
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्न सक्नुपर्ने बताएका छन्। रिटर्नी फेडेरेसन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’को शुभारम्भ गर्दै देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने बताए।
‘म बनाउँछु मेरो देश’ भन्ने भावनाका साथ लाग्ने हो भने नेपाललाई समृद्ध मुलुक बनाउन सकिने उनको भनाइ छ । महासचिव पोखरेलले परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध नहुने र परम्परागत ढाँचाले मात्रअघि बढ्दा फेरि अभावकै दुष्चक्रमा फस्नुपर्ने बताए।
‘अर्थतन्त्रमा निर्वाहमुखी, पारिवारिक उत्पादनमुखी, गुजारामुखी ढाँचाको रहेको छ । औद्योगिक क्षेत्र पनि कर्पोरेट कल्चरमा ढालिएकै छैन। कम्पनी पारिवारिक कम्पनीकै ढाँचामा छन्,’ उनले भने, ‘कम्पनी साँच्चै पब्लिक बन्न सकेका छैनन्।’
महासचिव पोखरेलले नेपाल चर्चा गरिएकोजस्तो गरिब मुलुक नभएको उल्लेख गर्दै नेपालको सामर्थ्य के छ भन्ने कुरा नेपालीले बुझ्न नसकेका बताए। महासचिव पोखरेलले नेपाल भित्रिने रेमिट्यान्सको अधिकांश हिस्सा नेपाल आएर काम गर्ने भारतीय कामदारले नै लैजाने गरेका बताए।
फेडेरेसनका अध्यक्ष विनोद भट्टराईले विदेशबाट फर्केकालाई लगानीको वातावरण सुनिश्चित गर्नुपर्ने बताए।