मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format o९:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई हप्तासम्म पनि स्वीकृत भएन ‘मेसु’को राजीनामा  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२७:oo

लुम्बिनी प्रदेश सरकारअन्तर्गत रहेको दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले राजीनामा दिएको दुई हप्ताभन्दा बढी भइसकेको छ। ३० असारमा मेसु अधिकारीले राजीनामा दिएका हुन्। तर, त्यो राजीनामा कुनै पनि सुनुवाइ भएको छैन। राजीनामा दिइसकेपछि मेसु अधिकारीलाई काम गर्ने जाँगर पनि छैन। यस्तो अवस्थामा तत्काल नयाँ मेसु नियुक्ति गरेर पठाउनुपर्ने उनको भनाइ छ। ‘काम गर्ने सहज वातावरण नभएपछि नै मैले राजीनामा दिएँ,’ उनले भने, ‘तर, अहिले त्यही राजीनामा पनि स्वीकृत भएको छैन, काम गर्ने वातावरण भए त राजीनामा नै दिनुर्दैनथ्याे नि ! ’ 

उनले लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई राजीनामा बुझाएका हुन्। तर, राजीनामा आउँदैमा स्वीकृत नभइहाल्ने प्रमुख सचिव अधिकारीको भनाइ छ । उनका अनुसार राजीनामा स्वीकृत नहुँदासम्म पुरानै मेसुले काम गरिरहेकोसमेत बताए। ‘राजीनामा आएको छ, तर, उहाँको राजीनामा स्वीकृत भएको छैन,’ उनले भने, ‘अर्को मेसु तोक्ने तयारी छ, तर, अर्को नआउँदासम्म उहाँले नै काम गर्नुुहुन्छ ।’
 
मेसु तोक्नका लागि सर्वोच्च अदालतले मापदण्ड बनाउन आदेश गरेको भन्दै सोहीअनुसार प्रदेश स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाउने काम गरिरहेको उनले बताए। उनका अनुसार कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यो कार्यविधि मन्त्रिपरिषद् बैठकबाट पारित भएपछि मात्रै नयाँ मेसु पठाइने उनको भनाइ छ । त्यसका लागि केही समय लाग्ने उनले बताए । 

मेसु अधिकारीले अस्पतालको हाताभित्र रहेका १६ वटा सटरहरूको टेन्डर गर्न खोजेका थिए । त्यहीअनुसार अस्पताल विकास समितिले निर्णय पनि गरेको थियो । दुई वर्षअघि पदमप्रसाद न्यौपाने अध्यक्ष हुँदा नै टेन्डर गर्ने भनी निर्णय भएको थियो । तत्कालीन अवस्थामा त्यो निर्णय कार्यान्वयन भएन । केही समयअघि अध्यक्ष भएर आएका महेन्द्र लामिछानेले पनि यो निर्णय गराए। तर, न्यौपानेलाई नै अध्यक्ष कायम गर्न अदालतले आदेश गरेपछि उनी पुनः आए । उनी आए पनि त्यो निर्णय कार्यान्वयन भएन। मेसु अधिकारीका अनुसार असार मसान्तमा सटरहरूको सम्झौता सकिसकेको छ।  सोहीअनुसार २३ असारमा सटरवालाहरूलाई छोड्नका लागि चिठी पनि पठाइसकिएको थियो। तर, त्यसअनुसार पुनः टेन्डर गर्न मेसु अधिकारीलाई अवरोध भयो। पुरानै सम्झौतालाई नवीकरण गरिदिने गरी चलखेल सुरु भएको र हालका मेसुलाई नै हटाउने गरी तयारी गरेपछि अधिकारी आफैँले राजीनामा बुझाएका हुन् । 

अर्कोतर्फ अस्पताल फार्मेसी सेवा निर्देशिकाअनुसार अस्पतालपरिसरमा बाहिरका फार्मेसी राख्न मिल्दैन। तर, अस्पतालको हाताभित्रै साझा फार्मेसी छ। त्यसलाई हटाउने पनि निर्णय भयो। तर, त्यसलाई पनि हटाउन आनाकानी भएको छ। साझालाई हटाएर आफ्नै फार्मेसी विस्तार गर्ने गरी आफूले तयारी गरेको भए पनि सफल नभएको मेसु अधिकारीले बताए। उनका अनुसार प्रदेशले मेडिकल अफिसर र नर्सिङ कर्मचारीको आवेदन लिए पनि आफ्ना मान्छे राख्नकै लागि अन्तर्वार्ता नै स्थगित गरेको, आफ्ना कर्मचारी राख्न पनि दबाब दिने गरिएको थियो । 

अस्पताल विकास समितिका अध्यक्ष पदमराज न्यौपानेका अनुसार टेन्डरको विषय पेचिलो भएकाले पनि राजीनामा आएको हुन सक्ने बताए। ‘निर्णय नै भइसकेको विषय भएकाले पछाडि हट्न पनि नसकिने भयो,’ उनले भने, ‘अगाडि बढ्दा पनि अवरोध धेरै हुने भयो, त्यसलाई पनि थेग्न गाह्रो भयो होला।’ अहिल्यै साझालाई हटाएमा अस्पतालले औषधि पनि पुर्‍याउन नसक्ने भन्दै हटाउन पनि गाह्रो हुने उनले बताए । यद्यपि, अहिलेका सटरलाई भत्काएर पर्खाल बनाउने र अस्पताल आफैँले प्रयोग गर्ने गरी पनि योजना बनाउने विषयमा आफूले सोचिरहेको अध्यक्ष न्यौपानेको भनाइ छ ।