
जतिसुकै कोसिस गर, कुनै पनि फिल्टरले तिम्रो अनुहार सुन्दर बनाउँदैन ।’ किशोरीहरूले सामाजिक सञ्जाल, समूह च्याट वा गुमनाम सन्देशमार्फत यस्ता टिप्पणी दैनिक व्यहोर्नुपर्छ । केहीले यसलाई मजाक ठान्न सक्छन्, तर यस्ता भनाइ ‘शारीरिक बनोटसम्बन्धी ‘साइबर दुर्व्यवहार’का उदाहरण हुन् । विभिन्न अनुसन्धानले यस्ता दुर्व्यवहार किशोर–किशोरीमाथिको सबैभन्दा सामान्य र हानिकारक अनलाइन हिंसामध्ये एक हो जसले विशेषत: किशोरीको आत्मछविमा गहिरो असर पार्ने देखाएको छ । र, हाम्रो नयाँ अध्ययनमा हामीले मस्तिष्क छविमार्फत अरूलाई लक्षित गरिएका बडी सेमिङ (शरीरलाई लिएर गरिने उपहास) सामग्री हेर्दा पनि मस्तिष्कका भावनात्मक पीडा र सामाजिक त्राससँग सम्बन्धित भाग सक्रिय हुने पायौँ ।
शारीरिक बनोटसँग सम्बन्धित साइबर दुर्व्यवहार भनेको कसैको रूपरंग, लुगा वा शरीरको तौल, आकृति वा आकारबारे अनलाइन टिप्पणी गर्नु हो, जुन प्राय: सार्वजनिक रूपमा देखिने पोस्ट वा कमेन्टमा गरिन्छ । छोटा शब्द, ह्यासट्याग वा इमोजीले पनि गहिरो चोट पुर्याउन सक्छ । यो समस्या सबैलाई हुन सक्छ । तर, किशोरावस्थामा मस्तिष्क विकासका क्रममा हुने भएकाले किशोरीहरू थप संवेदनशील हुन्छन् । त्यसमाथि, समाजले छोरीलाई देखावटप्रति विशेष दबाब दिने हुँदा यो झन् हानिकारक हुन जान्छ ।
हामीले गत वर्ष तीन सय ३६ किशोरीमाथि गरेको सर्वेक्षणमा ९८ प्रतिशतले कुनै न कुनै रूपमा साइबर दुर्व्यवहारको अनुभव गरेका थिए, जसमा ६२ प्रतिशत दुर्व्यवहार शारीरिक बनोटसँग सम्बन्धित थिए । तीमध्ये अधिकांशले आत्मछवि र मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पारेको बताएका छन् । ९६ प्रतिशतले आफ्नो स्वरूप बदल्ने चाहना महसुस गरे भने ८० प्रतिशतभन्दा बढीले सौन्दर्य शल्यक्रिया गर्ने विचार गरे । शारीरिक बनोटकेन्द्रित साइबर दुर्व्यवहारले शरीरप्रति असन्तुष्टि बढाउने गर्छ, जुन किशोरीमाझ खानासम्बन्धी विकारको प्रमुख जोखिम पनि हो ।
शरीरप्रति गरिने अनलाइन अपमानले किशोरीको मस्तिष्कमा कस्तो प्रभाव पार्छ भनेर बुझ्न हामीले एक ‘फंग्सनल एमआरआई’ अध्ययन गरेका थियौँ । सामाजिक सञ्जालका तटस्थ र बडी सेमिङयुक्त पोस्ट तयार गरी चार सयभन्दा बढी किशोरीलाई मूल्यांकन गरायौँ र १४–१८ वर्षका २६ किशोरीलाई मस्तिष्क स्क्यानमा सहभागी गराएका थियौँ । जब उनीहरूले बडी सेमिङ पोस्ट हेरे, मस्तिष्कका भावनात्मक पीडा, आत्मछवि र सामाजिक मूल्यांकनसँग सम्बन्धित क्षेत्र सक्रिय भएका थिए । मस्तिष्कका स्मृति र ध्यान क्षेत्र विशेषत: ती किशोरीमा सक्रिय थिए, जसले हालसालै साइबर दुर्व्यवहार भोगेका थिए । यसले पुराना पीडादायक अनुभव पुन: सक्रिय भएको संकेत गर्छ । तर, जसको आत्मछवि सकारात्मक थियो, उनीहरूको मस्तिष्क शान्त र नियन्त्रित देखियो, जसले सकारात्मक आत्मछविले सुरक्षात्मक भूमिका खेल्न सक्ने देखाउँछ ।
सबैभन्दा विशेष के थियो भने हाम्रो अध्ययनमा सहभागी किशोरीले हेरिरहेका पोस्ट अरूलाई लक्षित थिए, न कि उनीहरूलाई । तर, यति मात्रले पनि उनीहरूको मस्तिष्कको प्रतिक्रिया र आफ्नो शरीरप्रतिको भावना परिवर्तन भएको देखियो । यसले ‘शरीरप्रति गरिएको उपहासले केवल लक्षित व्यक्तिलाई मात्र नभई हेर्ने अरूलाई पनि असर गर्छ’ भन्ने देखाउँछ । जब शारीरिक बनोटको निरन्तर मूल्यांकन र आलोचना हुन्छ, त्यसले किशोरीहरूमा के ‘सामान्य’ वा ‘स्वीकार्य’ हो भन्ने धारणालाई नै बदल्न सक्छ । यसले किशोरीहरूको मस्तिष्कले सामाजिक र भावनात्मक अवस्थामा कसरी प्रतिक्रिया जनाउँछ भन्नेमा पनि असर पार्न सक्छ ।
शारीरिक बनोटसँग सम्बन्धित साइबर दुर्व्यवहार केवल किशोर–किशोरीबिचको झगडा मात्र नभई एक व्यापक सामाजिक समस्या पनि हो । सामाजिक सञ्जालले ध्यान खिच्ने सामग्रीलाई क्षति पुर्याउने भए पनि पुरस्कृत हुन्छन् । यी सबै कुरा मस्तिष्कको संवेदनशील विकासको चरणमा भइरहेका हुन्छन् । यसले किशोर–किशोरीलाई आफूलाई र अरूलाई कसरी हेर्ने भन्ने भावनाको निर्माण गरिरहेको हुन्छ ।
क्षति कम गर्नका लागि हामीले बहुआयामिक रूपमा काम गर्न आवश्यक छ । सबैभन्दा पहिले, शिक्षा प्रणालीमै सुरुदेखि नै शारीरिक छवि र अनलाइन सुरक्षाबारे पाठ्यक्रम निर्माण गरिनुपर्छ । यद्यपि, केही विद्यालयमा यस्ता कक्षा सञ्चालन हुने गरेका भए पनि यी विषय अझै पनि नियमित र व्यापक रूपमा पढाइँदैनन् । धेरै युवाले अनलाइन शारीरिक बनोटसम्बन्धी दबाबसँग जुझ्न थप सहयोगको आवश्यकता महसुस गरेका हुन्छन् । यिनका लागि अभिभावक र शिक्षकलाई पनि आवश्यक संयन्त्र, स्रोत र भाषा प्रदान गरिनुपर्छ, जसका माध्यमबाट उनीहरूले युवासँग अनलाइनमा उनीहरूले के हेर्छन् र गर्छन् भन्नेबारे खुलस्त र लाज नमानी संवाद गर्न सकून् ।
यसबाहेक सामाजिक सञ्जाललाई पनि जवाफदेही बनाइनुपर्छ । सञ्जालले रिपोर्ट गर्ने प्रणालीलाई बलियो बनाउनुपर्छ र शारीरिक बनोटलक्षित ट्रेन्डजस्ता साइबर दुर्व्यवहार प्रवर्द्धन गर्ने सामग्रीको निगरानी कडा बनाइनुपर्छ । अन्तत:, विद्यालय, सञ्चारमाध्यम र समाजका प्रभावशाली व्यक्तिले सबै प्रकारका शरीरलाई सम्मानपूर्वक प्रस्तुत गर्दै शरीरको आकारभन्दा दयालुपन, प्रतिभा वा शारीरिक क्षमतामा आधारित आत्ममूल्यलाई प्रोत्साहन गर्नुपर्छ ।
किशोरावस्था यस्तो चरण हो, जहाँ व्यक्तिको सोच, भावनाको व्यवस्थापन र सम्बन्ध निर्माणमा ठुलो परिवर्तन आउँछ । यी वर्षमा भएका अनुभवले उनीहरूले आफूलाई र संसारलाई कसरी बुझ्ने हुन् भन्ने कुरा निर्माण गर्छ । अनलाइन बडी सेमिङ स्क्रिनमा देखिएका केवल शब्दजस्तै लाग्न सक्छ, तर यदि हामी अर्को पुस्ता आत्मविश्वासी र स्वस्थ रूपमा हुर्कोस् भन्ने चाहन्छौँ भने यसलाई गम्भीर रूपमा लिनैपर्छ ।
(प्रिन्स सनसाइन कोस्ट विश्वविद्यालयमा युवा मानसिक स्वास्थ्य र न्युरोइमेजिङकी पोस्ट–डक्टरल अनुसन्धाता हुन् भने हेर्मेन्स सो विश्वविद्यालयका युवा मानसिक स्वास्थ्य र न्युरोबायोलोजीका प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट