मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Thursday, 10 July, 2025
कृष्ण रिजाल काठमाडाैं
२o८२ असार २६ बिहीबार ११:५५:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

रसुवा बाढीले नेपाल–चीन व्यापार अन्योलमा

Read Time : > 3 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार ११:५५:oo
  • मालसामान बोकेर नेपाल आउँदै गरेका पाँच सयभन्दा बढी कन्टेनर चीनतर्फ अड्किए, तातोपानी नाकासमेत जोखिममा रहेकाले दुई देशबिचको व्यापार अनिश्चित

मंगलबार आएको बाढीले रसुवागढी–केरुङ नाका क्षतिग्रस्त भएपछि नेपाल–चीनबिचको व्यापारमा अन्योल देखिएको छ । उत्तरतर्फको प्रमुख व्यापारिक नाका रसुवागढीको मितेरी पुल बाढीले बगाएर सडक सम्बन्धविच्छेद भएसँगै दुई देशबिचको व्यापार पूर्णरूपमा रोकिएको मात्र छैन, अनिश्चितसमेत बनेको छ ।

बाढीले मितेरीपुल बगाएको, नेपालतर्फको करिब दुई किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त बनेको र निर्माणाधीन सुक्खा बन्दरगाहमा पनि असर परेपछि रसुवा–केरुङ नाका तत्कालन सञ्चालनमा आउने नदेखिएको रसुवा भन्सार कार्यालयका प्रवक्ता रवीन्द्रप्रसाद प्याकुरेलले बताए । ‘बिजुली, इन्टरनेट, फोनको कनेक्सन टुटेको छ, सडक सञ्जाल विच्छेद भएको छ’ उनले भने, ‘अहिले तत्कालन उद्धार र राहतका काम भइरहेका छन्, व्यापार के हुने ? कहिले सुरु हुने भन्ने कुरामा अन्योल छ ।’ चीन जोड्ने अर्को प्रमुख नाका तातोपानीसमेत पूर्णरूपमा चल्न सकेको छैन ।  सञ्चालनमा रहेका दुईमध्ये एक नाका पूर्ण क्षतिग्रस्त भएको र अर्कोसमेत जोखिममा रहेका कारण चीनतर्फको व्यापारमा अन्योल देखिएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताए ।

मालसामान बोकेर नेपालतर्फ आउँदै गरेका पाँच सयभन्दा बढी कन्टेनर केरुङ (चीनतर्फ) नै अड्किएको व्यवसायीले बताएका छन् । नजिकिँदै गरेको तिज, दसँै तिहारलगायत चाडपर्वलाई लक्षित गरेर ल्याएका लत्ताकपडा, जुत्ताचप्पल, कस्मेटिक्स, इलेक्ट्रोनिक्स, फलफूललगायत सामग्री बोकेर नेपाल आउँदै गरेका केन्टेनर पारि (चीन)मै अड्किएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताए । ‘अहिले सामान मगाउने सिजन हो, धेरै व्यवसायीले मगाएको सामान कतिपय बाटोमा छन्, कतिपय पारि केरुङ आइपुगेर अड्किएका छन्,’ उनले भने, ‘ती सामान के–कसरी नेपाल भिœयाउने ? नाका कहिले र कसरी सञ्चालन गर्ने भन्नेलगायत विषयमा अन्योल देखिएको छ ।’ सरकारले चीनसँग समन्वय गरेर अविलम्ब पुनर्निर्माणका काम गरेर नाका सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।

नेपाल र चीनबिच वार्षिक सबा तीन खर्ब रुपैयाँ हाराहारीको व्यापार हुँदै आएको छ । चालू आवको जेठ मसान्तसम्ममा नेपालमा चीनबाट तीन खर्ब १४ अर्ब ५७ करोड ५६ लाख रुपैयाँबराबरको आयात भएको छ । यस अवधिमा निर्यात भने दुई अर्ब ४८ करोड १७ लाख रुपैयाँबराबरको भएको भन्सार विभागको तथ्यांक छ । 

रसुवागढीबाट कति हुन्छ व्यापार ? 
नेपाल र चीनबिच सबैभन्दा बढी आयात निर्यात हुने प्रमुख व्यापारिक नाका रसुवागढी–केरुङ हो । चालू आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा रसुवा नाका हुँदै ९१ अर्ब २५ करोड ४८ लाखबराबरको आयात भएको छ जुन कुल आयातको २.८५ प्रतिशत हो । यस अवधिमा रसुवा हुँदै एक अर्ब ९६ करोड १४ लाखबराबरको निर्यात भएको छ जुन कुल निर्यातको ०.७९ प्रतिशत बराबर हो ।

गत आर्थिक वर्ष ०७९/८० को ११ महिना अर्थात् जेठ मसान्तसम्ममा रसुवा नाकाबाट २७ अर्ब २५ करोड १८ लाखबराबरको आयात भएको छ । जुन नेपालको कुल आयातको १.८४ प्रतिशत बराबर हो । त्यस्तै, यस अवधिमा रसुवा हुँदै एक अर्ब एक करोड १९ लाखबराबरको निर्यात भएको छ जुन कुल निर्यातको ०.७० प्रतिशत हो ।

तातोपानीबाट आयात मात्रै
सञ्चालनमा रहेको अर्को नाका तातोपानीबाट अहिले आयात भइरहे पनि निर्यात ठप्प छ । चालू आवको ११ महिनामा तातोपानी नाकाबाट ४६ अर्ब ८९ करोड ३५ लाखबराबरको आयात भयो । जुन कुल आयातको २.८५ प्रतिशत हो । यस अवधिमा तातोपानीबाट निर्यात भने भएको छैन । गत आर्थिक वर्ष ०७९/८० जेठ ११ महिना अर्थात् जेठ मसान्तसम्ममा तातोपानी नाकाबाट ११ अर्ब ७९ करोड ८६ लाखबराबरको आयात भएको थियो जुन कुल आयातको ०.८० प्रतिशतबराबर हो । सोही अवधिमा तातोपानी नाका हुँदै ५९ लाखबराबरको निर्यात भएको देखिन्छ । 

नेपाल–चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध : चेम्बर
नेपाल–चीन सिमानामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर गत मंगलबार आएको भीषण वर्षाले मानवीय र भौतिक रूपमा ठुलो क्षति व्यहोर्नुपरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चेम्बरले बुधबार विज्ञप्ति जारी गर्दै मालसामान लिएर नेपाल आउँदै गरेका सयौँ कन्टेनर सवारीसाधन बाढीले बगाउ“दा व्यापार तथा व्यवसायमा गम्भीर क्षति भएको उल्लेख गरेको छ । ‘गत मंगलबार आएको बाढीले मानवीय क्षतिसँगै भौतिक रूपमा पनि ठूलो क्षति गरेको छ । सो क्षेत्रमा हराइरहेकाहरूको खोजीका साथै भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिएर महत्वपूर्ण व्यापारिक मार्ग तत्काल सुचारु गर्न सरकारसँग आग्रह गर्दछौँ, ।’ रसुवागढीको टिमुरे क्षेत्रमा तत्कालीन राहत व्यवस्थास“गै दीर्घकालीन संरचना निर्माण, वैकल्पिक पुल निर्माण तथा प्राविधिक पूर्वतयारी गर्नसमेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।

२५० मेगावाटका सात विद्युत् परियोजनाको उत्पादन बन्द
भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् परियोजना तथा पूर्वाधार क्षतिग्रस्त भएपछि २५०.५० मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ । बाढीका कारण २३१ मेगावाटका पाँचवटा जलविद्युत् परियोजना बन्द भएको तथा सबस्टेसनमा क्षतिग्रस्त हँुदा सामान्य अवस्थामै रहेका साढे १९ मेगावाटका दुई आयोजनाको उत्पादन बन्द गर्नुपरेको नेपाल विद्युत् प्राधिकणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीले १११ मेगावाटको रुसुवागढी जलविद्युत् परियोजनाको हेडवक्र्स पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । १० वर्ष लगाएर विद्युत् प्राधिकरणले निर्माण गरेको यो परियोजना गत मंसिरदेखि मात्रै सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको ६ महिनामै यो परियोजना बाढीबाट प्रभावित भएको छ ।  यसैगरी, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी छिरेको छ । ६० मेगावाटको त्रिशूली ३ ए जलविद्युत् आयोजनाको ड्यामसाइटको दुईवटा गेट क्षतिग्रस्त भएको छ । बाढीबाट प्रभावित यी तीनैवटा आयोजनाबाट विद्युत् उत्पादन बन्द गरिएको छ । 

यस्तै, ड्यामसाइटमा ढुंगामुढा आएर थ्रुपिएपछि २४ मेगावाटको त्रिशुली जलविद्युत् परियोजना र १४ मेगावाटको देवीघाट जलविद्युत् परियोजना पनि बन्द गरिएको छ । खोलाले धार परिवर्तन गरेर त्रिशूली ३ बी हब सबस्टेसनभित्र छिरेर १३२ कभी को ‘बेय’ लगायतका संरचनामा क्षति पुर्‍याएको छ । यसबाट विद्युत् प्रवाह गरिने १४.५ मेगावाटको मैलुङ र पाँच मेगावाटको बुद्धभूमि जलविद्युत् परियोजना पनि बन्द गरिएको छ । उक्त दुई परियोजनालाई बाढीले कुनै क्षति पुर्याएको छैन । तर, त्यसको विद्युत् प्रवाह हुने सवस्टेसन प्रभावित भएपछि सामान्य अवस्थामा रहेको उक्त दुई परियोजनाको विद्यु्त् उत्पादन बन्द गरिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए । आर्थिक रुपमा क्षतिको विवरण आउन भने बाँकी छ ।