मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:१९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रसुवागढी–केरुङ जोड्ने बेलिब्रिज निर्माणको काम आजबाट सुरु गर्दै चीन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१९:oo

चीनले बाढीले बगाएपछि अवरुद्ध भएको रसुवा–केरुङ नाका जोड्न ल्हेन्दे खोलामा आज (आइतबार)बाट बेलिब्रिज निर्माण थाल्ने भएको छ । २४ असारको बाढीले भोटेकोशीको सहायक नदी ल्हेन्देको मितेरी (सीमापुल) बगाएको थियो ।

नेपाल सरकारले स्वीकृति दिएसँगै चीन पक्षले आइतबारबाट निर्माणको काम थाल्ने जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । ‘तिब्बततर्फ यसअघि नै साइट क्लियरेन्सको काम भइरहेको थियो । आइतबारबाट औपचारिक रूपमा निर्माणको काम थाल्ने जानकारी दिनुभएको छ,’ पौडेलले भने, ‘१५ सेप्टेम्बर (३० भदौ) भित्र निर्माण सक्ने लक्ष्य छ ।’ बाढीले पुल बगाउँदा नाका अवरुद्ध भएपछि नेपाल सरकारले पुल निर्माण र नाका जोड्ने सडक पुनर्निर्माणका लागि चीनसँग आग्रह गरेको थियो । परराष्ट्रले अर्थ, भौतिक पूर्वाधार, कानुनलगायत मन्त्रालयको राय लिएपछि नेपाल र चीनबिच बेलिब्रिज बनाउने समझदारी भएको थियो । चीनले हाललाई बेलिब्रिज बनाउन लागेको हो ।

शनिबार मात्र रसुवाका प्रमुख जिल्ला अधिकारी पौडेल नेतृत्वको टोली र चीनका समकक्षीबिच निर्माणस्थलबाटै भर्चुअल बैठकसमेत भएको छ । बैठकमा उद्धार, राहत एवं पुनर्निर्माण र पुनस्र्थापनाका विषयमा विस्तृत रूपमा द्विपक्षीय छलफल भएको उनले बताए । ‘बेलिब्रिजको यथाशीघ्र निर्माण सम्पन्न गर्न स्थानीय प्रशासनबाट उपयुक्त कार्यवातावरण निर्माणका गर्न आवश्यक समन्वय, सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त भएको छ,’ पौडेलले भने । 

नेपाल र चीनबिच वार्षिक सवा तीन खर्बको व्यापार हुँदै आएको छ । गत आर्थिक वर्ष ०८१/८२ मा नेपालमा चीनबाट तीन खर्ब ४१ अर्ब १० करोड ४५ लाखको आयात भएको छ । यस अवधिमा निर्यात भने दुई अर्ब ६३ करोडको भएको भन्सार विभागको तथ्यांक छ । नेपाल–चीनबिच सबैभन्दा बढी आयात–निर्यात हुने प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ हो । गत आर्थिक वर्ष ०८१/८२ मा रसुवा नाका हुँदै ८५ अर्ब २३ करोड २३ लाखको आयात भएको छ । जुन कुल आयातको ४.७२ प्रतिशत हो । यस अवधिमा रसुवा हुँदै दुई अर्ब चार करोड ५२ लाखको निर्यात भएको छ । यो कुल निर्यातको ०.७४ प्रतिशत हो ।