युएसएआइडीलाई प्रतिस्थापन गर्न इच्छुक छैन चीन

चिनियाँ दस्ताबेजले देशलाई अन्तर्राष्ट्रिय सहायता गतिविधिमा त्यति महत्व दिएको पाइँदैन

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी ‘युएसएआइडी’ कटौती गर्न थालेदेखि नै धेरै टिप्पणीकारले चीनलाई नयाँ अवसर खुलेको बताउन थालेका थिए । बेइजिङले वासिंटनले छोडेको ‘रिक्तता भर्ने’ तिनको तर्क छ । उसो त अमेरिकी विश्लेषकमाझ पनि चीनले अमेरिकी विदेशी सहायतालाई प्रतिस्थापन गर्ने डर वर्षौंदेखि चिन्ताको विषय थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआइडीलाई बन्द गर्न थालेदेखि चीनले नेपाल र कम्बोडियाजस्ता केही देशमा अमेरिकी परियोजना प्रतिस्थापन गर्न पहिले नै कदम चालिसकेको छ ।

तर, अमेरिकी सहयोगको विशाल परिमाण र चीनमा विदेशी सहायता बढाउने विचारले निम्त्याउनसक्ने घरेलु विरोधको कारण बेइजिङलाई वासिंटनको भूमिका भर्ने गरी अघि आउन त्यति सजिलो भने हुनेछैन । चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) र जनता दुवै यस विचारका विरोधी हुन् । पिइपिएफएआर, विश्वव्यापी एचआइभी/एड्स नियन्त्रणका पहल वा युएसएआइडीले वार्षिक रूपमा प्रदान गर्ने १० लाख मेट्रिक टनभन्दा बढी खाद्य सहायताको स्तरका अमेरिकी परियोजनालाई प्रतिस्थापन गर्न चीनको खासै इच्छा छैन ।

ट्रम्पको दोस्रो कार्यकालअघि अमेरिकाले ६३ अर्ब डलर सहायता गर्ने गरेकोमा चिनियाँ विदेशी सहायता प्रतिवर्ष पाँच अर्बदेखि आठ अर्ब डलरको बिचमा छ । चिनियाँ विदेश नीतिका विज्ञ युन सुनले दस्ताबेजीकरण गरेझैँ अफ्रिका र अन्य क्षेत्रलाई गरिने सहयोगले प्राय: चिनियाँ सार्वजनिक क्षेत्रमा आलोचनाको सामना गर्नुपरेको छ । सिसिपीको स्वामित्वमा रहेको राष्ट्रवादी ट्याब्लोइड ‘द ग्लोबल टाइम्स’ले त सार्वजनिक शंकाका कारण विदेशी सहायताको फाइदा खुलेआम छलफल गर्न नसकिने तर्क गरेको छ ।

यो अनिच्छाको एउटा कारण चीनको आफ्नै विकास स्थिति हो, देशको आर्थिक स्थिति भर्खर उच्च–मध्यम आय भएको मुलुकको श्रेणीमा पुगेको छ । यसको प्रतिव्यक्ति आय अमेरिकाको सात भागको एक भागमा छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले स्वदेशमै गरिबी उन्मूलनमा जोड दिएका छन्, तर ग्रामीण इलाकाको ठुलो हिस्सा र धेरै सहरी आप्रवासी अझै पनि गरिबीसँग जुधिरहेका छन् ।

चीनको नेतृत्व ‘सहायता’ वा ‘दाता’को शब्दावलीबाट पनि सावधान छ । आधिकारिक रूपमा सीले चीन ‘विकासशील देशको सदस्य रहने’ बताउने गरेका छन् । चीनले अहिले पनि विश्व व्यापार संगठनभित्र विकासशील राष्ट्रको स्थिति कायम राख्छ । चिनियाँ दस्ताबेजले देशलाई अन्तर्राष्ट्रिय सहायता गतिविधिमा त्यति महत्व दिएको पाइँदैन । यी सबै कुराले चीनका धेरै मानिस अझै पनि संघर्ष गरिरहेका वेला विदेशीलाई किन सहायता प्रदान गर्नुपर्छ भनेर चिनियाँ जनतालाई सोच्न बाध्य बनाएको छ ।

सी आफैँलाई सहायता बढाउनुको राजनीतिक मूल्यबारे विश्वस्त पार्न आवश्यक पर्न सक्छ । चिनियाँ नेताले स्वदेशमा तथाकथित कल्याणकारी व्यवस्थाको बारम्बार आलोचना गरेका छन् । चिनियाँ अभिजात वर्गमा रहेको सामान्य विश्वासलाई प्रतिध्वनित गर्दै उनले धेरै सरकारी सहयोगले आलस्य र निर्भरता सिर्जना गर्ने बताएका छन् । सीले तर्क गरेका छन् कि ल्याटिन अमेरिकी देशहरू कल्याणमा अत्यधिक निर्भर भए र त्यहाँका नागरिकलाई ‘मध्यम आयको पासो’मा छोडे । विदेशी सहायतालाई कहिलेकाहीँ सी र अन्य चिनियाँ नेताले समस्याको कारक भनेर चित्रण गर्छन्् । ट्रम्प प्रशासनले पनि ‘सहायता होइन, व्यापार’जस्ता भाषा प्रयोग गरेको छ । 

चीन सधैँ यस्तो थिएन । सन् १९७० को दशकको सुरुमा देशले आफ्नो अर्थतन्त्रको आकारको अनुपातमा ठुलो हिस्सा विदेशी सहायता प्रदान गथ्र्यो । उसले त्यति बेला आफ्नो जिडिपीको आश्चर्यजनक ५.८८ प्रतिशतबराबर सहायता प्रदान गरेको देखिन्छ । कम्युनिस्ट विश्वमा चीनले आफ्नो प्रतिद्वन्द्वी सोभियत संघमाथि प्रधानता कायम गर्न खोजेको थियो । यस सहायताको धेरैजसो अंशले उपनिवेशविरोधी आन्दोलन र समाजवादी साझेदारलाई समर्थन गर्यो, यद्यपि यसमा तान्जेनिया–जाम्बिया रेलवेजस्ता केही भव्य परियोजना पनि समावेश थिए ।

यद्यपि सन् १९७० को दशकको अन्त्यसम्म पुग्दा चीनले आफ्नो विदेशी सहायता संलग्नतामा आमूल पुनर्विचार गरिसकेको थियो । आफ्नो तथाकथित सुधार र खुलापन अवधिको पूर्वसन्ध्यामा अर्थात् सन् १९७१ देखि १९७५ र १९७६ देखि १९८० को पञ्चवर्षीय योजना अवधिको बिचमा चीनको औसत विदेशी सहायता खर्च ५५ प्रतिशतले घट्यो । यो परिवर्तन सन् १९७६ मा सांस्कृतिक क्रान्ति समाप्त भएपछि घरेलु अर्थतन्त्रलाई गम्भीर सुधार आवश्यक पर्दा विदेशमा धेरै पुँजी केन्द्रित गर्ने अस्थिरता र सोभियत संघसँगको तनाव कम हुँदै गएको मान्यताले प्रेरित भएको थियो । तर, पछि सन् १९८९ मा तियानमेन स्क्वायर नरसंहारपछि पश्चिमी देशले चीनलाई त्यागेपछि त्यहाँको सरकारले ‘ग्लोबल साउद’को धेरै भागसँग पुन: संलग्न हुन थाल्यो ।

बेइजिङले त्यसवेलादेखि सहायताको सट्टा चीनको प्रभुत्व बन्दै गएको व्यापार वित्तलाई प्राथमिकता दिन थाल्यो । यसमा सामान्यतया निर्यात–आयात बैंक अफ चाइना भनिने निर्यात क्रेडिट एजेन्सीद्वारा निर्यात गरिएका चिनियाँ सामान र सेवाको लागत समेट्न ऋणीका लागि विस्तार गरिएको ऋण समावेश छ । यी ऋणले पूर्वाधारदेखि सवारीसाधन हुँदै दूरसञ्चार उपकरणसम्म सबै कुरा समेट्न सक्छन् ।

वास्तवमा, विश्लेषकको एउटा सामान्य गलत धारणा भनेको विदेशी सरकार र संस्थालाई दिइने चिनियाँ ऋणलाई ‘विकास वित्त’को रूपमा परिभाषित गर्नु हो, किनभने यसको धेरैजसो भाग विकासशील देशमा प्रवाहित भइरहेको छ । यद्यपि, केही चिनियाँ ऋण आर्थिक सहयोग र विकास संगठनको परिभाषाअन्तर्गत विदेशी सहायताको रूपमा मान्यता पाउन पर्याप्त सहुलियतपूर्ण थिए, वास्तविकता यो हो कि यसको धेरैजसो अंश व्यावसायिक थियो ।

निश्चित रूपमा चीनले हालैका महिनामा केही साना युएसएआइडी कार्यक्रम प्रतिस्थापन गर्ने प्रस्ताव गरेको छ । तथापि ती निक्कै सानो स्तरका छन् । कम्बोडियामा चीनले संयुक्त राज्य अमेरिकाले त्यागेको खानीसम्बन्धी कार्यक्रमलाई सहयोग गर्न ४४ लाख डलर प्रदान गरेको छ । त्यो कम्बोडियालाई व्यापार वित्तमा प्रदान गरिएको अर्बौंको तुलनामा फिक्का छ । नेपालमा चीनले अमेरिकी सहयोग प्रतिस्थापन गर्ने प्रस्ताव गरेको बताइएको छ, तर यससम्बन्धमा कमै विवरण बाहिरिएका छन् । भारतसँग चीनको विवादित सीमामा नेपालको निकटताले पनि यसलाई बेइजिङको हिमालय रणनीतिका लागि विशेष रूपमा केन्द्रबिन्दु बनाउँछ ।

बेइजिङलाई अन्तर्राष्ट्रिय विश्व व्यवस्थामा भइरहेको द्रुत परिवर्तनबारे थाहा छ । यसले सम्भव भएसम्म राजनीतिक अवसर प्रयोग गर्नेछ, तर यसले विश्वव्यापी मञ्चमा वासिंटनको सफ्ट–पावर ब्लुप्रिन्टको नक्कल गर्न खोज्दैन । र, चीनको उदय उदारवादी विश्व व्यवस्थाले प्रेरित गरेकाले मात्र यसले आफ्ना सबै सिद्धान्त अपनाउन खोजेको होइन । चीनले वर्तमान अमेरिकी प्रशासनको कटौतीले छाडेको खाडललाई अन्धाधुन्ध भर्नेछ भनेर अनुमान गर्नु हतार हुनेछ ।

जोन्स हप्किन्स विश्वविद्यालयको स्कुल अफ एड्भान्स्ड इन्टरनेसनल स्टडिजमा चाइना–अफ्रिका रिसर्च इनिसिएटिभका अनुसन्धान सहयोगी हेनरी तुगेनधाट र फरेन पोलिसीका उपसम्पादक जेम्स पामरको संयुक्त आलेख ।

फरेन पोलिसिबाट
 

सुझावित समाचार