
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार सार्वजनिक गरेको टी–२० अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी फेरि दोस्रो स्थानमा फर्किएका छन् । यसअघिको वरीयतामा ऐरी तेस्रोमा थिए । टी–२० अलराउन्डरको शीर्ष स्थानमा भारतका हार्दिक पाण्ड्या यथावत् छन् । हार्दिकले सर्वाधिक दुई सय ५२ रेटिङ पाएका छन् । नेपालका ऐरीले दुई सय सात रेटिङ अंक बटुलेका छन् । हार्दिक र ऐरीबिच ४३ रेटिङ अंक फरक छ ।
अफगानिस्तानका मोहमद नावीले पनि एक स्थान सुधार गरी तेस्रो स्थान रक्षा गरे । उनले एक सय ९६ रेटिङ अंक पाएका छन् । यसअघि दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका रोस्टन चेज एकैपटक सात स्थान तल पुगेका छन् । उनी अहिले नवौँ स्थानमा छन् । अस्ट्रेलियाविरुद्धको पाँच टी–२० आईमा खराब प्रदर्शन गरेपछि रोस्टनको वरीयता अंक गुमेको हो । जसका कारण ऐरी दोस्रो स्थानमा उक्लिए । इंग्ल्यान्डका लियाम लिभिङस्टोनले तीन स्थान फड्को मारेका छन् । टी–२० बलिङ वरीयतामा नेपालका ललित राजवंशी ५६औँ, सन्दीप लामिछाने ७६औँ र दीपेन्द्र सिंह ८१औँ स्थानमा छन् ।
यसैगरी टी–२० ब्याटिङ वरीयतामा दीपेन्द्र सिंह ऐरी ६३औँ, रोहित पौडेल ६७औँ, आसिफ शेख ७८औँ र कुशल भुर्तेल ७८औँ स्थानमा छन् । नेपाली राष्ट्रिय पुरुष टोलीले डेढ महिनायता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । नेपाल क्रिकेट संघ (क्यान)को बिहीबार बोर्ड बैठक बस्दै छ । बैठकमा पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को हिसाबसहित १२ एजेन्डामा छलफल हुनेछ ।