
किताबखानाको अभिलेख प्रणालीअनुसार तलबी अध्ययन बिदा लिने कर्मचारीको संख्या तीन हजार ९१८ छ । त्यस्तै, असाधारण बिदा लिने कर्मचारीको संख्या एक हजार ५६० छ र बेतलबी अध्ययन बिदा लिनेको संख्या एक हजार ४४२ छ । बेतलबी बिदा लिनेको संख्या नौ र तलबी असाधारण बिदा लिने पाँचजना छन् ।
निजामती कर्मचारीको अभिलेख राख्ने निजामती किताबखानाका अनुसार करिब सात हजार कर्मचारी अहिले बिदामा छन् । उनीहरूको बिदाको प्रकार र दुरुपयोग भए–नभएबारे किताबखाना अध्ययन गर्दै छ । निजामती सेवा नियमावलीमा सेवामा बहाल कर्मचारीका लागि आवश्यक पर्ने विभिन्न बिदाबारे व्यवस्था गरिएको छ ।
किताबखानाको अद्यावधिक विवरणअनुसार बिदाको उपयोग गर्ने कर्मचारीको संख्या ६ हजार ९३४ छ । यो असाधारण, तलबी असाधारण, तलबी अध्ययन, बेतलबी अध्ययन र बेतलबी बिदा लिने कर्मचारीको संख्या हो । विभिन्न पाँच प्रकारका बिदाको विवरण केलाइरहेको किताबखानाले जनाएको छ । निजामती सेवा कानुनले व्यवस्था गरेको विभिन्न बिदासम्बन्धी व्यवस्थाअनुसार कर्मचारीले बिदाको उपयोग गर्दै आएका छन् । कतिपय कर्मचारीले बिदा सुविधा दुरुपयोग गरेको आलोचना र गुनासोबिच किताबखानाले अभिलेख शुद्धीकरणको काम अघि बढाएको हो । किताबखानाका अनुसार हाल ८५ हजार कर्मचारी कार्यरत छन् ।
किताबखानाको अभिलेख प्रणालीअनुसार तलबी अध्ययन बिदा लिने कर्मचारीको संख्या तीन हजार ९१८ छ । त्यस्तै, असाधारण बिदा लिने कर्मचारीको संख्या एक हजार ५६० छ र बेतलबी अध्ययन बिदा लिनेको संख्या एक हजार ४४२ छ । बेतलबी बिदा लिनेको संख्या नौ र तलबी असाधारण बिदा लिने पाँचजना छन् ।
किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार यो किताबखानाको अभिलेख प्रणालीमा प्रविष्ट भएको हालसम्मको अद्यावधिक विवरण हो । उनका अनुसार यसमा कति कर्मचारी सेवामा बहाल भई काम गरिरहेका छन् वा कति बिदामै छन् भन्ने यकिन छैन । ‘किनभने बिदा स्वीकृत गर्ने अधिकार मन्त्रालयलाई नै हुन्छ,’ उनले भने, ‘मन्त्रालयहरूले जानकारी पठाएकाको विवरण किताबखानासँग हुन्छ । नपठाएकाको हकमा हुँदैन ।’
अहिले किताबखानाले कार्यदल (टास्कफोर्स) नै बनाएर अभिलेख शुद्धीकरणको काम गरिरहेको महानिर्देशक पोखरेलले नयाँ पत्रिकालाई बताए । हाल प्रत्येक कर्मचारीको व्यक्तिगत फाइलको अभिलेख अध्ययन गरी निजहरूले लिएको बिदा समाप्त भए–नभएको, बिदा उपयोग गरेर सेवामा कार्यरत रहे–नरहेको, बिदाकै अवधिमा कुनै कारबाही भए–नभएकोलगायतका विषय किताबखानाले हेरिरहेको उनको भनाइ छ ।
बिदाको सदुपयोग गरेर अध्ययन बिदामा विदेश जाने र अनुकूल भए सरकारलाई खबरै नगरी गैरकानुनी रूपमा उतै रहने वा फर्केर आएपछि पनि कबुलियतबमोजिमका क्षेत्रमा काम नगर्नेलगायतका समस्या छन् । बिदाको दुरुपयोग गरेकालाई सरकारले कारबाही पनि गर्न सकेको छैन । अभिलेख प्रणाली चुस्त नहुँदा पनि यसो गर्न नसकिएको किताबखानाको भनाइ छ । कतिपय कर्मचारीले बिदा सुविधाको दुरुपयोग गरेकोमा आलोचना वा गुनासोबिच किताबखानाले अभिलेख शुद्धीकरणको काम अघि बढाएको हो ।
निजामती सेवा नियमावलीमा निजामती कर्मचारीका लागि सेवामा बहाल रहेको अवस्थामा आवश्यक पर्ने विभिन्न बिदाबारे व्यवस्था गरिएको छ । नियमावलीको नियम ६२ को उपनियम ३ (क) मा ‘अध्ययन बिदा लिएको कर्मचारीले प्रत्येक ६ महिनामा आफूले सम्बन्धित अध्ययन संस्थामा अध्ययन गरिरहेको प्रमाणसहितको प्रगति विवरण पदाधिकार रहेको निकाय, सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालय र निजामती किताबखानामा पठाउनुपर्ने व्यवस्था’ छ ।
नियमावलीले बिदाको जानकारी किताबखानासमेतलाई पठाउनुपर्ने व्यवस्था भए पनि त्यसको पालना भएको छैन । ‘निजामती कर्मचारीको अध्ययन बिदाबारेको जानकारी किताबखानालाई पठाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यो विगतमा प्रभावकारी भएन,’ किताबखानाका महानिर्देशक पोखरेल भन्छन्, ‘अब त्यसमा सुधार गर्दै छौँ ।’
नियमावलीको नियम ५८ मा असाधारण बिदा लिन सक्ने व्यवस्था छ । कुनै ठुलो वा कडा रोग लागेर उपचार गर्न बिरामी बिदा वा घर बिदाबाट नपुग हुने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेस गरी निजामती कर्मचारीले पछि पाउने बिरामी बिदा र घर बिदाबाट कट्टा हुने गरी ४५ दिनसम्म थप बिरामी बिदा पाउँछन् । यो बिदा पनि अपुग भई थप बिदा लिनुपरेमा एक वर्ष असाधारण बिदा लिन सक्ने व्यवस्था छ ।
त्यस्तै, नियम ६१ मा तलबी अध्ययन बिदाको व्यवस्था छ । उपनियम १ मा निजामती सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा नेपाल सरकारलाई प्राप्त भएको वैदेशिक छात्रवृत्तिमा सम्बन्धित मन्त्रालयको स्वीकृति लिई खुला प्रतियोगिता वा अन्तरविभागीय प्रतियोगिताबाट छानिई वा नेपाल सरकारबाट मनोनयन भई अध्ययन गर्न जाने निजामती कर्मचारीले अध्ययन अवधिभर अध्ययन बिदा पाउने व्यवस्था छ । कर्मचारीले सेवा अवधिभरमा एकैपटक वा पटकपटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउने र सरकारले आवश्यक ठानेमा अध्ययन बिदाको अवधि दुई वर्षसम्म थप गर्ने व्यवस्था पनि छ । यस्तो अध्ययन बिदा बस्दा कर्मचारीले पूरा तलब पाउँछन् ।
सोही नियमको उपनियम ५ मा बेतलबी अध्ययन बिदासम्बन्धी व्यवस्था छ । सम्बन्धित सेवा समूहलाई उपयोगी र आवश्यक पर्ने विषयमा सरकारको पूर्वस्वीकृति लिई निजी प्रयासमा अध्ययन बिदा दिने व्यवस्था छ । तर, उक्त अवधिमा तलब पाइँदैन ।
यसैगरी नियमावलीको नियम ६२ मा असाधारण बिदासम्बन्धी व्यवस्था छ । यस्तो बिदा प्रक्रियाबमोजिम एकपटकमा एक वर्ष नबढाई र सेवा अवधिभर बढीमा तीन वर्ष लिन पाउने व्यवस्था छ । यसै नियममा बेतलबी बिदासम्बन्धी व्यवस्था छ । तर, यो नियम ५८ बमोजिम थप बिरामी बिदाका लागि दिने व्यवस्था छ ।
निजामती किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल भन्छन्– अहिले किताबखानाले टास्कफोर्स नै बनाएर अभिलेख शुद्धीकरणको काम गरिरहेको छ
बिदा स्वीकृत गर्ने अधिकार मन्त्रालयलाई नै हुन्छ । मन्त्रालयहरूले जानकारी पठाएकाको विवरण किताबखानासँग हुन्छ । नपठाएकाको हकमा हुँदैन । त्यसैले अहिले किताबखानाले टास्कफोर्स नै बनाएर अभिलेख शुद्धीकरणको काम गरिरहेको छ । यसका लागि प्रत्येक कर्मचारीको व्यक्तिगत फाइलको अभिलेख अध्ययन गरी निजहरूले लिएको बिदा समाप्त भए–नभएको, बिदा उपयोग गरेर सेवामा कार्यरत रहे–नरहेको, बिदाकै अवधिमा कुनै कारबाही भए–नभएकोलगायतका विषय हेरिरहेका छौँ । अध्ययन बिदाको जानकारी किताबखानामा आउनुपर्ने हो, तर प्रभावकारी भएन । अब सुधार गर्दै छौँ ।