
भोटेकोशीको सहायक नदी ल्हेन्देमा आएको बाढीका कारण रसुवाको टिमुरे र रसुवागढी क्षेत्रमा मंगलबारदेखि सडक, टेलिफोन र बिजुली अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । मितेरी पुल बगाउँदा चीनसँगको केरुङ नाका ठप्प भएकामा स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक ठाउँठाउँमा भत्किँदा सम्पर्क टुटेको र उद्धार एवं राहतमा कठिनाइ भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । ‘अझै १९ जना बेपत्ता छन् । हामीलाई हेभी उपकरणको आवश्यक छ । तर, सडक अवरुद्ध भएकाले सम्भव हुन सकेको छैन,’ सिडिओ पौडेलले भने, ‘बाढीले क्षति पुर्याएको क्षेत्रमा बिजुली पनि छैन, सम्पर्कका लागि टेलिफोनले काम गर्दैन ।’ सडकसँगै जलविद्युत् आयोजना, विद्युत्का पोल र टेलिफोनको फाइबरमा क्षति पुगेको छ ।
स्याफ्रुबेँसी–रसुवागढी सडकको १७ किलोमिटर खण्डको १५ ठाउँमा ११ सय मिटर सडक क्षतविक्षत भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका सूचना अधिकारी अमरेन्द्रकुमारकुमार यादवले बताए । ‘हेभी उपकरण ल्याएर बुधबारबाट काम सुरु भएको छ,’ उनले भने, ‘भोटेकोशी नदीले कटान गर्नुका साथै माथिबाट पहिरो खसेको हो । बाढीप्रभावित क्षेत्र गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले टिमुरे र रसुवागढीका दुई–तीन हजार नागरिक प्रभावित बनेको अध्यक्ष तामाङले बताए । ‘पैदल हिँड्न मिल्ने गरी ट्र्याक त खोलिएको छ । तर, उद्धार र राहत सामग्रीका लागि गाडी हिँड्न सक्ने अवस्था छैन । गाउँमा बाढीको समस्या नभए पनि सडक, बत्ती, टेलिफोन नहुँदा समस्या छ । भोलि खाद्यान्न अभाव पनि हुन सक्ने जोखिम रहेकाले सडक पहिलो प्राथमिकतामा राखेर खुलाउन सरकारलाई अनुरोध गरेका छौँ ।’
यही अवस्थालाई मध्यनजर गर्दै जिल्ला विपत् व्यवस्थापन समितिको बुधबारको बैठकले स्याफ्रुबेँसी–रसुवागढी सडक तत्काल पुनर्निर्माण गरी आवागमनलाई सञ्चालन बनाउन, सञ्चार र विद्युत् सेवालाई तत्काल नियमित गरी विपत्प्रभावित क्षेत्रको जनजीवन सहज तुल्याउन सरकारसँग अनुरोध गरेको छ । समितिको बैठकले सडक तत्काल पुनर्निर्माण गरी आवागमनलाई सञ्चालन गर्न प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार, गृह, परराष्ट्र र अर्थ मन्त्रालयसँगै बागमती प्रदेश सरकारसँग अनुरोध गरेको छ । ‘यस कामका लागि आवश्यक पर्ने क्षतिको प्राविधिक मूल्यांकन, यन्त्र–उपकरणको आवश्यकतालगायतका विषयमा आवश्यक समन्वय र सहजीकरणको काम गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना, नुवाकोटले गर्ने,’ निर्णयमा भनिएको छ । सञ्चार र विद्युत् सेवा तत्काल नियमित गर्न विद्युत् प्राधिकरण, नेपाल टेलिकम, ऊर्जा मन्त्रालय र सञ्चार मन्त्रालयलाई अनुरोध गरिएको छ ।
जनजीवन सहज बनाउन अत्यावश्यक खाद्यान्न, औषधि, उपकरण र अन्य तत्कालको राहत सामग्री अभाव नहुने गरी आवश्यक प्रबन्ध गर्ने निर्णय पनि भएको सिडिओ पौडेलले बताए । राहत वितरण एकद्वार प्रणालीमार्फत सञ्चालन गरिने भएको छ ।
रोजगारी, व्यवसाय र पर्यटनको सिलसिलामा चीनको केरुङमा रहेका नेपाली नागरिकलाई सुरक्षित साथ राख्न र नेपाल फर्कन चाहनेलाई फर्कने व्यवस्था गृहमार्फत परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको छ ।
भौतिक क्षतिको विवरण संकलन गर्न समिति
बाढीप्रभावित क्षेत्रको भौतिक क्षतिको प्रारम्भिक विवरण संकलन गर्न गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका योजना प्रमुख खड्गलाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समिति पनि गठन गरिएको छ । समितिले यथाशीघ्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।