मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १७:४o:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

देशकै उत्कृष्ट बन्यो रंगेली नगर अस्पताल

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १७:४o:oo

पहिले लथालिंग अवस्थामा रहेको मोरङको रंगेलीस्थित नगर अस्पताल अहिले देशकै नमुना अस्पताल बनेको छ। केही वर्षअघिसम्म अस्तव्यस्त र जीर्ण अवस्थामा रहेको रंगेली अस्पताल कोशी प्रदेश सरकार र नगरपालिकाको कुशल व्यवस्थापनका कारण देशमै नमुना अस्पताल बन्न सफल भएको हो।

न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा स्थानीय तहमातहत सञ्चालन भएका देशभरका अस्पतालमध्ये रंगेली नगर अस्पतालले सबैभन्दा बढी ८६ अंक प्राप्त गर्दै उत्कृष्ट बनेको रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले बताए। उनका अनुसार सुशासन, व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा सूचकका आधारमा रंगेली अस्पतालले सबैभन्दा बढी अंक पाएको हो।

प्रमुख बगडियाले सबैको साझा प्रयासका कारण अस्पताल नमुना र उदाहरणीय बन्न सफल भएको उल्लेख गरे। ‘नगरपालिकाको व्यवस्थापकीय भूमिका मात्रै हो, अस्पताल व्यवस्थापन समिति, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको निरन्तर प्रयासकै कारण अस्पताल व्यवस्थित र सुविधासम्पन्न बन्न सकेको हो,’ उनले भने। उनले आगामी मूल्यांकनमा अझ राम्रो नतिजा ल्याउने गरी चिकित्सक र स्वास्थ्यकर्मीलाई निरन्तर सुधारमा लाग्न आग्रह गरे।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाका अनुसार पालिकामार्फत सञ्चालित अस्पतालहरूको हरेक ६ महिनामा संघीय सरकारको स्वास्थ्य मन्त्रालयले विभिन्न सूचकलाई मापदण्ड बनाएर मूल्यांकन गर्छ। उनले भनिन्, ‘६ महिनापछि रंगेली नगरपालिकाले थप सुधार गरेपछि अंक बढाउन सफल भएको हो। सुधार हुँदै गएपछि अझ अंक बढ्दै जानेछ।’

उनका अनुसार पहिले जीर्ण अवस्थामा रहेको रंगेली अस्पतालले आफैँलाई सुधार्दै विकासमा फड्को मारेको र स्थानीय तहमातहत सञ्चालन भएका अस्पतालहरूमध्ये सबैभन्दा सुविधासम्पन्न बनेको हो।

रंगेलीका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले रंगेली अस्पताल गुणस्तरीय र सुलभ स्वास्थ्य सेवाका हिसाबले देशकै नम्बर १ अस्पताल बनेको बताए। आगामी मूल्यांकनमा दिइएका सुझावहरू कार्यान्वयन गर्दै सेवा थप विस्तार गरिने उनको भनाइ छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वसन्त साहले यो सफलता सम्पूर्ण स्वास्थ्यकर्मीको समर्पण, नगरपालिकाको सहयोग र सेवाग्राहीको विश्वासकै कारण सम्भव भएको बताए। अस्पताल विकास समितिका अध्यक्ष देवमणि कटुवालले सबैको सहयोगकै कारण रंगेली अस्पताल देशकै उत्कृष्ट बन्न सफल भएको भन्दै सबैलाई धन्यवाद दिए। मेसु डा. साहका अनुसार पाँच वर्षअघि मोरङ जिल्ला अस्पतालको रूपमा चिनिएको रंगेली नगर अस्पतालको भौतिक संरचना र सेवासुविधा दयनीय अवस्थामा थियो। बिरामीहरू उपचार गर्नसमेत आउन छाडेका थिए। हाल विभिन्न विभागसहित गुणस्तरीय सेवा प्रदान गर्न थालेपछि बिरामीको संख्यासमेत बढेको छ।

पहिले चिकित्सक र स्वास्थ्यकर्मी बस्न नमान्ने रंगेली अस्पतालमा १५५ जना स्वास्थ्यकर्मी, ११ विशेष चिकित्सकलगायतले सेवा दिइरहेका छन्। पहिले १५ शय्यामा सीमित अस्पतालमा अहिले ७० शय्या सञ्चालनमा छन्। अस्पतालमा २४ सै घण्टा आपतकालीन, बाहिरंग र अन्तरंग सेवा सञ्चालन छन्। आफ्नै प्रयोगशाला, भिडियो एक्सरे, जनरल अप्रेसन कक्ष, फार्मेसी, प्रसूति कक्ष र आधुनिक आपतकालीन कक्ष उपलब्ध छन्। हाल अस्पतालमा दैनिक चार सयदेखि ६ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्। इमर्जेन्सीमा दैनिक दुई सयजना र प्रसूतिगृहमा मासिक दुई सयभन्दा बढी आमाहरूले प्रसूति सेवा लिन थालेका छन्।

संघीयता कार्यान्वयनपछि मोरङको पुरानो सदरमुकाम रंगेलीस्थित जिल्ला अस्पताल स्थानीय तहमातहत नगरपालिकामार्फत सञ्चालनमा आएको हो। तत्कालीन प्रदेश १ सरकारले १५ शय्या मात्र रहेको मोरङको रंगेली अस्पताललाई ५० शय्या क्षमतामा स्तरोन्नति गरी नगरपालिकामातहत सञ्चालन गराउन थालेको हो।

विराटनगरबाट २० किलोमिटर टाढा रहेको रंगेली नगर अस्पतालले मोरङको पूर्व–दक्षिण क्षेत्रका रंगेली, रतुवामाई, सुनवर्षी नगरपालिका, धनपाल गाउँपालिका र भारतीय सीमावर्ती क्षेत्रका नागरिकलाई समेत स्वास्थ्य सेवा दिँदै आएको छ।

नगरपालिकाले सञ्चालन गर्नुअघि चिकित्सकको अभाव रहने, आएका चिकित्सकहरू पनि लामो समय बस्न नचाहने समस्या थियो। तर, अहिले नगरपालिकाले करारमा चिकित्सक नियुक्त गर्न थालेपछि डाक्टर र स्वास्थ्यकर्मीको समस्या नरहेको नगर प्रमुख बगडियाले जानकारी दिए।