
वैदेशिक रोजगारीको बहानामा भारत पुर्याइएका सात नेपाली किशोरीलाई सीमावर्ती पानीटंकी नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पुर्याउने दुई पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताए।उनका अनुसार शुक्रबार भारतीय प्रहरीले उद्धार गरेको थियो । उद्धारपछि सातै जना किशोरी र अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ। उद्धार गरिएका किशोरी सङ्खुवासभा जिल्लाको रहेको जनाइएको छ ।
किशोरीलाई भारत पुर्याउने अभियुक्तमध्ये एक जना भारतको दार्जिलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ रहेका छन् भने अर्का सङ्खुवासभाको मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन् । अभियुक्तले वैदेशिक रोजगारका लागि हङकङ लैजाने भनेर उनीहरुलाई नेपालको पूर्वीनाका काँकडभिट्टा हुँदै सीमावर्ती भारतीय पानीटंकी नाका पुर्याएका थिए । किशोरीहरुको आधार कार्डलगायत नक्कली कागजात बनाउन सिलिगुढी लैजान लागेका बेला भारतीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
नेपाली किशोरीलाई नेपाल ल्याउन माइती नेपालका संयोजक घिमिरेसहितको टोली शुक्रबार नै पानीटंकी पुगेको थियो । तर, कानुनी प्रक्रिया मिलाउनुपर्ने कारण देखाएर भारतीय प्रहरीले उनीहरुलाई खोरीबारी प्रहरी थानामै राखेको उनले जानकारी दिए। उक्त घटनाबारे भारतीय प्रहरीबाट कुनै जानकारी प्राप्त नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।