
मनसुनी वर्षाले गर्दा जुन २६ देखि मृत्यु हुनेको संख्या २१६ पुगेको तथा ५८० जना घाइते भएको पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जियो टिभीले जनाएको छ ।
पाकिस्तानमा विगत २४ घण्टामा वर्षा र बाढीसम्बन्धी घटनाका कारण कम्तीमा १३ जनाको मृत्यु भएकोे सोमबार जियो टिभीले जनाएको छ।
निरन्तरको वर्षाका कारण बाढी र डुबान हुँदा धेरै मानवीय हताहत भएको हो । सबैभन्दा बढी मृत्यु बाढी र पहिरोका कारण घरहरू भत्किएर वा डुबानमा परेर भएको बताइएको छ भने केहीको चट्याङ र अन्य मौसमी विपतका कारण भएको हो ।
पाकिस्तानको विपत् व्यवस्थापन निगरानी निकायले पछिल्लो २४ घण्टामा पञ्जाबमा १२ र खैबर पख्तुनख्वामा एकजनाको मृत्यु भएको जनाएको छ । पीडितमध्ये चार बालबालिका र तीन महिला थिए । मनसुनी वर्षा सुरु भएदेखि १०१ जना बालबालिकाको मृत्यु भएको बताइएको छ ।
एनडिएमएले जारी गरेको विज्ञप्तिमा वर्षा सुरु भएदेखि लगभग आठ सय घर ध्वस्त भएका छन् भने लगभग दुई सय जनावरको मृत्यु भएको छ ।
युएन न्युजको हालैको रिपोर्टअनुसार खैबर पख्तुनख्वा र गिलगिट बाल्टिस्तान क्षेत्रमा पनि हिमनदीको तालबाट बाढी आउने डर छ ।
सन् २०२२ मा मनसुनी बाढीले एक हजार सात सयभन्दा बढी मानिसको ज्यान लिनुका साथै लाखौँ व्यक्ति विस्थापित भएको र लगभग ४० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो ।