मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:११:oo
Read Time : > 1 मिनेट
समाचार

कर्णाली विकास बैंकको साढे दुई अर्ब घोटालामा राष्ट्र बैंककै मिलेमतो, पूर्वकर्मचारी पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:११:oo

कर्णाली विकास बैंकको करिब साढे दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंककै मिलेमतो देखिएको छ । मिलेमतोको आरोपमा बैंकको अनुगमनमा खटिएका नेपाल राष्ट्र बैंकका तत्कालीन सहायक निर्देशक भुवन बस्नेतलाई  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार पक्राउ गरेको छ । 

ठगीमा उनको समेत भूमिका शंकास्पद देखिएपछि पक्राउ गरिएको सिआइबीका एसएसपी होबिन्द्र बोगटीले बताए । ६१ वर्षीय बस्नेतले गत वर्ष मात्र राष्ट्र बैंकबाट अवकाश पाएका थिए । 

सो बैंकको हिनामिनामा यसअघि तीनजना पक्राउ परिसकेका छन् । बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्रा र  वित्त विभागका प्रमुख देवप्रकाशसिंह ठकुरीलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । बैंकका सञ्चालकले नेपाल राष्ट्र बैंकका अधिकारीलाई समेत प्रभावमा पारेर बैंकमा हिनामिना गर्दै आएको खुलेको छ । यसरी राष्ट्र बैंककै कर्मचारीमाथि सिआइबीले अनुसन्धान गरेको यो पहिलोपटक हो ।     

कर्णाली विकास बैंकमा ०७० देखि नै हिनामिना हुँदै आएको थियो । तर, १० वर्षसम्म पनि केन्द्रीय बैंकले सुपरिवेक्षणमा सो तथ्य लुकाएको आरोप छ ।  बैंकको वित्तीय अवस्था राम्रो रहेको भन्दै राष्ट्र बैंकले सुपरिवेक्षण प्रतिवेदन दिएकै वेला एक्कासि सर्वसाधारणको निक्षेप नै फिर्ता गर्न नसक्ने अवस्थामा संस्था पुगेको थियो । राष्ट्र बैंकले स्थलगत सुपरिवेक्षण गरी तयार गरेको प्रतिवेदनमा आर्थिक वर्ष ०८०/८१ सम्म सो बैंकमा सामान्य कमजोरीबाहेक ‘राम्रो अवस्था’ रहेको उल्लेख गरेको थियो । पछि बैंकले सर्वसाधारणको निक्षेप नै फिर्ता गर्न नसक्ने अवस्था आएपछि मात्र राष्ट्र बैंकले हस्तक्षेप गरेको हो । 

बैंकमा एक लाख एक हजार सर्वसाधारणको चार अर्ब ९० करोड बचत थियो । त्यसमध्ये अधिकांश रकम सञ्चालकले नै दुरुपयोग गरेका हुन् । सर्वसाधारणलाई निक्षेप पनि फिर्ता दिन नसकेको र खराब कर्जा ४० प्रतिशत पुगेपछि मात्र राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । यसअघिका प्रतिवेदनमा कर्जा असुलीमा ध्यान दिनुपर्नेलगायत सामान्य कमजोरी मात्र सुपरिवेक्षकले औँल्याएका थिए । सोही कारण बैंकको सेयरसमेत उच्च मूल्यमा पुगेको थियो । सिआइबीले पछिल्लोपटक स्थलगत सुपरिवेक्षणमा खटिएका राष्ट्र बैंकका कर्मचारीलाई पनि अनुसन्धानको दायरामा ल्याएको हो ।