
नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा दुई देशका शीर्ष नेताबिच शुभकामना सन्देश आदानप्रदान भएको छ । दुई देशबिच १ अगस्ट १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले चीनका समकक्षी सी जिनपिङलाई पठाएको सन्देशमा दुई देशबिचको सम्बन्ध आपसी विश्वास, सार्वभौम समानता र शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले दुवै मुलुकबिच शान्ति, प्रगति र समृद्धिको साझा दृष्टिकोण साकार पार्न मिलेर काम गर्न इच्छुक रहेको जनाएका छन् । आपसी सहयोगलाई अझ प्रगाढ बनाउने, समन्वय विस्तार गर्ने र विविध क्षेत्रमा सहकार्य सुदृढ गर्ने आवश्यकतामा उनको जोड छ ।
चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति पौडेललाई पठाएको सन्देशमा चीन–नेपालबिच हिमाल र नदीद्वारा जोडिएको पुरानो र घनिष्ठ सम्बन्ध रहेको तथा दुई देश सधैँ परस्पर सम्मान, समान व्यवहार र द्विपक्षीय सहकार्यमा आधारित सम्बन्धका आदर्श उदाहरण भएको उल्लेख छ । दुई देशबिच सम्बन्ध थप मजबुत बन्दै गएको पनि सीले उल्लेख गरेका छन् । उनले राजनीतिक विश्वास बढेको, बिआरआईमा सहकार्य भएको र रणनीतिक साझेदारी प्रगाढ हुँदै भन्दै भविष्यमा परम्परागत मित्रतालाई अगाडि बढाउने, सबै क्षेत्रमा सहकार्य प्रवद्र्धन गर्ने कार्यले दुवै देशका जनतालाई लाभ दिने बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङलाई सन्देश पठाएका छन् । ओलीलाई लीले पनि सन्देश पठाएका छन् भने सीले पठाएका छैनन् । ओलीले नेपाल–चीन सम्बन्ध सात दशकदेखि समस्यारहित रहेको उल्लेख गर्दै नेपाल एक चीन सिद्धान्तमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । चीनले सधैँ नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रतालाई सम्मान गरेको ओलीको सन्देश छ ।
दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्षका अवसरमा काठमाडौंस्थित चिनियाँ दूतावासमा आयोजित समारोहमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका छन् । उनले बितेका दशकमा, नेपाल–चीन सम्बन्ध आपसी विश्वासमा आधारित हुँदै अझ सुदृढ र गहिरो बनेको बताए । ‘चीन हाम्रो नजिकको छिमेकी मात्र होइन, विश्वसनीय विकास साझेदार पनि हो,’ प्रधानमन्त्रीले भने, ‘यस दीर्घकालीन र समयले परीक्षित मित्रतालाई हामी अत्यन्तै महत्व दिन्छौँ ।’