
नेपाली पुरुष फुटबल टोलीले फिफा वरीयतामा एक स्थान गुमाएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल १७६औँ स्थानमा रहेको छ । यसअघि नेपाल १७५औँ स्थानमाा थियो । नेपालले गत जुनमा हङकङसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो ।
त्यस्तै, जुनमै एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँगको खेलमा २–१ ले पराजित भएको थियो । नेपाल पहिलोपटक लाओसँग हारेको थियो । दक्षिण एसियामा श्रीलंकाबाहेक अन्य सबै राष्ट्रले वरीयता गुमाएका छन् । भारतले एकैपटक ६ स्थान गुमाएको छ । भारत १३३औँ स्थानमा पुगेको छ । सात स्थान गुमाएको माल्दिभ्स १७१औँ स्थानमा छ ।
नेपालभन्दा पछि रहेको बंगलादेश १८४औँ स्थानमा पुगेको छ । बंगलादेशले एक स्थान गुमाएका छ । भुटान चार स्थान तल झरेर १८६औँ स्थानमा पुगेको छ । श्रीलंकाले भने चार स्थान सुधार गरेको छ । श्रीलंका १९६औँ स्थानमा पुगेको छ । श्रीलंकाले पछिल्लो समय वरीयतामा आफूभन्दा माथिल्लो स्थानमा रहेको चाइनिज ताइपेईलाई ३–१ ले पराजित गरेको थियो । मैत्रीपूर्ण खेलमा ब्रुनाईमाथि १–० को कठिन जित हात पारेको थियो ।
दक्षिण एसियामा सबैभन्दा पुछारमा रहेको राष्ट्र पाकिस्तान हो । पाकिस्तानले तीन स्थान गुमाउँदा २०१औँ स्थानमा रह्यो । एसियन कप छनोटमा नेपाललाई हराएको लाओसले पाँच स्थान सुधार गरेको छ । लाओस नयाँ वरीयताअनुसार १८५औँ स्थानमा छ । विश्व च्याम्पियन अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमै छ । एसियामा जापानले दुई स्थान गुमाउँदा समग्रमा विश्व वरीयतामा १७औँ स्थानमा छ । स्पेन दोस्रोमा, फ्रान्स तेस्रोमा, इंग्ल्यान्ड चौथो र ब्राजिल पाँचौँ स्थानमा यथावत् छन् ।