मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ११ आइतबार o६:o३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

थाइल्यान्ड–कम्बोडिया सीमा लडाइँ : नेपालीबारे सोधखोज गर्न परराष्ट्रको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ११ आइतबार o६:o३:oo

दक्षिण–पूर्वी एसियाली मुलुक थाइल्यान्ड र  कम्बोडियाका सुरक्षाकर्मीबिच बुधबारदेखि सीमाक्षेत्रमा भएको झडप साम्य भएको छैन । दुवैतर्फ कम्तीमा ३३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

थाइल्यान्डका सीमावर्ती आठ जिल्लामा सैनिक कानुन लागू भएको छ । उक्त क्षेत्रमा रहेका नेपालीबारे सोधपुछ गर्न परराष्ट्र मन्त्रालयले बैंककस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ । ‘अहिलेसम्म झडप भएको सीमावर्ती क्षेत्रमा नेपाली भएको जानकारी आएको छैन । परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासलाई वस्तुस्थिति नजिकबाट नियाल्न र नेपालीको सोधखोज गर्न भनेको छ,’ परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ पत्रिकासँग भने, ‘अहिलेसम्म नेपालीहरू रहेको, उहाँहरूलाई कुनै अप्ठ्यारो भएको जानकारी छैन ।’ 

नेपाली अधिकारीका अनुसार थाइल्यान्डमा करिब ८० हजारको संख्यामा नेपाली छन् । कम्बोडियामा बस्ने नेपालीको संख्या तीन हजारजति छ । सीमाक्षेत्रमा नेपाली नरहेको र अन्य भूभागमा रहेका नेपाली सुरक्षित रहेको अधिकारीहरू बताउँछन् । 

शताब्दीऔँ पुराना प्रेअह विहेर र पौसात टामुएन थोम मन्दिरनजिकै झडप भएको छ । उनीहरूबिच लगातार रकेट तथा तोपगोलाको हमला भइरहेको छ । ‘खमरे साम्राज्यसँग सम्बन्धित यी प्राचीन मन्दिरहरू दुवै देशबिच लामो समयदेखि चलिरहेको सीमाविवादका संवेदनशील विन्दु हुन्,’ समाचार संस्था एएफपीले लेखेको छ ।

बिहीबार सीमाक्षेत्रबाट थाइल्यान्डका करिब एक लाख ३० हजार तथा कम्बोडियाका ३० हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् । समाचार संस्था एपीका अनुसार थाइल्यान्डमा २० र कम्बोडियामा १३ जनाको मृत्यु भएको छ । दुई महिनाअघि सीमाक्षेत्रमा मनमुटाव सुरु भएर भिडन्तको अवस्थामा पुगेको छ । त्यसवेला कम्बोडियाका एक सैनिक मारिएपछि भिडन्तको अवस्था उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई देशबिच पछिल्लो दशकको सबैभन्दा ठुलो सीमा समस्या हो । रोयटर्सका अनुसार दुवै पक्षले आत्मरक्षाका लागि गोली चलाएको प्रतिक्रिया दिएका छन् । कम्बोडियाले शनिबार युद्धविरामका लागि प्रस्ताव गरेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले दुवै पक्षलाई भिडन्त रोक्न र संयमता अपनाउन अनुरोध गरेको छ । 

शनिबार दुवै पक्षले पुष्टि गरेअनुसार थाइल्यान्डको तटीय ट्राट प्रान्त र कम्बोडियाको पुर्सात प्रान्तमा पछिल्लो झडप भएको छ । दुई देशबिच लामो समयदेखिको सीमा विवादबाट उत्पन्न भिडन्तको नयाँ मोर्चा बन्न पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।