मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
Invalid date format २१:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अन्त्येष्टि गरेको चार दिनपछि खाल्डोबाट शव उत्खनन, हत्या आरोपमा सहोदर भाइसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:२४:oo

कैलालीको धनगढी उपमहानगरपालिका– १४, फूलबारीमा एकजनाको अन्त्येष्टि गरेको चार दिनपछि प्रहरीले खाल्डोबाट शव उत्खनन गरेको छ। स्थानीय ३५ वर्षीय गणेश गिरीको हत्या गरी अन्त्येष्टि गरिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयले शव उत्खनन गरेर पोस्टमार्टम गरेको हो।

गिरीको हत्या अभियोगमा प्रहरीले उनका भाइ ३३ वर्षीय पदम गिरी र भान्जा नाता पर्ने १८ वर्षीय प्रदीप बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

२८ असारमा प्रदीपको कुटपिटबाट घाइते भएका गणेशको ३० असारमा मृत्यु भएको खुलेको प्रहरी नायब उपरीक्षक सिंहले बताए । प्रहरीका अनुसार मृतकका परिवारले परम्पराअनुसार शव खाल्डोमा गाडेर अन्त्येष्टि गरेका थिए ।

‘मृतकका परिवारले शव खाल्डोमा गाडेर अन्त्येष्टि गरेका रहेछन्,’ उनले भने, ‘हत्या भएको सूचना पाएपछि शव उत्खनन गरेर पोस्टमार्टम गरेका छौँ।’ 
३० गते नै अन्त्येष्टि गरिएको शव बिहीबार उत्खनन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा एअरफोन चोरीको आरोपमा बोहराले गणेशमाथि कुटपिट गरेको खुलेको छ। उनका भाइ पदमलाई भने घटनाको मतियारका रूपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए। बोहराले आफूले कुटपिट गरेको स्वीकार गरेको प्रहरीले दाबी गरेको छ।