मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Friday, 01 August, 2025
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार o८:१o:oo
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मधेशमा आधा खेत बाँझै, पहाडमा अकासे पानी कुर्दै किसान

अन्नको भण्डार मानिने तराई मधेशमा खानेपानी हाहाकार, सरकारको राहत घोषणा कार्यान्वयनमै आएन

Read Time : > 5 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार o८:१o:oo

साउन आधा बितिसक्दा पनि यस वर्ष मधेशमा मनसुन सक्रिय भएको छैन । जसकारण अन्नको भण्डार मानिने तराई मधेशमा धान रोपाइँ मात्र प्रभावित भएको छैन, खानेपानीको समेत हाहाकार मच्चिएको छ । विगत वर्षमा साउन दोस्रो सातासम्म मधेशमा ९२ देखि ९५ प्रतिशतसम्म रोपाइँ सकिएको हुन्थ्यो, तर यसपटक पानी नपर्दा ५१.८२ प्रतिशत मात्रै रोपाइँ भएको छ । आधा खेत बाँझै छ । रोपेका धान पनि सुक्न थालेको छ । रोपाइँ भएको आधा क्षेत्रफल पनि अहिले सुक्खाका कारण धाँजा फाट्ने समस्याबाट ग्रसित छ । जसकारण देशकै कुल गार्हस्थ्य उत्पादनमा समेत असर पुग्ने सरकारले अनुमान गरेको छ ।

मधेश प्रदेश मन्त्रिपरिषद्ले २६ असार र संघीय मन्त्रिपरिषद्ले ७ साउनमा मधेशलाई सुक्खा संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । सरकारले किसानलाई राहतका कार्यक्रम घोषणा गरे पनि अहिलेसम्म लागू गर्न सकेको छैन । जसकारण रोपाइँमा खासै प्रगति हुन सकेको छैन । रोपाइँ भइसकेको जमिनलाई निरन्तर सिँचाइ पुर्‍याउने विषय सरकारको प्राथमिकतामा नभएको भन्दै किसानहरू थप चिन्तामा छन् । 

मधेश सबैभन्दा धेरै धान उत्पादन हुने प्रदेश हो । अघिल्लो आव ०८१/८२ मा ५९ लाख ५५ हजार टन धान उत्पादन हुँदा मधेशमा सबैभन्दा धेरै १४ लाख ८० हजार ८३० टन धान उत्पादन भएको थियो । त्यसपछि कोशीमा १४ लाख ६६ हजार ५१८ टन उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ । लुम्बिनीमा १३ लाख ६४ हजार ३१ टन, सुदूरपश्चिममा ६ लाख ३६ हजार २१२ टन, बागमतीमा चार लाख ९८ हजार ६६२ टन र गण्डकीमा तीन लाख ७९ हजार ३२ टन धान उत्पादन भएको थियो । सबैभन्दा कम कर्णालीमा एक लाख ३० हजार १९१ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रिपरिषद्ले ७ साउनमा मधेशलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेलगत्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यको संयोजकत्वमा चारवटा समिति रहेको कार्यदल बनाइएको थियो । कार्यदलले मधेशको सुक्खा क्षेत्र अध्ययन गरेर बुधबार प्रतिवेदन बुझाएको छ । ‘मधेशलाई अहिले रोपाइँका लागि पानी चाहिएको छ । त्यसैले पाँच सयभन्दा बढी डिप बोरिङ मर्मत र नयाँ जडान गरेर जतिसक्दो धेरै जमिनमा पानी पुर्‍याउन सकिन्छ भनेर प्रतिवेदन दिएका छौँ,’ उनले भने । कार्यदलमा रहेका कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलका अनुसार नयाँ र पुराना मर्मत गरी तत्काल ५८९ डिप बोरिङ सञ्चालन गर्न सकिने देखिएको बताए । ‘यति संख्यामा डिप बोरिङ सञ्चालनमा ल्याउने हो भने करिब ५० हजार हेक्टर सिञ्चित गर्न सकिन्छ,’ उनले भने । १५–२० दिनभित्र सिँचाइ पुर्‍याउन नसके त्यसपछि धान रोपाइँ कठिन भएको उनले बताए । 

डिप ट्युबेल जडान गर्न मधेश प्रदेशले छुट्यायो साढे १७ करोड 
मधेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मातहतका आठवटै जिल्ला कृषि ज्ञान केन्द्रमार्फत स्यालो ट्युबेल वितरणको प्रक्रिया अघि बढाएको छ । कृषिमन्त्री जनार्दनसिंह क्षेत्रीले वार्षिक बजेटमा विनियोजित ६ करोड ५५ लाख र अन्य शीर्षकमा रहेको ११ करोड थपेर १७ करोड ५५ लाख रुपैयाँ स्यालो ट्युबेल जडानका लागि छुट्याएको बताए । ‘मन्त्रालयको निर्देशनपछि कृषि ज्ञान केन्द्रहरूले सूचना निकालेर स्यालो ट्युबेल लिन इच्छुक किसानलाई फारम भर्न आह्वान गरेका छन्,’ उनले भने, ‘विगतमा पनि चैत र वैशाखमा स्यालो ट्युबेल जडान हुने गरेकामा यस वर्ष साउनमै खडेरी परेकाले जडान कार्य अघि बढाउन लागिएको हो ।’

स्यालो ट्युबेल वितरणका लागि मन्त्रालयले कार्यविधि तयार गरेको छ । एउटा स्यालो ट्युबेलका लागि आवेदन दिन दुई बिघा जग्गाको लालपुर्जाको फोटोकपी पेस गर्नुपर्ने मापदण्द बनाइएको छ । ‘आफ्नै घरपरिवारमा दुई बिघा जग्गा नपुगेको खण्डमा छरछिमेकका किसानले संयुक्त रूपमा दुई बिघा जग्गाको लालपुर्जा फोटोकोपी जम्मा गरी स्यालो ट्युबेलका लागि फारम भर्न सकिन्छ,’ मन्त्री क्षेत्रीले भने ।

रोपाइँ भएको जमिन पनि खडेरीको मारमा
सर्लाहीको लालबन्दी नगरपालिकास्थित जब्दी धान रोपाइँका लागि उर्वर मानिन्छ । स्थानीय रामदेव धामीले असार २०–२२ गते रोपाइँ थाल्ने योजनाका साथ बिउ हुर्काएका थिए । तर, धानको बिउ छिप्पिएर रोप्नै नसक्ने भइसकेको उनले दु:खेसो पोखे । ‘धान रोप्ने खेत र बिउ तयार भयो । तर, आकाशबाट एक थोपा पानी परेको छैन । बिउ राख्ने समयमा पनि निकै सास्ती भयो । पानी बोकेर मर्न लागेको बिउ बचाइयो । तर, अहिले रोप्ने वेलामा पानी नपरेपछि बिउ त्यसै खेर गयो,’ उनले भने । अब पानी परिहाले पनि रोप्ने बिउ नभएकाले खेत बाँझै राख्नुपर्ने बाध्यता छन् उनी । पानीको हाहाकार भएपछि यस वर्ष खेती गर्न नपाएको हरिवन नगरपालिका– ४, सासापुरकी दिलमाया थोकरले गुनासो गरिन् । यसरी खडेरी पर्छ भनेर आफूले कहिल्यै नसोचेको उनको भनाइ छ । थोकरले असारको सुरुमै छिमेकीको डिप बोरिङबाट पानी पठाएर पाँच कट्ठा खेतमा धान रोपको बताइन्।

अकासे पानी नपर्दा मलंगवा, हरिपुर्वा, चन्द्रनगरलगायत स्थानमा खानेपानीको समेत अभाव हुन थालेको छ । केही स्थानमा स्थानीय तहले ट्यांकरले पानी बाँड्ने गरे पनि त्यसरी बाँडेको पानीले दैनिकी चलाउन निकै समस्या भएको चन्द्रनगर गाउँपालिकाकी देवकली माझीले बताइन् । कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द महतोले यस वर्ष मुस्किलले ४५ प्रतिशतको हाराहारीमा मात्र धान रोपाइँ भएको बताए । पानी अभावका कारण रोपेको धानको उत्पादन क्षमता कम हुन सक्ने उनको भनाइ छ ।

सिराहामा ३८ प्रतिशत रोपाइँ भएको खेतमा पनि सुक्खाले धाँजा फाट्यो
सिराहामा मुस्किलले ३८ प्रतिशत खेतमा रोपाइँ भएको छ । असारमा फाट्टफुट्ट परेको वर्षा र कमला नहरबाट सिञ्चित गरेको पानीबाट खेत हिल्याएर गरेको रोपाइँ अहिले पानी अभावमा खडेरीको सामना गरिरहेको छ । रोपाइँ भएको जमिनमा धाँजा फाटेको छ भने हरियो धान पनि बिस्तारै पहेँलो हुन थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष साउनको पहिलो सातासम्म करिब ८० प्रतिशत रोपाइँ सकिएको थियो, तर अहिले दोस्रो साता सकिँदा आधा पनि रोपाइँ हुन नसकेको केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले जानकारी दिए ।

जिल्लाको खेतीयोग्य जमिनमध्ये ५४ हजार हेक्टर जमिनमा बर्खे र एक हजार ३४५ हेक्टर जग्गामा चैतेधान रोपाइँ हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा २१ हजार ५३३ हेक्टर जग्गामा बाहै्र महिना र १८ हजार ३३८ हेक्टर अर्ध सिञ्चित जग्गाबाहेक ३४ हजार ४२ हेक्टर क्षेत्रमा अकासे पानीको भरमा नै खेती हुँदै आएको छ । कमला सिँचाइ पूर्वी नहर प्रणालीअन्तर्गत सिराहाको कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिराहा र सुखीपुर नगरपालिका तथा विष्णुपुर, अर्नमा र औरही गाउँपालिका क्षेत्रमा पर्ने करिब १८ हजार हेक्टरमा सिँचाइ हुने कमला सिँचाइ पूर्वी नहर जल उपभोक्ता संस्था बर्छवा सिराहाका संयोजक रामउद्गार यादवले बताए । उनका अनुसार खडेरीका कारण साढे ३४ किलोमिटर लामो नहरबाट दक्षिणतर्फका किसानहरूलाई राहत भए पनि उत्तरतर्फका किसानहरूले भने दमकलले पानी तानेर जसोतसो रोपाइँ गरेका हन् ।

प्रदेश र केन्द्रमा बैठकै–बैठक, तर मधेशमा पुगेको छैन राहत
सुक्खा मौसमका कारण चिन्तित किसानलाई सम्बोधन गर्ने गरी विशेष राहत प्याकेज घोषणा गर्न मधेशको मन्त्रिपरिषद्ले संघीय सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको थियो । त्यसपछि संघीय मन्त्रिपरिषद्ले ७ साउनमा सिंगो प्रदेशलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । ९ साउनमा सुक्खाग्रस्त मधेशको अवलोकन गर्न पुगेका प्रधानमन्त्री केपी ओलीले रोपाइँका लागि पाँच सय बोरिङ जडान गर्ने घोषणा गरेका थिए । तर, अहिलेसम्म एउटा मात्र नयाँ बोरिङ जडान भएको छ । कृषिमन्त्री रामनाथ अधिकारीले ऊर्जामन्त्री दीपक खड्का, उद्योगमन्त्री दामोदर भण्डारीलगायतसँग सिंहदरबारमा छलफल गरेका थिए । प्रदेश मन्त्रालय र सिंहदरबारमा तारन्तार बैठक भए पनि मधेशका जनताले अनुभूति गर्ने गरी सेवा पाएका छैनन् । २६ असारयताको उपलब्धि भनेको धनुषाको मिथिला बिहारी नगरपालिकाको परशुराम तलाउमा एउटा डिप बोरिङ जडान मात्रै हो ।

कोशीमा पनि अघिल्लो वर्षको भन्दा कम रोपाइँ
कोशी प्रदेशमा पनि यसपटक कम रोपाइँ भएको छ । झापा, मोरङ र सुनसरीमा साउन दोस्रो सातासम्म करिब ८४ प्रतिशत मात्रै रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ । असारसम्म रोपाइँ सकिनुपर्नेमा दुई साता ढिलासम्म पनि शतप्रतिशत रोपाइँ नहुँदा उत्पादन घट्ने चिन्ता बढेको छ । निर्देशनालयका अनुसार मोरङमा ८५, सुनसरीमा ८४ र झापामा ८१ प्रतिशत मात्र रोपाइँ भएको छ । प्रदेशका ११ जिल्लामा हालसम्म ८०.३९ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष साउन दोस्रो सातासम्म ९०.७ प्रतिशत रोपाइँ सकिएको थियो । कोशीमा दुई लाख ७६ हजार ३८६ हेक्टरमा रोपाइँ हुने अनुमान छ । यसमध्ये हालसम्म दुई लाख २२ हजार १९२ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।

तराईमा डिप ट्युबेलमार्फत ८३.४२ प्रतिशत रोपाइँ सकिए पनि पहाडी क्षेत्रका किसान भने अकासे पानी कुरेर बसेका छन् । हालसम्म कोशीको पहाडी क्षेत्रमा ७४.६३ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । गत वर्ष रोपाइँ सन्तोषजनक भए पनि यसपटक समयमै पानी नपर्दा किसानमा चिन्ता थपिएको निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीले बताए । ‘आकाशबाट पर्याप्त वर्षा नभएको र सिँचाइ सुविधा पनि सहज नभएकाले सबै धानबालीयोग्य जमिनमा रोपाइँ हुन सकेको छैन । किसान अझै वर्षा कुरेर बसेका छन्,’ उनले भने । निर्देशनालयका अनुसार ताप्लेजुङमा ६१.९७ प्रतिशत, संखुवासभामा ७० प्रतिशत, सोलुखुम्बुमा ८९ प्रतिशत, पाँचथरमा ७९ प्रतिशत, इलाममा ७४ प्रतिशत, भोजपुरमा ७६ प्रतिशत, तेह्रथुममा ५६ प्रतिशत, धनकुटामा ६१ प्रतिशत, उदयपुरमा ६९ प्रतिशत, ओखलढुंगामा ९१.८७ प्रतिशत र खोटाङमा ८८.५८ प्रतिशत रोपाइँ सकिएको छ ।

सुनसरीमा धान रोपेको खेत सुक्न थाल्यो
१८ असारमा थोरै जग्गामा धान रोपेका सुनसरी रामधुनी नगरपालिका– ६ का भवानी ढकालले अहिले पानी अभावमा खेत सुक्न थालेको बताए । ‘अहिलेसम्म दुईपटक रोपाइँ गर्‍यौँ,’ उनले भने, ‘साउनमा कहिलेकाहीँ परेको हल्का पानीले केही राहत भए पनि खेत सुकिहाल्ने समस्या छ ।’ उखेलेर राखेको धानको बिउ एक–दुई दिनमा पानी नपरे फाल्नुपर्ने उनले गुनासो गरे ।

सुनसरीको इनरुवा, बर्जु, देवानगन्ज, बराहक्षेत्रलगायत दक्षिणी क्षेत्रमा पानी अभाव भइरहेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए । ‘सुनसरीको दक्षिणी क्षेत्रमा बढी र अन्य धेरै स्थानमा रोपाइँ सकिए पनि पर्याप्त पानी नहुँदा समस्या भइरहेको छ,’ उनले भने, ‘अब करिब सातदेखि १० दिन पानी नपर्ने हो भने रोपेको धानमा पनि समस्या आउँछ ।’ गत वर्ष साउन दोस्रो सातासम्म जिल्लाभर रोपाइँ सकिएकोमा यस वर्ष भने ८४ प्रतिशत रोपाइँ भएको उनले सुनाए ।

काठमाडौंमा अजित अधिकारी, जनकपुरधाममा हदिश खुद्दार, सर्लाहीमा श्रवण थापा, लहानमा मणिलाल विश्वकर्मा, विराटनगरमा गणेश लम्साल, इटहरीमा आरबी कटवाल,