१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format o९:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दुई छोराका नाममा गणेशबहादुरले विद्यालयलाई दान गरे पाँच रोपनी जग्गा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१३:oo

जन्तेढुंगा गाउँपालिका– ५ चिसापानीका गणेशबहादुर कार्कीले दशवर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका आफ्ना दुई छोराको नाममा बालोद्वय आधारभूत विद्यालयलाई नि:शुल्क जग्गा उपलब्ध गराएका छन् । सहिद कैलाश कार्की र थिरबहादुर कार्कीको नाममा गणेशबहादुरले विद्यालयलाई पाँच रोपनी जग्गा दान गरेका हुन् । तत्कालीन शाही सेनाले १७ भदौ ०६० मा कैलाश र थिरबहादुरको गोली हानेर हत्या गरेको थियो ।

गणेशबहादुरले आफ्नो नाममा रहेको जग्गाले मात्र विद्यालयका लागि आवश्यक ठाउँ नपुग्ने भएपछि छिमेकी सीता नेपालीको जग्गासमेत खरिद गरेर विद्यालयको नाममा दिएको विद्यालय प्रशासनले जनाएको छ । गणेशबहादुर विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत हुन् । हत्या हुनुअघि कैलाश बालोद्वय आधारभूत विद्यालयका शिक्षक थिए । उनका भाइ श्यामसुन्दर कार्की अहिले पनि बालोद्वय आधारभूत विद्यालयमा शिक्षण पेसामा आबद्ध छन् । 

कार्की परिवारले विद्यालयलाई आफ्नो गाँस काटेर जग्गा उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक मणिराम कोइरालाले बताए । ‘सहिद कार्की दाजुभाइको सम्झनामा परिवारले उपलब्ध गराएको जग्गामा चारकोठे पक्की भवन बनाइएको छ । यो जग्गा नभएको भए भवन बनाउने ठाउँ नै थिएन,’ उनले भने, ‘भवन निर्माणका लागि आवश्यक जग्गा पहिले नै उपलब्ध गराउनुभएको थियो । भवन बनिसकेपछि विद्यालयको नाममा पास गरिदिनुभएको छ ।’

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र गाउँपालिकाको लागत सहभागितामा पक्की भवन निर्माण भएको विद्यालयले जनाएको छ । भवन निर्माणसँगै हाललाई त्यस विद्यालयमा कक्षाकोठाको अभाव त देखिँदैन, तर व्यवस्थित र सुविधासम्पन्न भने भइसकेका छैनन् । विद्यालयमा पुग्दो विद्यार्थी संख्या भए पनि अन्य विद्यालयको तुलनमा शिक्षक संख्या कम रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । ढुंगामाटोले बनेको विद्यालय भवनको कक्षाकोठा अहिले पनि धुलोमुक्त छैनन् । 

विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधारका निम्ति गाउँपालिका गम्भीर रहेको उपप्रमुख खेमबहादुर खड्काले बताए । विद्यालयमा भएका छलफल र मागअनुसार विद्यालय परिसर खुला रहेको र कक्षाकोठा वर्सातको समयमा हिलाम्ये र हिउँदको समयमा धुलाम्ये रहेकाले यस वर्ष दुईवटै कार्यक्रम राखिएको उनले बताए । ०३० मा स्थापना भएको बालोद्वय आधारभूत विद्यालयको पक्की भवन त्यही एउटा मात्र रहेको छ । कक्षा आठसम्म पढाइ हुने विद्यालयमा अहिले १९७ जना विद्यार्थी अध्ययनरत छन् ।

आर्थिक वर्ष ०८२/८३ का लागि शिक्षा क्षेत्रमा विनियोजन गरिएको बजेटबाट बालोद्वय आधारभूत विद्यालयको मर्मत गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रका विद्यालयको पूर्वाधार विकासका लागि एकमुस्ट बजेटको व्यवस्थापन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राईले जानकारी दिइन् ।