
एन्फा यू–१६ युथ लिगमा श्री भगवतीले सातदोबाटो युथ क्लबलाई ६–० को फराकिलो अन्तरले हराएको छ । भगवतीको जितमा क्षितिज शाहीले ह्याट्रिक गरेका थिए । उनले खेलको नवौँ, ३१औँ र ५५औँ मिनेटमा गोल गरे । यसैगरी राहुल शाहीले दुई गोल गरे । प्रतियोगिताअन्तर्गत बुधबार नेपाल पुलिस र नेपाल एपिएफले जित निकालेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई २–० ले हरायो । पुलिसको जितमा समिर कुमारले ५८औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । खेलको ८८औँ मिनेटमा अप्सन राईले पुलिसलाई २–० को जित दिलाए ।
एपिएफले चर्च ब्वाइज युनाइटेडमाथि १–० को जित निकाल्यो । एपिएफको जितमा एक मात्र गोल पूजन ढकालले गरेका थिए । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका हुन् । लिगमा ‘ए’ डिभिजनका १४ टोली सहभागी छन् । डबल राउन्ड–रोबिन फम्र्याटमा खेल भइरहेको छ । विजेता टोलीले दुई लाख र दोस्रो टोलीले एक लाख रुपैयाँ पाउनेछ ।