
नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन मन्त्रीले ७८ लाख घुसको डिल गरेको घटनामा प्रधानमन्त्रीको जवाफ मागेकी छिन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्थामन्त्री जोडिएको उल्लेख गर्दै भनिन्, ‘यो विषयमा के भएको हो ? सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदमा जानकारी गराउन अनुरोध गर्न चाहन्छु सभामुखज्यूमार्फत।’
यस प्रकरणमा जोसुकै दोषी देखिए पनि कडाभन्दा कडा कारबाही गर्न माग गर्दै शर्माले थप भनिन्, ‘अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ भन्ने कुरा पनि राख्न चाहन्छु।’
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको घटना बाहिरिएपछि सत्ताको नेतृत्वको गरेको उनको पार्टी एमालेमाथि नैतिक प्रश्न जन्मिएको छ। एमालेकै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी पनि मुछिएको यो प्रकरणमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले एक्सन लिनुपर्ने आवाज उठिरहेको छ।