
कमला सिँचाइ पूर्वी नहर प्रणालीको मूल नहरबाट लगिएको प्रशाखा (माइनर)अन्तर्गत कर्जन्हा नगरपालिकाको दक्षिणतर्फ पुछार गाउँका किसानका लागि साताको तीन दिन पानी छोडिने भएको छ । खडेरीका कारण रोपाइँ नै गर्न नपाएको किसानहरूको गुनासोपछि बुधबार जनप्रतिनिधिसहितकाे टाेलीले नहर अनुगमन गरेकाे थियाे । सो क्रममा पुछार गाउँका किसानलाई साताको तीन दिन पानी छाड्ने सहमति भएको हो ।
नहरआसपासका किसानले धान रोपिसकेका वेला प्रशाखासँग जोडिएको दक्षिणी भेगका किसानले नहरको पानी ब्याड जोगाउन पनि प्रयोग गर्न नपाएको गुनासोपछि बुधबार स्थलगत अनुगमनपछि सातामा तीन दिन पानी छोड्ने सहमति भएको कर्जन्हा नगरपालिका– १ का वडाध्यक्ष फणीन्द्र पोखरेलले जानकारी दिए ।
उनका अनुसार कमलाको पूर्वी नहरको पहिलो प्रशाखाअन्तर्गत दक्षिणतर्फ कल्याणपुर नगरपालिका भोक्राहासम्मका किसानको समस्या सम्बोधनका लागि कर्जन्हा नगरपालिका प्रमुख भोलाप्रसाद पोखरेल, कमला सिँचाइ कार्यालय पोर्ताहाका प्रमुख वीरेन्द्र यादव, जलउपभोक्ता संस्थाका प्रतिनिधि तथा अगुवा किसानहरूले कर्जन्हा– ३ खैह्राटोलको शिरमा रहेको प्रशाखाको मुहान अनुगमन गरेका थिए ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट केही वर्षअघि उद्घाटन गरिएको प्रशाखाको कमान्ड क्षेत्र डेढ सय बिघा भए पनि करिब १२ किलोमिटर दक्षिणतर्फ एक हजार बिघामा सिँचाइ पुर्याउन स्तरोन्नति गर्न किसानहरूले माग गरेका छन् । त्यसका लागि नगरपालिकाको सिफारिससहित जल उपभोक्ता संस्थाको प्रशाखा, स्थानीय किसानको भेला गरी माइन्युटसहित माग गर्ने सहमति भएको उनले बताए ।
सिराहाको बन्दीपुर हुँदै निकालिएको कमला सिँचाइ पूर्वी नहर प्रणालीअन्तर्गत सिराहाको कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिराहा र सुखीपुर नगरपालिका तथा विष्णुपुर, अर्नमा र औरही गाउँपालिका क्षेत्रमा पर्ने करिब १८ हजार हेक्टरमा सिँचाइ हुने भए पनि उत्तरतर्फका किसानले नै प्रायः पानी प्रयोग गर्दा दक्षिणतर्फ केही समस्या भएको कमला सिँचाइ पूर्वी नहर जल उपभोक्ता संस्था बर्छवा सिराहाका संयोजक रामउदगार यादवले बताए ।
खुट्टी नहर सञ्चालनका लागि ड्याम अनुगमन
लहान नगरपालिका– १० स्थित खुट्टी खोलाबाट निकालिएको नहर सञ्चालनमा ल्याउन जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहित सम्बद्ध सिँचाइ कार्यालयका प्रतिनिधि, स्थानीय सरोकारवालाहरूले बुधबार ड्याम स्थलको अनुगमन गरेका छन् । करिब नौ करोड लागतमा ‘हेडवर्क्स’ निर्माण भइसके पनि बजेट अभाव, स्थानीय तहसँगको समन्वयको कमी र विवादका कारण नहर सञ्चालन हुन सकेको थिएन ।
खडेरीले रोपाइँ हुन नसकेको र भूमिगत पानी तानेर गरिएको रोपाइँको खेतमा समेत धाँजा फाट्न थालेपछि नहर सञ्चालनका लागि अनुगमन गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिराहाले जनाएको छ । डिभिजनका अनुसार मधेश प्रदेश सरकारले छुट्याएको १५ लाख बजेटबाट नहर सफाइ र सुधार गरी सञ्चालन गरिने तयारीस्वरूप अनुगमन गरिएको हो ।
हेडवर्क्ससहित नहर क्षेत्रको स्थलगत अनुगमनका लागि बुधबार मधेश प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी, जिल्ला समन्वय समिति सिराहाका प्रमुख दिनेश महतो, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, डिभिजन प्रमुख हस्मत अन्सारी, इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलसहित सुरक्षाकर्मीहरूको टोली पुगेको थियो ।
डिभिजन प्रमुख अन्सारीका अनुसार पछिल्लो तीन वर्षदेखि बजेट नहुँदा नहर सञ्चालन रोकिएको थियो ।