
हिमनदी अत्यन्तै ढिलो गतिमा अग्लो भूभागबाट होचोतिर सर्ने विशाल हिउँका पिण्ड हुन् । हिमनदी साधारणतया पानीका भरपर्दा स्रोत मानिन्छन् । जलवायुमा हुने परिवर्तनअनुरूप हिमनदीको स्वरूपमा पनि परिवर्तन भइरहन्छ । हिमनदीको अगाडिको भाग पग्लँदै पछि हट्दा खाली भएको ठाउँमा पानी भरिई ढुंगा, माटो र बरफसमेत मिसिएको गेग्य्रानको बाँधले थुनिएको हिमतालको उत्पत्ति हुन्छ । यस्तो प्राकृतिक कच्चा र अस्थिर बाँधले थुनेको जलाशयबाट निस्केको पानीले बाँध फुटाई तल्लो तटीय क्षेत्रमा बाढी ल्याउने खतरा हुन्छ । यसरी हिमतालको बाँध अकस्मात् फुटेर यसको पानी ठुलो मात्रामा बाहिर निस्किई तल्लो तटीय क्षेत्रमा आउने बाढी हिमताल विस्फोटनको बाढी (ग्लफ) हो ।
हिमनदी तापक्रम वृद्धिका अत्यन्तै संवेदनशील सूचक मानिन्छन् । हिमताल विस्फोटनको बाढी विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले तीव्र बन्दै गइरहेको जोखिम हो । हिमनदीहरू पग्लिँदा निर्मित हिमतालले कमजोर गेग्य्रान (मोरेन) वा बरफका बाँधमार्फत पानी रोक्छन् । जब ती बाँध कमजोर पर्छन्, ढल्कन्छन् वा बाढी, भूचाल वा भूकम्पले बाधा पुर्याउँछ अनि अकस्मात् ठुलो पानी बगेर विपत् निम्त्याउन सक्छ । हिउँ पग्लेर तालको पानी अधिकतम तहमा पुग्ने समय जुलाई–अगस्ट भएको र यही वेला हिमताल फुट्ने जोखिम पनि अधिक हुन्छ ।
तिब्बत, नेपाल र भारत समेटिने तीन मुख्य जलाधार क्षेत्रमा तीन हजार ६२४ वटा हिमताल पहिचान गरिएकामा कोशी जलाधार क्षेत्रमा दुई हजार ६४, कर्णाली जलाधार क्षेत्रमा एक हजार १२८ र गण्डकी जलाधार क्षेत्रमा ४३२ हिमताल रहेका छन् । नेपालका निर्माणाधीन तथा निर्माण सम्पन्न भएका ६ हजार ५०० मेगावाटका ४६ भन्दा बढी जलविद्युत् आयोजना यी जलाधार क्षेत्रमा छन् । इसिमोडको पछिल्लो प्रतिवेदनअनुसार नेपालको राजनीतिक नक्साभित्र दुई हजार ७० हिमताल पर्छन् । युएनडिपी र इसिमोडले गरेको अध्ययनले नेपाल, भारत र चीनमा अवस्थित ४७ वटा हिमताल खतरायुक्त तहमा पुगेका छन् । तीमध्ये २५ चीनमा, २१ नेपालमा र एउटा भारतमा पर्छन् । तीमध्ये केही अत्यन्त संवेदनशील मानिएका छन्, जसले ठुलो मात्रामा धनजनको क्षति गराउने सम्भावना रहेको छ ।
नेपालमा हालसम्म साना ठुला गरी २६ भन्दा बढी हिमताल विस्फोट भइसकेका छन् । पूर्वमा म्यानमारदेखि पश्चिममा अफगानिस्तानसम्म फैलिएको हिन्दकुश हिमालय क्षेत्रमा भने ५० हिमताल विस्फोट भइसकेका छन् । सन् १९७७ मा खुम्बु क्षेत्रको आमाडब्लम हिमाल आधार शिविरको तालको बाँध फुट्दा इम्जा खोलामा बाढी आएको थियो । बाढीले दुईजनालाई बगाएको एवं केही घर र जग्गामा क्षति पुर्याएको थियो । १९८१ मा झांग्जाङ्बो ताल फुटेर करिब १९ मिलियन घनमिटर पानी एक घण्टाभित्र तालबाट निस्किँदा पाँचजनाको ज्यान गयो, सुनकोशी जलविद्युत् बाँध ध्वस्त भयो, हाइवे अवरुद्ध भयो ।
सन् १९८५ मा खुम्बुकै थामे उपत्यकाको नाम्चे–भोटेकोसी क्षेत्रको दिग्च्छो हिमताल फुट्दा निर्माणाधीन नाम्चे साना जलविद्युत् आयोजना पूर्ण रूपमा क्षति भयो । यसले खुम्बु र चौंरीखर्क क्षेत्रमा कम्तीमा ३० लाख अमेरिकी डलरबराबरको क्षति पुर्याएको विभिन्न अध्ययनले देखाएका छन् । सानो तालको विस्फोटनको क्षति हेर्दा ठुलो तालको विस्फोटन भएमा अझ भयावह स्थिति निम्तिने निश्चित छ । सन् १९९० को दशकबाट च्छो रोल्पा र इम्जा तालमा पानीको स्तर कम गर्न पूर्वसूचना प्रणाली लागू गरियो ।
सन् २०२४ अगस्ट १६ मा खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेको शिरमा रहेका दुई हिमताल विस्फोट भई तटीय क्षेत्रमा रहेको थामे गाउँमा व्यापक क्षति पुर्यायो । सन् २०२५ मे १४ मा नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँको शिर क्षेत्रबाट भूमिगत बरफ पग्लिएर तिल्जुङ खोलामा उर्लिँदै आएको हिमबाढीले बस्तीलाई उच्च जोखिममा पारेको छ । सन् २०२५ जुलाई ८ मा करिब पाँच हजार १५० मिटर उचाइमा अवस्थित प्युरेपु हिमनदीमा रहेको सुप्राग्लेसियल ताल फुट्दा भोटेकोसीमा एक्कासि आएको बाढीमा परी कम्तीमा ११ जनाको मृत्यु, १८ बेपत्ता, एक घाइते र अर्बौं सम्पत्ति क्षति भएको स्थिति छ ।
यही २०८२ असार २४ गते मुस्ताङको लोमन्थाङ–४ चुम्जुङ बस्तीमा छुआमा पिकबाट झर्ने भिरालो हिमनदी तीव्र र असामान्य गतिमा विचलन भई हिमोढ बगेर बाढी आउँदा पुल तथा पाँचवटा सिँचाइ योजनाका मुहान बगाएको छ । इसिमोडका अनुसार हिन्दकुश हिमालय क्षेत्रमा हिमनदीजन्य विपत्का घटना बढेका छन् । पछिल्लो समयमा हिमनदीभित्र लुकेका वा हिमनदीमाथि बन्ने अस्थायी प्रकृतिका हिमताल विनाशका कारण बन्न थालेका छन् ।
इसिमोडले सन् १९८५ देखि हिमनदी, हिमताल र त्यसमाथिको विपत् अनुगमन गर्दै आएको छ । इसिमोडको एक अध्ययनअनुसार सन् २००१ मा नेपालमा जम्मा दुई हजार ३२३ हिमताल थिए भने सन् २००९ मा जम्मा एक हजार ४६६ मात्र नक्सांकन भए । यसको अर्थ ससाना हिमपोखरी जलवायु परिवर्तनका कारण एक–आपसमा जोडिँदै ठुल्ठुला हिमताल बनेका छन् । अर्कातर्फ तालको क्षेत्रफल करिब ३३ प्रतिशतले बढेको देखिन्छ । यस तथ्यले हाम्रा हिमताल तीव्र गतिमा परिवर्तन भइरहेका छन् । हिमतालको लम्बाइ, चौडाइ र गहिराइमा पछिल्ला दशकमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।
दक्षिण एसियाको मनसुनी वर्षा अब असामान्य रूपमा तीव्र र अनियमित हुँदै गएको छ । हिन्दकुश हिमालय क्षेत्रमा हिउँ पग्लने दर तीव्र भएको छ र सन् २१०० सम्म ग्लफको जोखिम हालको भन्दा तीन गुणा बढ्ने अनुमान गरिएको छ । नेपालको हिमक्षेत्रमा तापक्रम औसत ०.०५६ डिग्री सेल्सियस प्रतिवर्षले वृद्धि भइरहेको छ । नयाँ सुप्राग्लेसियल ताल, गेग्य्रानले ढाकिएको हिमनदी सतहमा सानो पोखरीका रूपमा देखिई छोटो अवधिमा फैलिने प्रवृत्ति देखिएको छ । यी पोखरी मर्ज भएर अचानक ठुलो ताल बन्ने र अचानक विस्फोट हुने जोखिम बढेको छ । अनियन्त्रित भारी वर्षा, हिमपहिरो, पहिरो वा भूचालले हिमोड बाँध कमजोर पारेर ताल विस्फोट गराउन सक्छ ।
पछिल्लो समय हिमनदीजन्य विपत्को आवृत्ति बढ्दै गएको छ । हिमताल विस्फोटले हिमाली क्षेत्रका बस्ती, जनजीवन र पूर्वाधारमा गम्भीर खतरा निम्त्याइरहेको छ । हिमताल विस्फोटन बाढीका कारण हुने विपत् र त्यसबाट पर्न सक्ने प्रभाव विविध प्रकृतिका हुन्छन् । यसबाट विकासकै प्रक्रिया लामो समयसम्म पछाडि धकेलिन सक्छ । विपत्को असरका रूपमा विभिन्न महामारी फैलिन सक्ने सम्भावनासमेत हुन्छ । हिमताल विस्फोटलगायत अन्य प्राकृतिक विपत्को सामना क्षमता महिला, सुत्केरी, बालबालिका, वृद्धवृद्धा, अपांग तथा सीमान्तकृत र आर्थिक रूपले विपन्न वर्गको कमजोर हुने र यिनै संकटासन्न समूह बढी प्रभावित हुने एवं विपत् जोखिममा पर्ने गरेको यथार्थ छ ।
पर्यटकीय सिजनमा हिमताल विस्फोट, बाढी र हिमपहिरोजस्ता प्राकृतिक विपत् सामना गर्नुपर्यो भने अन्तर्राष्ट्रियस्तरमा समेत त्यसको नकारात्मक असर पर्न सक्छ र खुम्बुलगायत क्षेत्रको पर्यटन व्यवसायमा व्यापक ह्रास आउन सक्छ । हिमताल विस्फोट भएको खण्डमा खेतीयोग्य हिमाली भूमिमा नदीकटान हुनुका साथै माथिल्लो तटीय क्षेत्रबाट ल्याइएका गेग्य्रान थुप्रिन सक्छ । यसबाट कृषि उत्पादनमा ह्रास आई स्थानीय समुदाय र विपन्न वर्गको संकटमा थप वृद्धि हुन्छ । हिमताल विस्फोटका कारण हिमाली क्षेत्रका घाँसेमैदान, चरीचरन क्षेत्र, गोठ र खर्क उच्च जोखिममा पर्ने र पशुपालन व्यवसायी निरुत्साहित भई चौंरीपालनलगायत व्यवसाय नै धरापमा पर्ने स्थिति सिर्जना हुन सक्छ । जलवायु परिवर्तन र तापक्रम वृद्धिको कारणबाट हालका दिनमा हिमताल विस्फोटन उच्च जोखिमको रूपमा देखा परेको छ । यसले हिमाली क्षेत्रको आर्थिक तथा सामाजिक प्रगतिमा बाधा अवरोध पुर्याउन सक्छ ।
नेपाललगायत हिन्दकुश हिमालय क्षेत्रमा रहेको बरफको सञ्चितिमा हुने परिवर्तनले विश्व समुदायको ध्यान आकर्षित गरेको छ । यहाँका हरेक पक्ष, जस्तै– खानेपानी, सिँचाइ, जलविद्युत्, उद्योगधन्दा, कृषि आदि सबै पानीकै प्रचुरतामा निर्भर हुने भएकाले हिमक्षेत्रमा हुन सक्ने सानो परिवर्तनले पनि तल्लो तटीय क्षेत्रको जनजीवनमा ठुलै प्रभाव पार्न सक्ने अनुमान लगाउन सकिन्छ ।
हिमताल विस्फोटन जोखिम न्यूनीकरण गर्न स्थानीयस्तरमा जनचेतना अभिवृद्धि गरी प्रकोप सामना क्षमता अभिवृद्धि गर्नु आवश्यक छ । समुदायमा आधारित हिमताल विस्फोटन जोखिम न्यूनीकरण तथा व्यवस्थापन अवधारणा लागू गर्नुपर्छ । हिमताल विस्फोटन बाढी जोखिम विश्लेषण गर्नुपर्ने र यसका लागि प्रकोप नक्सांकन तथा स्तरीकरण, सामाजिक स्रोत नक्सांकन र संकटासन्नता तथा क्षमता पहिचान, विश्लेषणलगायत पक्षमा विशेष ध्यान दिनु र लगानी गर्नु जरुरी छ । जोखिम पहिचान भएका हिमतालको पानीको सतहलाई आवश्यकताअनुसार घटाउने, नियमित अनुगमन गर्ने, समुदायमा आधारित पूर्वसूचना प्रणाली स्थापना गरी सञ्चालन गर्ने, जोखिम न्यूनीकरणसम्बन्धी ज्ञानलाई संस्थागत गर्नेलगायत कार्य गर्नु आवश्यक छ ।
हिमताल विस्फोटनको जोखिम व्यवस्थापन चक्रअनुसार विस्फोटनपूर्वको अवस्था, विस्फोटनको वेलाको अवस्था र विस्फोटनपश्चात्को अवस्थामा गर्नुपर्ने कार्य स्पष्ट रूपमा किटान गरी सोहीअनुरूप प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । हिमताल विस्फोटन जोखिम कम गर्न हिमतालको पानीको सतह घटाई सोको आयतन कम गर्नेलगायत अल्पीकरणका उपाय अवलम्बन गर्नुपर्छ भने इन्जिनियरिङ प्रविधि तथा प्रकोप प्रतिरोधी निर्माण कार्यका साथसाथै सुदृढ वातावरणीय नीतिनिर्माण एवं जनचेतना अभिवृद्धिजस्ता न्यूनीकरणका उपाय अपनाउनु आवश्यक छ । नदीतटीय क्षेत्रमा तटबन्धन गर्ने, बस्ती स्थानान्तरण गर्ने काम पनि अघि बढाउनुपर्ने देखिन्छ । यसका लागि हिमतालको अनुसन्धान गरी यथार्थ विवरण ल्याउनुपर्छ ।
हिमताल विस्फोटन जोखिम न्यूनीकरण गर्न स्वचालित पूर्वसूचना प्रणाली, जस्तै– सेन्सर, राडार, स्वचालित मौसम केन्द्रको जडान तथा स्थापना र समुदायमा आधारित पूर्वसूचना प्रणाली, जस्तै– साइरन, हाते माइक, सेल फोन इत्यादि प्रयोग गर्नु अपरिहार्य छ । पूर्वतयारीले समेट्ने सम्पूर्ण कार्यलाई मुलुकको औपचारिक संस्था, नियम कानुन र अर्थ विनियोजनसम्बन्धी प्रावधानले सघाउनुपर्छ । हिमताल विस्फोटको अवस्थामा प्रभावकारी प्रतिकार्यमा ध्यान दिनुपर्छ । यस समयमा उद्धार, शिविर व्यवस्थापन, राहत वितरणलगायत कार्य युद्धस्तरमा गर्नुपर्ने हुन्छ ।
हिमताल निर्जन भूगोलमा हुने भएकाले हामी यससँग कमै परिचित छौँ । हिमतालबारे हामीले जान्न धेरै बाँकी छ । विगतमा र भर्खरै तिब्बतका ताल फुटेर नेपालको रसुवामा क्षति भएका घटना पनि छन् । हिमताल विस्फोट रोक्न माथिल्लो र तल्लो दुवै जलाधार क्षेत्रका देश मिलेर काम गर्नुपर्छ । चीन सरकारसँग मिलेर संयुक्त प्रयासमा हिमताल विस्फोटको जोखिम न्यूनीकरणमा काम गर्नु आवश्यक छ । हिमताल जतिवेलै फुट्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रका बस्ती ध्वस्त पार्ने चेतावनीलाई गहन रूपमा लिई आवश्यक पूर्वतयारी गर्नुपर्छ । जलवायु परिवर्तनका कारण भविष्यमा नेपालले हिमताल विस्फोटबाट हुने विपत्ति बारम्बार भोग्नुपर्ने हुन सक्छ । जलवायुजन्य हानि–नोक्सानी र विपत्जन्य घटना धान्न नसक्ने गरी बढिरहेकाले विकसित देशले उत्सर्जन घटाउन महत्वाकांक्षी लक्ष्य राख्न ढिला गर्नु हुँदैन ।
(केसी नेपाल सरकारका उपसचिव हुन्)