
एसियाली क्रिकेट परिषद् (एसिसी)ले १७औँ संस्करणको पुरुष एसिया कपको तालिका सार्वजनिक गर्दा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानको भेट पक्का भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)मा हुने प्रतियोगिता आगामी सेप्टेम्बर ९ देखि २८ सम्म टी–२० फम्र्याटमा हुनेछ । यसअघि प्रतियोगिता भारतमा हुने तय भए पनि पाकिस्तान भारत जान तयार भएन । यसअघि च्याम्पियन्स ट्रफीमा भारत पनि पाकिस्तान जान तयार भएको थिएन ।
दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानलाई समूह ‘ए’मा राखिएको छ । यी दुईबिचको खेल १४ सेप्टेम्बरमा हुनेछ । यो समूहमा ओमान र आयोजक युएई पनि छन । समूह ‘बी’मा बंगलादेश, अफगानिस्तान, श्रीलंका र हङकङ छन् ।
सेप्टेम्बर ९ मा हुने उद्घाटन खेलमा बंगलादेश र हङकङ प्रतिस्पर्धा गर्नेछन् । समूह चरणपछि हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ । भारत एसिया कपको डिफेन्डिङ च्याम्पियन हो, जसले २०२३ को संस्करणमा श्रीलंकालाई फाइनलमा पराजित गरेको थियो ।