
नेपालको हिमालय क्षेत्रले मंगलबार एकैदिन हिमनदी उत्पत्तिका दुईवटा आकस्मिक बाढी (फ्ल्यास फ्ल्ड) भोगेको छ । तिब्बतमा हिमतालमाथि बनेको ताल (सुपरग्लेसियल) फुट्दा भोटेकोशीको सहायक नदी ल्हेन्देमा बाढी आएर रसुवागढीमा विध्वंश मच्याएको थियो भने मंगलबार नै माथिल्लो मुस्ताङको छुआमा खोलामा आकस्मिक बाढी आएको थियो । गत १ जेठमा मात्र हुम्लाको लिमी उपत्यकामा आकस्मिक बाढी आएको थियोे । दुई महिनामा पूर्वमा म्यानमारदेखि पश्चिममा अफगानिस्तानसम्म फैलिएको हिन्दकुस हिमालय क्षेत्रमा भने पाँचवटा घटना भएका छन् । नेपालबाहेक अफगानिस्तान (अन्डोरब उपत्यका) र पाकिस्तान (चित्राल, हुन्जा) मा हिमनदी उत्पत्तिका बाढी आएका हुन् ।
सन् २००० को दशकमा विज्ञहरूले हिन्दकुश हिमालय क्षेत्रमा प्रत्येक पाँचदेखि १० वर्षमा एकपटक हिमनदी उत्पत्तिको बाढी आउने अनुमान गरेका थिए । तर, तापमान वृद्धिले हिमताल बढ्दा बाढीका घटना बढेको विशेषज्ञहरूले अनुमान गरेका छन् ।
रसुवागढीमा विध्वंश मच्चाएको बाढी पनि सुपरग्लेसियल फुट्दा भएको विशेषज्ञहरूले प्रारम्भिक अनुसन्धानबाट निक्र्याैल गरेका छन् । उपग्रह तस्बिर र विश्लेषणका आधारमा रसुवाको माथिल्लो भेग तिब्बतमा फुटेको ताल डिसेम्बर ०२४ मा सानो पोखरी थियो । जुन ०२५ मा आकार बढेको थियो । त्यही ताल मंगलबार बिहान फुटेको देखिएको विपत् व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले बताए । ‘१३ फ्रेबुअरीमा यो तालमा खासै पानी जम्मा भएको देखिँदैन, आकार पनि सानो छ । तर, २८ जुनमा ५ लाख २५ हजार मिटर स्क्वायर क्षेत्र ओगटेको देखिन्छ । ७ जुलाईमा आइपुग्दा ६ लाख ३८ हजार स्क्वायर मिटर देखिन्छ । फुटेपछि ८ जुलाईमा एक्कासि घटेर ४ लाख ३५ हजार मिटरमा खुम्चिएको छ,’ उनले भने, ‘यसको अर्थ हिमनदीमाथि बनेको ताल (हिउँ पुग्लिएर खाली रहेको क्षेत्रमा) बनेको ताल फुटेर पानी बाहिर निस्कँदा भोटेकोशी (जुन नेपालतिर आइसकेपछि त्रिशूली भनिन्छ) को सहायक नदी ल्हेन्दे खोलामा बाढी आएको थियो ।’
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले प्रेस नोट जारी गर्दै हिमनदीमा बनेका ससाना ताल (केही यति साना वा लुकेका छन्, जो हामीलाई थाहा पनि थिएन) ती ताल अहिले फुटिरहेको बताइएको छ । ‘सुपरग्लेसियल ताल हिमनदीको सतहमा विशेष गरी भग्नावशेषले ढाकिएका क्षेत्रमा बन्छन् । यी ताल अत्यधिक गतिशील र क्षणिक हुन्छन्, प्राय: पग्लने पोखरीको रूपमा सुरु हुन्छन्, जुन बिस्तारै विस्तार हुन्छन् र कहिलेकाहीँ ठुला सुपरग्लेसियल ताल बनाउन मर्ज हुन्छन्,’ इसिमोडले भनेको छ ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले रसुवागढीबाट २६ किलोमिटरमाथि रहेको तालमा परिवर्तन देखिएको, तर विस्तृत अध्ययन बाँकी रहेको बताए । ‘त्यो ताल फुटेको पनि हुन सक्छ, त्यसमा केन्द्रित भएर अध्ययन भइरहेको छ,’ उनले भने ।
जलवायु विशेषज्ञ सुदीप ठकुरीले ठुला हिमताललाई मात्र प्राथमिकतामा राखिएको, तर ससाना ताल र हिमनदीमाथिका तालले पनि जोखिम बढाइरहेको बताउँछन् । ‘हिमनदी आइसभित्र पनि ताल हुन्छन् । ती ताल फुट्न सक्ने सम्भावना हुन्छ,’ उनले भने, ‘ससाना ताल, पोखरीको अवस्था पनि थाहा पाउनुपर्ने वेला भएको छ ।’ र, ससाना हिमताल फुट्दा नै ठुलो क्षति भइरहेकाले यसबारे पनि अध्ययन हुनुपर्ने देखिन्छ । ठकुरीका अनुसार हिमनदी पग्लिएर नयाँ हिमताल बनिरहेका छन् ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र इसिमोडले चार वर्षअघि सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा हिन्दकुश हिमालय क्षेत्र भनिने यस क्षेत्र(नेपाल, भारत र तिब्बत) मा रहेका पहिचान भएका तीन हजार ६२४ हिमतालमध्ये ४७ विस्फोटनको उच्च जोखिममा छन् । यीमध्ये सबैभन्दा बढी तिब्बतमा २५, नेपालमा २१ र एउटा भारतमा छ । तर, हालैका घटनाले सुपरग्लेसियल पनि जोखिममा रहेको देखाएको छ । नेपालको वार्षिक तापक्रम अधिकतम वृद्धिदर औसत ०.०५६ डिग्री सेल्सियस छ, जसले हिमालमा हिउँको भण्डार झन्डै २९ प्रतिशतले घटेको छ भने हिमतालको संख्या ११ प्रतिशतले बढेको छ ।