मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सांसद गौतमको अभिव्यक्तिमा कांग्रेस–एमालेको प्रतिवाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:३२:oo

रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमणमा सहभागी केही नेपाली नफर्किएको भन्दै उच्चस्तरीय छानबिनको माग गरेकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले भिजिट भिसाको दुरुपयोग र मानव तस्करीको आवाज उठाइरहेकै वेला यो घटना हुनु दु:खद भएको बताइन् । संसद्मा उच्चस्तरीय छानबिन आयोग वा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरिरहेको र सरकारले टालटुले प्रशासनिक समिति बनाएर झेली गरेको उनको भनाइ थियो ।

गौतमले स्पेनको संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी नेपाली नफर्किएको विषय उठाउँदा रेकर्डबाट हटाउन माग गरिएको, प्रधानमन्त्रीको सचिवालयबाट चुनौती आएको र केही सांसदले ‘बतासे’, ‘केटाकेटी’ भनेकोमा आपत्ति जनाइन् । सांसद गौतमले आफूले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् नभनेको स्पष्ट पारिन् । 

आफूले मंगलबारको बैठकमा प्रधानमन्त्री गएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहानामा गएर नफर्किएको भन्नेलगायत समाचार आइरहेका छन् भनेको दोहोर्‍याउँदै गौतमले भनिन्, ‘प्रधानमन्त्री गएको कार्यक्रममा केही गएर फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर छ । किन मेरो भनाइ रेकर्डबाट हटाउने ? सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउनुपर्ने त होइन होला नि ? मैले भनेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भन्ने त्यो मेरो समस्या होइन । जसको समस्या हो, उसैको उपचार गरियोस् ।’

सांसद गौतमको अभिव्यक्तिको एमाले र कांग्रेसले प्रतिवाद गरेका छन् । एमाले सचेतक सुनिता बरालले तथ्यका आधारमा हेक्का पुर्‍याएर बोल्न चेतावनी दिइन् । संसद् अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने र बाहिरिने, कुनै कुरा धैर्यपूर्वक सुन्न पनि नसक्ने ठाउँ नभएको उनको भनाइ थियो । कांग्रेसकी शान्ति विकले प्रधानमन्त्रीलाई तथ्यहीन आरोप लगाउन नपाइने बताइन् । एमाले मुख्य सचेतक महेश बर्ताैलाले भाइरल बन्न गलत र हावादारी कुराहरू व्यक्त र दूषित समाचार सम्प्रेषणको थलो बनाइएको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा बोल्दै स्पेन गएको को मान्छे फर्किएन भनेर प्रश्न गरे । ‘प्रधानमन्त्री क्याबिनेटबाट निर्णय गरेर भ्रमणमा गएको र को–को मानिस प्रधानमन्त्रीसँग गए भन्ने लिस्ट छ । म माननीय सदस्यहरूलाई आग्रह गर्न चाहन्छु, को–को जानुभएको थियो, को फर्केर आएन भन्दिनुभयो भने सरकारलाई सजिलो हुन्थ्यो,’ उनले भने, ‘होइन भने यस्तो कल्पनामा, अनुमानमा, असत्यता पुलिन्दा बाँधेर कहीँ पनि पुगिँदैन । प्रधानमन्त्रीसँग गएको प्रतिनिधिमण्डल फर्किसकेको छ । को मान्छे फर्किएन भन्दिनुहोला ।’