१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:५o:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : अशिष्टताबाट शिक्षा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५o:oo

एकजना वैद्य आफ्ना ज्ञानका कारण प्रसिद्ध थिए । उनीकहाँ पुर्‍याइसकेपछि बिरामीको जीवनरक्षा हुनेमा धेरैको विश्वास थियो । उनी बिरामीलाई दिने औषधिका साथै उनको अमूल्य सल्लाहका लागि पनि समाजमा निकै प्रसिद्ध थिए । उनी जति कुशल चिकित्सक थिए, उति नै राम्रो मन भएका मानिस पनि थिए । 

एकपटकको कुरा हो, ती वैद्यका एकजना चिरपरिचित मित्रले उनलाई सोधे, ‘वैद्यजी, तपाईं जति शिष्ट, सभ्य र मीठो बोल्ने मानिस यो संसारमा सायदै कोही होला । त्यसैले म यो थाहा पाउन चाहन्छु कि तपाईंले यस्तो अमूल्य शिष्टता र सभ्यता कहाँबाट कसरी सिक्नुभयो ?’ ती मित्रको जिज्ञासा सुन्नासाथ ती वैद्यले जवाफ दिए, ‘अशिष्ट र असभ्य मानिसबाट ।’ 

वैद्यको यस्तो अनपेक्षित जवाफ सुनेपछि ती मित्र केही झस्किए । वैद्यको जवाफको गहिराइ उनले थाहा पाउन सकेनन् । सो जवाफ अलिक गम्भीर हुनाले ती मित्रले यसको पटक्कै भेउ पाउन सकेनन् । त्यसैले उनले अप्ठ्यारो मान्दै फेरि प्रश्न गरे, ‘यो कसरी हुन सक्छ ? एउटा अशिष्ट एवं असभ्य मानिसले कसरी अरूलाई केही सिकाउन सक्छ ? त्यस्तो मानिसबाट कुनै मानिसले कसरी सभ्यता र शिष्टताको पाठ सिक्न सक्छ ?’ ‘साँच्चै सोध्छौ भने यो तिमीले बुझ्न सक्दैनौ । मैले त असभ्य र अशिष्ट मानिसबाटै यो शिक्षा लिएको हुँ । उनीहरूको जुनजुन कुरा मलाई नराम्रो लाग्यो, त्यो मैले तुरुन्तै फ्याँकिदिएँ, त्यसलाई एकछिन पनि नजिक आउनै दिइनँ । किनकि, मैले सोचेँ, जुन कुरा मलाई नराम्रो लाग्यो, त्यो अरूलाई पनि त नराम्रो लाग्न सक्छ । राम्रो यही हुनेछ कि जस्तो व्यवहार तिमी अरूले आफूलाई गरून् भन्ने चाहन्छौ, त्यस्तै व्यवहार तिमीले अरूसँग गर । किनकि, तिम्रो व्यवहार तिम्रो जीवनको दर्पण हो । तिमी जस्तो व्यवहार गर्छौ, अरूबाट पनि त्यस्तै व्यवहार पाउँछौँ ।’

यसरी अशिष्ट र असभ्य मानिसबाट सभ्यता र शिष्टताको पाठ सिक्ने यी वैद्य प्रख्यात लुकमान थिए । जोसँग सम्बन्धित एउटा भनाइ निकै लोकप्रिय छ, ‘शंकाको उपचार त वैद्य लुकमानसँग पनि थिएन ।’