मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format o८:१६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नौ महिनापछि प्रधानमन्त्री ओलीले फेरि उद्घाटन गरे बुद्धशान्ति अस्पताल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१६:oo
  • १० असोज ०८१ मा अस्पतालको जग्गादाताले उद्घाटन गरेका थिए, ओलीले शनिबार गृहजिल्ला झापाको बुद्धशान्ति अस्पतालको शिलापत्रमा नाम लेखाउँदै फेरि गरे उद्घाटन

झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको अस्पताल १० असोज ०८१ मा उद्घाटन भएको थियो । त्यसवेला भागीरथा बुद्धशान्ति अस्पतालको नाममा अस्पताल भवनको उद्घाटन भएको थियो । तर, नौ महिनापछि प्रधानमन्त्री केपी ओलीले पहिले नै उद्घाटन गरेको अस्पताल भवनको शनिबार उद्घाटन गरेका छन् । 

ओलीले भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको नाममा अस्पताल भवनको उद्घाटन गरेका हुन् । गृहजिल्ला झापा आएका वेला उनले बुद्धशान्ति– ३ मा रहेको १० शड्ढयाको अस्पताल दोस्रोपटक उद्घाटन गरेका हुन् । 

१५ मंसिर ०७७ मा प्रधानमन्त्री ओलीले देशभर ३०९ स्थानीय तहमा पाँचदेखि १५ शड्ढयाका अस्पताल शिलान्यास गर्दाको एक हो, भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल । यो अस्पताल आर्थिक वर्ष ०७८/७९ मा ६ करोड ५२ लाखमा भवन निर्माणको ठेक्का लागेर आव ०८०/८१ मा सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी देवेन्द्र कटुवालले जानकारी दिए । उनका अनुसार यो अस्पताल निर्माणका लागि तत्कालीन बुधबारे गाउँपञ्चायतकी पूर्वप्रधानपञ्च भागीरथा न्यौपानेको परिवारले १५ कट्ठा जग्गा दान गरेको थियो । न्यौपाने नेपालको पहिलो महिला प्रधानपञ्च रहेको सूचना अधिकारी कटुवालको दाबी छ । उनको परिवारले जग्गा दान गरे पनि विवादका कारण लामो समयसम्म अस्पतालको नामांकन हुन सकेको थिएन । कटुवालका अनुसार ११ चैत ०८१ मा मात्र मन्त्रिपरिषद् बैठकले भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल नामांकन गर्ने निर्णय गरेको थियो । 

१० असोज ०८१ मा बुद्धशान्ति गाउँपालिकाको आयोजनामा भागीरथाका छोराहरू हरिप्रसाद र कुलप्रसादले अस्पतालको उद्घाटन गरेका थिए । ‘तत्कालीन समयमा अस्पताल सानो ठाउँमा भएकाले नयाँ भवनमा सारिएको हो,’ उनले भने, ‘यसको शुभारम्भ जग्गा दाता परिवारले १० असोज ०८१ मा गर्नुभएको हो ।’

लामो समयदेखि विवादका कारण अस्पतालको नामांकन हुन नसकेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए । गत ११ चैतमा आफूले नेतृत्व गरेको मन्त्रिपरिषद्ले नामांकन गरिदिएकाले ओली झापा आएका वेला अस्पतालको उद्घाटन गरिएको उनको भनाइ छ । ‘यो अस्पतालको नाम नै थिएन । नामका लागि मन्त्रिपरिषद्मा लानुपर्ने रहेछ,’ उनले भने, ‘लामो समयदेखि नामका लागि पठाएका थियौँ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले लगेको प्रस्तावमा मन्त्रिपरिषद्ले नामांकन गर्‍यो । गाउँपालिकाले माग गरेअनुसार अस्पतालको नाम आयो । तसर्थ, उहाँ (ओली) झापा आएका वेला उद्घाटन गरेका हौँ ।’ 

बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले नौ महिनाअघि भवन सार्न उद्घाटन गरिए पनि शनिबार भने प्रधानमन्त्रीबाट औपचारिक उद्घाटन गरिएको बताए । ‘हामीले रेडक्रसको भवनबाट स्वास्थ्य केन्द्रजस्तो अस्पताल चलाइरहेका थियौँ । नामांकन भएको पनि थिएन । ठाउँ साँघुरो भएपछि नयाँ भवनमा जाने भनियो । ठाउँ सर्दा त्यत्तिकै सर्ने कुरा भएन । त्यसवेला उद्घाटन र सेवा शुभारम्भ भनियो । त्यो उद्घाटन होइन, शुभारम्भ हो । अगाडि बनेको भवन किन त्यसै राख्नु भनेर कार्य शुभारम्भ गरेका हौँ,’ उनले भने, ‘नामांकन भएपछि औपचारिक उद्घाटन प्रधानमन्त्रीज्यूले गर्नुभएको हो । नामांकन भएपछि ऐन पनि बनायौँ । त्यहीअनुसार विधिवत् उद्घाटन भएको हो ।’

यसअघि झापा आएको समयमा प्रधानमन्त्री ओलीले १५ प्रतिशत काम सम्पन्न भएपछि गौरादह नगर अस्पतालको शिलान्यास गरेका थिए । उनले ३१ चैतमा काम अघि बढिसकेको गौरादह नगर अस्पतालको शिलान्यास गरेका थिए । 

शनिबार अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जग्गा दाता भागीरथा न्यौपानेका छोराबुहारीलाई धन्यवाद दिए । उनले जग्गा दिएका कारण नै अस्पताल बनाउने आधार बनेको बताए । भागीरथा न्यौपानेजस्ता न्यायप्रेमी महिला नेतृको नाममा अस्पतालको नाम राख्न पाउँदा खुसी भएको उनले बताए । ओलीले भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको नाम आफैँले मन्त्रिपरिषद्बाट राखेको बताए । ‘यहाँ आकस्मिक सेवा, गाइनोसम्बन्धी सेवा, प्रसूति सेवा, ल्याब सेवा अविलम्ब थाल्नुपर्छ,’ उनले भने, ‘यो अस्पतालका लागि लामो समयदेखि प्रयास थाल्नुभएको थियो । सफल हुनुभएको छ । यहाँ इलामको फिक्कल, रोङका जनताले पनि सेवा लिनेछन् । गाउँपालिका अध्यक्षले ध्यानाकर्षण पत्र दिनुभएको छ । अध्ययन गरेर के गर्न सकिन्छ जानकारी गराउनेछु ।’

प्रधानमन्त्री दिनभर झापा र इलाममा व्यस्त 
दुई दिनका लागि पूर्व आएका प्रधानमन्त्री ओली शनिबार झापा र इलाममा व्यस्त रहे । उनले झापामा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल र इलामको माई नगरपालिकामा नगर अस्पताल उद्घाटन गरे । इलाममा भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी १५२ परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण र माई बृहत् खानेपानी आयोजनाको शिलान्यास गरेका थिए । शनिबार नै कन्काई नगरपालिकामा २०८ भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरे । उनले धनीपूर्जा वितरण गर्दै यो अन्त्य नभई सुरुवात मात्र भएको दाबी गरे । उनले जनताको जीवनमा परिवर्तन आएको बताए । तर, अझ ठूलो परिवर्तन ल्याउन देशका ठुला दुई पार्टीको संयुक्त सरकार बनाएको दाबी गरे । उनले हल्ला र अराजकताका भरमा देशमा विभिन्न गतिविधि सञ्चालन गर्न खोजिएको र यसको पछि नलाग्न आग्रह गरे । आइतबार पनि झापामा हुने केही कार्यक्रममा सहभागी भएर उनी काठमाडौं फर्कने कार्यक्रम रहेको एमाले झापाले जनाएको छ ।