
उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७, अँधेरी खण्डमा ट्रक दुर्घटना हुँदा उनकाे मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत इन्स्पेक्टर सुमन बानियाँका अनुसार काठमाडौंबाट इटहरीतर्फ जाँदै गरेको प्र.१–०२–००१ख९२६० नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका– ४, बगाहा बस्ने वर्ष ३५ का जीवन विकको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका विकको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा गएराति मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।