मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
हदिश खुद्दार जनकपुरधाम
२o८२ श्रावण ५ सोमबार १५:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

होटेलको छतबाट खसालेर हत्या गरेको आरोपमा युवती पक्राउ

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार १५:२६:oo

जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरीको पर्सा गाउँपालिका– १ का ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

सोमबार बिहान पत्रकार सम्मेलन गर्दै प्रहरीले महोत्तरी बलवा नगरपालिका– ७ बनौटीकी २१ वर्षीया जुली झालाई पक्राउ गरी सार्वजनिक गरेको हो। झा केही वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका– ४ डेरा गरी स्नातकमा अध्ययन गर्दै आएकी थिइन्।

शनिबार राति करिब साढे ३ बजे जनकपुरधामको जिरोमाइलस्थित होटेल एसपी एन्ड गेस्ट हाउसमा यादवलाई छुरा प्रहार गरी घाइते बनाएर खसालेर हत्या गरिएको थियो। जनकपुरधामको प्रादेशिक अस्पतालमा उपाचारकै क्रममा आइतबनर बिहान यादवको मृत्यु भएको थियो।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले दुवैबिच लामो समयदेखि प्रेम सम्बन्ध रहेको बताए। दुई बच्चाको बाबुसमेत रहेका विमलेशले लामो समयदेखि जुलीसँग अवैध सम्बन्ध राख्दै आएका बताइएको छ।

डिएसपी सिंहका अनुसार शनिबार राति युवकले कोठा बुक गरेर पछि युवतीसँग गएको सिसिटिभीमा देखिन्छ। त्यसपछि रातको ३ बजे उनीहरूबिच विवाद भई घटना भएको खुलेको छ।

‘केटा विवाहित हो। तर, उनीहरू पहिला नै प्रेम सम्बन्धमा रहेको देखिन्छ। त्यो सम्बन्ध कायमै राखी केटाले बार्गेनिङ गरेको देखिन्छ,’ उनले भने, ‘सम्बन्धमा नरहे पुराना म्यासेज, फोटोलगायत सार्वजनिक गर्ने धम्की दिएपछि घटना भएको देखिन्छ।’ चक्कु प्रहार गरी घाइते बनाएर एकतलाबाट युवकलाई खसालेको पनि भिडियोमा देखिन्छ। त्यसपछि युवक बेहोस हुँदा नै युवती उनको छेउबाट भाग्न खोजेको छ। 

धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले दुवैजना सम्बन्धमा रहेको र अझै त्यस्तो सम्बन्ध कायम राख्नुपर्ने विषयमा ब्ल्याकमेल गर्दा विवाद हुँदा घटना भएको देखिएको बताए। विमलेश र जुलीबिच तीन वर्ष अघिदेखि अवैध सम्बन्ध थियो।

एक प्रहरीका अनुसार विमलेश वैदेशिक रोजगारीमा हुँदा जुलीलाई सापटीको रूपमा रकम पठाउने गर्थे। ‘पछिल्लो समय जुली विमलेशसँग दूरी बनाउन चाहन्थिन्,’ अनुसन्धानमा खटिएका ती प्रहरीले भने, ‘तर, विमलेशले अवैध सम्बन्ध नराख्ने हो भने लिएको सापटी फिर्ता माग्ने गरेका थिए।’ विमलेशको त्यही ब्ल्याकमेलिङको कारण ज्यान गएको उनले दाबी गरे।