१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
२o८२ असार २३ सोमबार २o:५१:oo
Read Time : > 2 मिनेट
फिचर

तानसेन नगरपालिका न अदालतको आदेश टेर्छ न पीडितको कुरा सुन्छ 

दुई दशकदेखि बस्ती नजिकै फोहोर 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार २o:५१:oo

दुई दशकभन्दा बढी भयो तानसेन–५ देउरालीका बासिन्दाले दुर्गन्धका कारण खानासमेत राम्ररी खान सकेका छैनन् । दुर्गन्धका कारण बस्तीका बालबालिका बिरामी परिरहन्छन् । नगरपालिकाले बस्ती नजिकै फालेको फोहोरको दुर्गन्धले देउरालीबासीको स्वच्छ र दुर्गन्धरहित श्वास लिन नपाएको २० वर्ष भइसक्यो । 

स्थानीय शान्ता नेपाली भन्छिन्, ‘नगरपालिकाले घरैमुनि रहेको जंगलमा फोहोर थुपारिदिन्छ, दिनरात नाक थुनेर बस्नुपर्ने अवस्था छ ।’ तम्घासबाट बुटवल जाँदै गरेको बस जब तानसेनको बतासेबाट ओरालो लाग्छ अनि यात्रुहरूलाई नाक छोप्न कर लाग्छ । सडक छेउमै सल्लाघारीमा दुई दशकदेखि थुप्रिँदै आएको फोहोरको दुर्गन्धले कतिपय यात्रुले त बान्तासमेत गर्छन् । 

स्वास्थ्य, शिक्षा र पर्यटन प्रवर्द्धनबारे नारा चर्को स्वरमा नारा लगाउने स्थानीय सरकार, राजनीतिक दल र जनप्रतिनिधिसमेत प्राचीन तथा ऐतिहासिक सहर तानसेन दुर्गन्धित बनिरहेकोमा मुकदर्शक बनिरहेका छन् । बाली नोक्सान गरेको बाँदरका विषयमा पटकपटक संसदमा बहस भए पनि वर्षौदेखि बस्ती नै बिरामी पार्ने अव्यवस्थित फोहोर व्यवस्थापनबारे सांसदहरू मौन रहेको सर्वसाधारणको गुनासो छ । उनीहरू भन्छन्, ‘सांसद ठाकुर गैरेले बाँदरले जनतालाई दुःख दिएको देखे, तर गैरकानुनी रूपमा फोहोर बिसर्जन गरी हजारौँ जनता प्रभावित भएको देख्दै देखेनन् । निर्वाचनमा त्यही बस्तीमा भोट माग्न नाक थुनेर सबै दलका नेता पुगे । तर नाक थुनेर गाँस खाइरहेका तानसेन–५ देउराली आसपासका मानिसहरूका पीडा देखेनन्।’ 

नगरपालिकाको फोहोर व्यवस्थापन गर्न भन्दै ल्यान्डफिल साइट निर्माणसमेत भएको छ । चार करोड खर्चेर तानसेन–५ सेतीपोखरीमा बनाएको ल्यान्डफिल साइट नगरपालिकाले सञ्चालन भने गरेको छैन । नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीयको अवरोधले ल्यान्डफिल्ड साइट सञ्चालन गर्न नसकिएको बताउँछन् । तर, साइट सञ्चालन नहुँदा वनदेवी क्षेत्रका नागरिकले खेपिरहेको सास्ती भने नगर प्रमुख श्रेष्ठले बुझेका छैनन् । नगरप्रमुख श्रेष्ठ दुर्गन्धबाट आजित नागरिकको पीडा हेरर बसिरहेका छन् । 

अदालतको आदेश नमान्ने तानसेन, नागरिकका कुरा टेर्छ त ?
जंगलमा फोहोर फ्याँक्न थालिएपछि स्थानीयले निरन्तर विरोध गरिरहेका छन् । तानसेन–५ स्थित देउराली सामुदायिक वनका उपभोक्ताले ०५९ सालदेखि नै फोहोर फ्याँक्न नदिनका लागि संघर्षरत छन् । यसविरुद्ध उनीहरू उच्त अदालत बुटवलसम्म पुगेका छन् । अदालतले २० वर्ष अघिनै सामुदायिक वन अतिक्रमण गरी फोहोर फाल्ने कार्य रोक्न तानसेन नगरपालिकाका नाममा आदेश दिएको छ ।  

देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजेन्द्र अधिकारीले नगरपालिकाको अटेरीपनले धेरै मानिसले दुःख पाएको बताए । ‘हामी कैँयौँपटक लिखित तथा मौखिक अनुरोध गरेका छौँ,’ अधिकारीले भने, ‘अदालतको आदेश नमान्ने नगरपालिकाले हाम्रा कुरा टेर्छ र ?’ अधिकारीले वनमा फ्याँकिएको फोहोर बगेर होलाङ्दी, बर्तुङ, प्रभास र बाँसटारीसम्म पुग्ने गरेकाले त्यस क्षेत्रका नागरिकले समेत वर्षातको वेलामा दुःख पाइरहेको बताए ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले अदालको आदेश कार्यान्वयन गर्न पटकपटक भनेको तर नगरपालिकाले अटेर गरेको बताए । उनले फोहोरबाट निस्केको ब्याक्टेरियाले कृषि उत्पादनमा समेत असर पारेको बताए । 

अदालतले जे भने पनि आफूँसँग विकल्प नभएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठको भनाइ छ । ‘यता फ्ँयाक्दा यताकालाई समस्या उता फयाँक्दा उताकालाई समस्या, अदालतले नै भने पनि मैले गर्न सकिन’, श्रेष्ठले भने । 

बसपार्क र बजारको बिचमा फोहोर
फोहोर थुपारिएको स्थल जंगल हो । जुन ठाउँ तानसेन बजारबाट करिब पाँच सय मिटरको दूरीमा छ । निर्माणाधीन बसपार्क मुस्किलले दुई सय मिटरको दुरीमा छ । बसपार्क र बजारको बिचमा फोहोर थुपारिएको छ । नगरपालिकाले फोहोर बिर्सजनको स्थायी टुङ्गो नलगाई बसपार्क निर्माण गरिरहेको छ । यसबाट उसको अदूरदर्शिता स्पष्ट हुन्छ ।

किन सञ्चालन हुन सकिरहेकौ छैन ल्याण्डफिल साईट ?
०६९ सालमा करिब चार करोड लागतमा निर्माण भएको ल्यान्डफिल साइट ६ महिना मात्रै सञ्चालन भएर बन्द भयो । सेनेटरी ल्यान्डफिल साइटको अवधारण विपरित फोहोर फयाँक्न थालिएपछि तानसेन–५ सेतीपोखरीका स्थानीयले सञ्चालनमा रोक लगाए । त्यसपछि नगरपालिकाले सजिलो विकल्प तानसेन–५ वनदेवीको पहिलेकै ठाउँ देख्यो र अहिलेसम्म त्यही ठाउँमा फोहोर थुपारिएको छ ।

ल्यान्डफिल साइट सञ्चालन हुन नसक्नुको प्रमुख कारण नगरपालिकाको कमजोर नेतृत्व हो । सतही छलफल, प्रभावितहरूसँग योजनाविहीन प्रस्ताव र कम प्राथमिकताका कारण झन्डै १३ वर्षदेखिको करोडौँ लगानी खेर गएको छ । तानसेन नगरपालिकाका प्रमुख सान्तोषलाल श्रेष्ठले नागरिकले नमानेपछि ल्यान्डफिल्ड साइट सञ्चालन गर्न नसकेको बताउँछन् । उनले भने, ‘उनीहरूलाई मनाउन प्रयास गरिरहेका छौँ । तर जबरजस्ती गर्नै सकिएको छैन् ।’ नगरपालिकाले अर्को स्थान खोजिरहेको भन्दै नगरप्रमुख श्रेष्ठले फोहर व्यवस्थापनका विषयमा आफू चिन्तित रहेको बताए ।

निर्माणपछि ६ महिना ल्यान्डफिल साइट सञ्चालन हुँदा स्थानीय बिरामी पर्ने, झाडापखाला लाग्ने र गाउँमा झिँगा भन्किनेजस्ता समस्या देखिएको थियो । स्थानीयले तत्कालीन समयमा संघर्ष समितिनै बनाएर विरोध गरेपछि फोहोर फ्याँक्न बन्द गरिएको थियो । अहिले पनि स्थानीयले त्यही समस्या आउने भएकाले फोहोर फ्याँक्न नदिने अडान राखेका छन् । तानसेन बजारका मानिस र हामी एउटै हैन ? शीतलपाटीमा फ्याँके पनि त भयो नी स्थानीय विष्णु कार्कीले भने, ‘सेतीपोखरीमा फोहोर फ्याँक्ने सपना कसैले नदेखे हुन्छ।’