
पूर्वी पहाडी जिल्ला संखुवासभाको मकालु गाउँपालिका–६, बास्थलास्थित ढुंगामाथि रहेको माङ्मा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ। मकालु गाउँपालिका–६, बास्थला गाउँभन्दा करिब तीन-चार किमिमाथि डाँडामा ठुलो ढुंगा रहेको छ । वरिपरि बाक्लो जंगल र जंगलको बिचमा ठुलो ढुंगा रहेको छ भने सोही ढुंगाको बिचमा बाह्रै महिना कहिल्यै नसुक्ने पानी जमेको पोखरी छ ।
ढुंगाको बिचमा करिब ११ मिटर लम्बाई, ६ मिटर चौडाइ र करिब ३ मिटर गहिराइ रहेको पोखरी छ। ढुंगामाथि पोखरी रहेको यो दुर्लभ र विरलै मात्रै देख्न सकिन्छ। स्थानीय गाउँलेहरू सो पोखरीमा साक्षात देवताको वास रहेको भन्ने जनविश्वास र मान्यताले पूजाआजा गर्ने गर्दछन्। गाउँलेहरू भेला भई राई समुदायको महान चाडपर्व उधौली र उभौलीमा त्यहाँ धूपबत्ती बाल्ने र प्रसाद ग्रहण गर्ने गरिन्छ। नाग देवता रहेको मान्यताले बलि दिने र काटमार केही पनि नगर्ने गरेको गाउँलेहरू बताउँछन्। उक्त क्षेत्रमा अधिकांश राई, कुलुङ र मेवाहाङ समुदायको बसोबास रहेको छ।
पहिलेदेखि बाबुबाजेको पालादेखि नै यो ढुंगामाथि पोखरी रहेको र पूजाआजा गर्ने गरेको स्थानीय धनराज राईले बताए। यो क्षेत्रका मानिसहरूले देवताको रूपमा माङ्मा पोखरीलाई श्राद्धपूर्वक मान्ने गरेको राईले बताए। ‘ढुंगामाथि पोखरी त्यो पनि कहिल्यै सुक्दैन, तर दुर्गम भएकाले प्रचारप्रसारको अभावमा ओझेलमा छ। यहाँ धार्मिक पर्यटकीय केन्द्र बनाउन लागि परेका छौँ। सबैको सहयोगको अपेक्षा छ,’ स्थानीय अगुवा राईले भने, ‘माङ्मा पोखरीसम्म धेरै मानिसहरूको आवातजावात होस भनेर पोखरीसम्म पुग्ने बाटो गाउँलेहरूको जनश्रमदान र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाटो सोलिङ र मर्मत गर्ने काम भएको छ। पोखरीको छेउमा भक्तजनहरूको लागि प्रतीक्षालय निर्माण गरेका छौँ, अब मन्दिर बनाउने योजना छ ।’