मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025
अजित अधिकारी काठमाडौं
२o८२ श्रावण १ बिहीबार ११:१५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सर्वाधिक कारोबार गर्ने पेट्रोल पम्पको सूचीमा धादिङको भैरवी इन्टरप्राइजेज पहिलो, दोस्रोमा चितवनको कैलाश आयल

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १ बिहीबार ११:१५:oo

आर्थिक वर्ष ०८१/८२ मा सबैभन्दा ठुलो आर्थिक कारोबार गर्ने पेट्रोल पम्पको सूचीमा धादिङको भैरवी इन्टरप्राइजेज पहिलो स्थानमा उक्लिएको छ । दुई वर्षअघि आव ०७९/८० मा पनि सर्वाधिक कारोबार गरेको यस पम्पले गत आवमा एक अर्ब ८० करोड ४९ लाख ७५ हजार ८७३ रुपैयाँको पेट्रोल–डिजेल आयल निगमबाट खरिद गर्दै सबैभन्दा धेरै कारोबार गर्न सफल भएको हाे ।

आयल निगमबाट खरिद गरेको इन्धनमा निगमले नै तोकिएको नाफादर जोडेर मात्रै पम्पले इन्धन बिक्री गर्न पाउने व्यवस्था छ । त्यसैले निगमबाट बढी मूल्यको इन्धन खरिद गर्ने पेट्रोल पम्प नै सबैभन्दा धेरै कारोबार गर्न सक्षम हुने गरेका छन् ।

धादिङ सदरमुकाम धादिङबेँसीको भैरवी पम्पले निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जबाट दैनिक ६० हजार लिटरसम्म डिजेल र १० हजार लिटरसम्म पेट्रोल खरिद गरेको लैजाने गरेको छ । पम्प सञ्चालक टंक श्रेष्ठले जलविद्युत् आयोजना, निर्माणाधीन सडकलगायतलाई ठुलो परिमाण (बल्क) मा इन्धन बिक्री गर्दै आएको बताए ।

‘मैले ठुला परियोजनाहरूमा बल्कमा इन्धन दिने गरेको छु । त्यसैले कारोबार अलि बढी हुने गरेको छ,’ उनले भने, ‘सार्वजनिक यातायातहरूमा पनि दिने गरेको छु ।’

भैरवीले गत आवमा ९८ लाख ३१ हजार लिटर डिजेल र २६ लाख ३६ हजार ४८० लिटर पेट्रोल खरिद गरेर लगेको निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्ज प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए ।

उक्त पेट्रोलपम्प आव ०७९/८० मा पनि एक अर्ब ७९ करोडको कारोबार गर्दै पहिलो भएको थियो । तर, उधारोमा बिक्री गरेको अधिकांश इन्धनको भुक्तानीमा समस्या भएपछि आव ०८०/८१ मा कारोबार नै कम गरेको सञ्चालक श्रेष्ठले जानकारी दिए । जसकारण आव ०८०/८१ मा भैरवी इन्टरप्राजेज तेस्रो भएको थियो ।

चितवनको कैलाश आयल दोस्रो स्थानमा

यसैगरी, चितवनको कैलाश आयल विगतमा जस्तै यसपटक पनि दोस्रो स्थानमा छ । कैलाश आयलले निगमको अमलेखगन्ज डिपोबाट एक अर्ब ६४ करोड ६८ लाख ५६ हजार ३७४ रुपैयाँको पेट्रोल–डिजेल खरिद गरेको लगेको थियो ।

सो पम्पले डिजेल ७७ लाख ५६ हजार लिटर र पेट्रोल ३५ लाख आठ हजार लिटर खरिद गरेको लगेको अमलेखगन्ज डिपोले जनाएको छ । कैलाश आयल अघिल्लो आव ०८०/८१ मा पनि दोस्रो स्थानमै थियो । त्यतिवेला कैलाश आयलले एक अर्ब ५७ करोडको इन्धन निगमबाट किनेको थियो ।

चितवनको भरतपुर महानगरपालिका पुल्चोकमा रहेको पम्पले ठुला क्षमताका सार्वजनिक सवारीसाधनमा ठुलो मात्रामा इन्धन वितरण गर्ने गरेको छ । त्यस्तै, बल्कमा समेत इन्धन दिने गरेको छ । कैलाश आयल बर्सेनि दोस्रो वा तेस्रो स्थानमा रहने गरेको छ ।