नाउँमा व्यापार त होइन ? हामी श्रद्धा गरिरहेका छौँ कि मूर्खता ? हामी कथा सुनिरहेका छौँ कि व्यापारमा सहभागी भइरहेका छौँ ? यस्ता प्रश्नको उत्तर हामी स्वयंले पनि खोज्न सक्नुपर्छ । 

धार्मिक अनुष्ठानलाई ‘रिलिजियस इन्टरटेन्मेन्ट’ होइन, जीवनको सार्थकता र प्राणीहितका लागि समाजसँग जोडेर सामाजिक रूपान्तरणको औजार बनाउनु आजको खाँचो हो ।