मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Thursday, 31 July, 2025
२o८२ श्रावण १५ बिहीबार o९:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या देखिएपछि बागमतीका मन्त्रीको शपथ रोकियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार o९:o५:oo

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका तीनजना मन्त्रीहरूको आज तय भएको शपथ कार्यक्रम रोकिएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको अस्वस्थताका कारण शपथ कार्यक्रम स्थगित भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । 

बिहीबार बिहान एक सूचना सार्वजनिक गर्दै प्रदेश प्रमुख कार्यालयले आज दिउँसो १ बजेका लागि तय गरिएको शपथ समारोह तत्कालका लागि रोकिएको उल्लेख गरेको छ । सूचनामा  ‘माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अचानक समस्या आएकाले उपचारका लागि आज बिहानै काठमाडौं प्रस्थान गर्नुभएकाले शपथ कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरिएको छ ।’

प्रदेश प्रमुखका प्रवक्ता देवेन्द्र सापकोटाले पनि देवकोटा उपचारका लागि काठमाडौं पुगिसकेको पुष्टि गरेका छन् । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार मात्र तीनजना सांसदलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए ।

यसअघि बुधबार नै नेकपा एमाले संसदीय दलको सुझावमा मन्त्रीहरूको शपथ रोकिएको थियो भने सोही कार्यक्रम आजका लागि सारिएको थियो । प्रदेश प्रमुख देवकोटाको अस्वस्थता र काठमाडौँ प्रस्थानले कार्यक्रम अनिश्चित बनेको छ ।

यसैबिच, मुख्यमन्त्री लामा नेपाली कांग्रेस बागमती संसदीय दलको नेताबाट पराजित भइसकेका छन् । नेता चयनको प्रतिस्पर्धामा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले नेता बानियाँले मुख्यमन्त्रीको दाबी गरिसकेका छन् । तर, मुख्यमन्त्री लामा भने राजीनामा नदिने अडानमा छन् ।