
विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले विपत् व्यवस्थापनका लागि आपसी सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आज आयोजित अन्तर्क्रियामा सहभागीहरूले विपत् व्यवस्थापन कार्यमा सुरक्षा निकायसँगको सहकार्य र समन्वय बढाउनुपर्ने बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश सभाका सांसद एवं एमाले विपत् व्यवस्थापन विभाग प्रमुख डा. राजेन्द्रमान श्रेष्ठले नेपाल विपतकाे उच्च जोखिममा रहेको जनाउँदै विपतसम्बन्धी सचेतना कार्यक्रमलाई योजनाबद्ध रूपमा विस्तार गर्दै जानुपर्नेमा जोड दिए । उनले क्षति न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा पूर्वतयारी जरुरी रहेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका बागमती प्रदेश सभाका सदस्य एवं राप्रपाका विपत् व्यवस्थापन विभाग प्रमुख उद्धव थापाले विपत् उद्धारमा सशस्त्र प्रहरी बल नेपालले देखाएको उच्च साहसले आमजनतामा विश्वासको वातावरण बनाएको उल्लेख गरे ।
जनताले सशस्त्र प्रहरी बलको उच्च मूल्यांकन गरिरहेकाे बताउँदै उनले विपत् उद्धारमा सुरक्षा निकाय तथा राजनीतिक दलको संयुक्त प्रयास आवश्यक पर्ने बताए ।
नेपाली कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले विपत् न्यूनीकरणका लागि समुदायस्तरमा दिइने स्वयंसेवकसम्बन्धी तालिम प्रभावकारी हुने बताउँदै स्थानीय तहमा साना दराजमा विपतका प्राथमिक सामग्री राख्नुपर्ने आवश्यकता औँल्याए । उनले प्रत्येक वडामा कम्तीमा एक सय जनशक्तिलाई विपत् व्यवस्थापन तालिम दिन आवश्यक रहेको बताए ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका वातावरण विभाग प्रमुख खिमलाल भट्टराईले विपतमा पूर्वसूचना महत्त्वपूर्ण हुने भएकाले पूर्वजानकारी दिन सकेमा जनधनको क्षति न्यूनीकरण गर्न सकिने धारणा राखे ।
विपतसम्बन्धी पूर्वसूचनामा केन्द्रित हुन जरुरी रहेको बताउँदै उनले विपतपछि उद्धार कार्यमा पहिलो उद्धारक स्थानीय व्यक्तिको भूमिका महत्त्वपूर्ण हुने भएकाले स्थानीयस्तरमा स्वयंसेवक उत्पादनका लागि सशस्त्र प्रहरी बल नेपालले गरेको कार्य स्वागतयोग्य रहेको बताए ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वातावरण विभागका नारायण काफ्लेले विपत् व्यवस्थापन जोखिम न्यूनीकरण तथा रोकथामका लागि स्थानीय संरचना बलियो बनाउन जरुरी रहेकामा जोड दिए । उनले सुरक्षाकर्मीलाई थप आवश्यक उपकरण उपलब्ध गराई उच्च मनोबलका साथ अझ प्रभावकारी रूपमा परिचालन गर्न सकिने धारणा राखे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विपत् व्यवस्थापन विभाग प्रमुख विष्णुकुमार श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद सशस्त्र प्रहरी बलले गरेको उद्धार कार्य प्रशंसनीय रहेको बताए । जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले न्यूनतम स्रोतसाधनका बाबजुद पनि उच्च मनोबलले उद्धार कार्य प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
जसपा नेपालका माधवप्रसाद देवले प्राकृतिक प्रकोप घटना न्यूनीकरणका लागि नीतिगत सुधारको जरुरी रहेको बताउँदै अव्यवस्थित विकास निर्माणलाई व्यवस्थित गर्नुपर्ने तथा मानवीय विकासले विनाश निम्त्याएकोतर्फ सचेत हुन जरुरी रहेको उल्लेख गरे ।
लोकतान्त्रिक समाजवादी पार्टीका वातावरण विभाग प्रमुख लक्ष्मणलाल कर्णले हिमालमा हिमपहिरो, पहाडमा पहिरो तथा बाढी र मधेशमा सुक्खा तथा खानेपानीको अभावजस्ता विपत् आइपर्ने भएकाले ठाउँअनुसार तयारी जरुरी रहेको बताए ।
सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले समुदायलाई सचेत बनाउँदै उद्धार कार्यमा सहभागी गराउँदा विपत् जोखिम न्यूनीकरण प्रभावकारी हुने उल्लेख गरे । उनले समुदायसँगको समन्वय तथा सहकार्यमा विपत् जोखिम न्यूनीकरण गर्न सकिने बताउँदै विपतबाट हुने जनधनको क्षति कम गर्न राजनीतिक दलको भूमिका समुदायस्तरमा समन्वयात्मक बनाउँदै लैजानुपर्ने बताए ।
सशस्त्रको कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले स्थानीय तहसँग समन्वय गरेर विपत् व्यवस्थापन कार्य गरिरहेको जनाउँदै समुदायलाई सचेत गराउने कार्यमा राजनीतिक दलसँगको समन्वय र सहकार्य पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले विपत् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरी बल नेपालको क्षमता, हाल उपलब्ध साधन स्रोत, जनशक्ति तथा विभिन्न घटनामा गरिएका उद्धारबारे प्रस्तुतीकरण दिएका थिए ।