मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ३१ मंगलबार o९:५४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्यानले नै एनपिएलको ट्रेडमार्क प्रयोग गर्न पाउने

जोरा स्पोर्टस् म्यानेजमेन्टका प्रमुख अमिर अख्तरले एनपिएलको ट्रेडमार्कका लागि राखेको दाबीमा प्रमाण नपुगेको उद्योग विभागको ठहर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार o९:५४:oo

नेपाल प्रिमियर लिग (एनपिएल)मा ट्रेडमार्कसम्बन्धी मुद्दामा उद्योग विभागले सोमबार नेपाल क्रिकेट संघ (क्यान)को पक्षमा फैसला सुनाएको छ । जोरा स्पोर्टस् म्यानेजमेन्टका प्रमुख अमिर अख्तरले एनपिएलको ट्रेडमार्कको दाबी गर्दै विभागमा मुद्दा हालेका हुन् । तर, विभागले ट्रेडमाकसम्बन्धी जोरा स्पोर्टस् म्यानेजमेन्टको दाबी नपुग्ने भनी क्यानलाई लोगो र ट्रेडमार्क प्रयोग गर्न पाउने गरी फैसला गरेको हो । 

विभागको फैसलासँगै दोस्रो एनपिएलको आयोजना गर्न क्यानलाई बाटो खुला भएको छ । क्यानले दोस्रो संस्करणको प्रतियोगिताको तयारी सुरु गरिसकेको छ । सहभागी विभिन्न आठ फ्रेन्चाइजले खेलाडी रिटेन र रिलिज गरिसकेका छन् । आगामी अगस्टमा एनपिएलको अक्सन हुनेछ । 

अख्तरले ०७१ सालमा नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गरेका थिए । धनगढीको फाप्ला मैदानमा पञ्चकन्या तेजले जगदम्बा जायन्टलाई ९७ रनले हराउँदे उपाधि जितेको थियो । धनगढीमा भएको एनपिएलमा ६ टोलीले भाग लिएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट प्रतिबन्ध फुकुवा भएपछि क्यानले आधिकारिक रूपमा नेपाल प्रिमियर लिग सम्बन्धित क्रिकेट बोर्डले मात्र गर्न पाउने र अरूले गर्न नमिल्ने बताएको थियो । 

क्यानको यस निर्णयपछि अख्तरले त्यसको विरोध गरेका थिए । त्यसपछि उनले प्रतियोगिताको नाम फेरेर एभरेस्ट प्रिमियर लिग (इपिएल)बाट टी–२० फ्रेन्चाइज आयोजना गरे । अख्तरले एभरेस्ट प्रिमियर लिगका केही संस्करणसमेत आयोजना गरेका थिए । यद्यपि, क्यानले गत वर्ष मंसिरमा एनपिएल आयोजनाको घोषणा रेपछि अख्तरले उद्योग विभागमा नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेकाले यस नामबाट कसैले पनि प्रतियोगिता आयोजना गर्न नपाउने उजुरी राखेका थिए । 

उनले गत वर्षको २५ कात्तिकमा सर्वोच्च अदातलमा पनि एनपिएल रोक्न भनी रिट राखे । यसवेला उनले एनपिएल सञ्चालन गर्न क्यानले आफूसँग १० वर्षको सम्झौता गरेको दाबी गरेको थियो । तर, क्यानले मात्र फ्रेन्चाइज लिग आयोजना गर्न पाउने र अन्य कुनै पनि कम्पनीले त्यस किसिमको टी–२० फ्रेन्चाइज आयोजना गर्न नपाउने निर्णय गरेको छ । 

थप अनुसन्धान गर्न कार्यदलको सुझाव
पहिलो संस्करणको एनपिएलको अनियमितता सम्बन्ध गठन भएको छानबिन कार्यदलले थप अनुसन्धान गर्न सुझाव दिएको छ । छानबिन कार्यदलले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा क्यानले छानबिनमा असहयोग गरेको र यस विषयमा थप छानबिन गर्न सुझाव दिएको हो ।

राखेपको बोर्ड सदस्य रञ्जना प्रधान संयोजक रहेको छानबिन कार्यदलमा राखेपअन्तर्गत आर्थिक प्रशासन शाखाका प्रमुख ऋषिराम पोखरेल र कानुन शाखाका प्रमुख नारायण अर्याल थिए । क्यान अध्यक्ष चतुरबहादुर चन्दले छानबिनमा सहयोग गर्ने बताउँदै आए पनि छानबिन कार्यदलले आवश्यक सहयोग नपाएको गुनासो गरेको छ । 

यसअघि राष्ट्रिय खेलकुद परिषद्ले राखेपकै बोर्ड सदस्य अञ्जन धमलाको संयोजकत्वमा एनपिएल छानबिन कार्यदल गठन गरेको थियो । समितिले छानबिनपछि प्रतिवेदन तयार पारे पनि प्रतिवेदन बुझाउन नपाउँदै खेलकुदमन्त्री चौधरीले अर्को छानबिन कार्यदल गठन गरेका थिए । पहिलो छानबिन कार्यदलले राम्रोसँग काम नगरेको भन्दै अर्को छानबिन कार्यदल गठन गर्नुपरेको चौधरीले बताएका थिए ।

कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र 

गत वर्षको १५ मंसिरदेखि ६ पुससम्म भएको एनपिएलमा कर्णालीले दोस्रो क्वालिफायर यात्रा गरेको थियो

कर्णाली याक्स स्पोर्टस् प्रालिले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक रूपमा निरन्तरता दिएको छ । प्रशिक्षक तथा क्रिकेट निर्देशकमा मल्ललाई नियुक्त गरेको कर्णाली याक्स स्पोर्टस् प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिएका छन् । पहिलो संस्करणमा पाएको सफलतामा पूर्वअन्तर्राष्ट्रिय खेलाडी मल्लले महत्वपूर्ण भूमिका गरेको घिमिरेले बताए । सम्झौताको अवधि एक वर्षको रहनेछ । गत वर्षको १५ मंसिर देखि ६ पुससम्म भएको एनपिएलमा कर्णालीले दोस्रो क्वालिफायर यात्रा गरेको थियो । 

‘नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका मल्लको प्रशिक्षणमा हाम्रो टोलीले पहिलो संस्करणमा शीर्ष चारमा रहँदै प्लेअफसम्मको यात्रा तय गरेको थियो, आगामी संस्करणमा पनि हामीले उहाँको प्रशिक्षणमा टोलीले सफलता हात पार्ने विश्वास छ,’ घिमिरेले भने । 

मल्ल दोस्रो संस्करणमा अनुबन्ध हुने दोस्रो प्रशिक्षक तथा पहिलो नेपाली हुन् । यसअघि काठमाडौं गोर्खाजले नेपालकी राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाईलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । कर्णालीले प्रतियोगिताका लागि मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ । 

कर्णालीका नवनियुक्त प्रशिक्षक मल्लले दोस्रो संस्करण काम गर्न उत्साहित भएको बताएका छन् । ‘कर्णालीले एकपटक फेरि मलाई विश्वास गरेर जिम्मेवारी दिएको छ । पछिल्लोपटक हामीले निकै राम्रो गरेका थियौँ,’ उनले भने, ‘योपटक त्यस्तै प्रदर्शन गर्दै उपाधि जिताउने योजना बनाएको छु ।’